बदल्नुपर्ने व्यवहार
यस वर्षको बडा दशैं सुरु भइसकेको छ । घटस्थापनासँगै दशैंको आरम्भ हुन्छ । यो हिन्दु धर्मावलम्बीहरूको प्रमुखमध्येको एक पर्व हो । दशैं उत्सवको चाड हो । हर्षोल्लासका साथ यसलाई हरेक वर्ष मनाउने गरिन्छ । तर यो वर्ष भने विगतजस्तो छैन । केही समययता विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण परिस्थिति प्रतिकूल बनेको छ । कोरोना भाइरसको महामारीले यो समय आक्रान्त छ । विश्वभर यसको त्रास फैलिएको छ । केही मात्रामा नियन्त्रण भए पनि निर्मूल भएको छैन । संक्रमण फैलिइरहेकै छ । नेपालमा कोरोना कहरको रूप भयावह अवस्थामै छ । कर्णाली प्रदेश पनि जोखिम मुक्त हुन सकिरहेको छैन । नयाँ संक्रमितको संख्या थपिंदै जाँदा यो कहर कहिलेसम्म कायम रहने हो त्यसको निश्चित छैन । अन्योल र अप्ठ्यारो अवस्थासँग आम नागरिक जुधिरहेका छन् । सिङ्गो समाज र राष्ट्र जुधिरहेको छ । विश्व विज्ञान नै यो महामारीविरुद्ध एकजुट भएर लागि रहेको छ । यद्यपि सङ्कट समाधानउन्मुख छैन । चुनौती घटेको छैन । जोखिमकैबीच दैनिक जीवनयापन अघि बढाउनु पर्ने बाध्यात्मक परिस्थिति हाम्रासामू छ ।
अझ चाडपर्वका लागि त यो समय थप जोखिमपूर्ण छ । त्यसैले निश्चितप्रायः छ, यो वर्षको दशैंमा विगतमाजस्तो रौनक हुने छैन । जोखिम नियन्त्रण नै गर्न सक्ने अवस्थामा नपुगे पनि यसलाई रोकथाम गर्न भने सकिन्छ । अहिलेको र अबको ध्यान त्यसतर्फ हुन जरुरी छ । यसका लागि हाम्रा चाडपर्वहरू मनाउने विगतको शैलीमा बदलाव जरुरी देखिएको छ । चाडपर्वमा भिडभाड बढ्छ । एक–अर्काबीचको सम्पर्क बढी हुन्छ । अझ दशैंको समयमा त यो बढी नै हुन्छ । आफूभन्दा अग्रज मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्नु दशैंको विशेषता हो । यसका लागि एकै व्यक्तिले धेरै जनासँग टीका थाप्ने गरिन्छ । आफन्तका घरघरसम्म पुग्ने परम्परा छ । तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक–अर्काबीचको भौतिक दूरी कायम गर्नु जरुरी हुन्छ । भिडभाडबाट यसको संक्रमण छिटो र धेरैतिर फैलिन्छ । त्यसैले दशैंका लागि कोरोना ठूलो चुनौती बनेको छ ।
यदि पुरानै तरिकाले दबैं मनाउने हो भने यसले देशभर नै भयावह अवस्था नै ल्याउने कुरालाई नकार्न सकिन्न । घरघर डुल्ने, सबै जना एकैठाउँ जम्मा हुने, खानपान भोजभतेर गर्ने, शक्तिपीठ दर्शनार्थ लामो लाइन बस्ने, पिङमा झुण्डिनेजस्ता कार्य कोरोनाका लागि जोखिमयुक्त गतिविधि हुन् । पहिलेकै जस्तो गरी दशैं मनाउँदा भौतिक दूरी कायम नहुने, मास्क लगाउने र नियमित हात धुने कार्यमा पनि बेवास्ता हुने हुँदा संक्रमण चक्र अझैँ तेज रफ्तारमा बढ्ने सम्भावना रहन्छ । त्यसैले कमसेकम यसपालि चाहिँ चाडबाड मनाउने वैकल्पिक उपाय अवलम्बन गर्नु जरुरी छ । सबैभन्दा महŒवपूर्ण कुरा व्यक्तिको स्वास्थ्य र सुरक्षा हो । चाडपर्व फेरि–फेरि पनि आउँछन् । अहिलेको यो विषम् परिस्थितिमा उच्च सावधानीका साथ दशैं मनाउने परम्परागत तरिकामा केही परिवर्तन अपरिहार्य छ ।
प्रकाशित मितिः २ कार्तिक २०७७, आईतवार १२:१७
साझा बिसौनी ।