संक्रमित पाँच हजार नाघे
कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण हुनेको संख्या पाँच हजार नाघेको छ । थप एक सय १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ३५ पुगेको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवार सुर्खेतका ५८, दैलेखका २५, जुम्लाका नौ, सल्यानका सात, कालीकोट र रुकुम–पश्चिमका एक÷एक र अन्य प्रदेशका नौ जनामा संक्रमण देखिएको हो ।
यस्तै, शनिवार प्रदेशमा ५० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन हजार सात सय २८ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा एक हजार तीन सय सात जना सक्रिय संक्रमित छन् ।
यसैगरी, शनिवार देशभर तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । हालसम्म ८९ हजार आठ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ३८ हजार सात सय ३७ जना सक्रिय संक्रमित छन् । देशभर सात सय २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यसैबीच शनिवार वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले पुष्टि गरेको छ । टाइफाइड देखिएपछि उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो । १० दिनदेखि रुघाखोकी र ज्वरो आएका उनको स्वास्थ्यमा सुधार नभएपछि शुक्रवार प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
सास फेर्न अप्ठेरो भएपछि शनिवार बिहान साढे ६ बजे कोरोना परीक्षणका लागि उनको स्वाब दिइएको थियो । स्वाब दिइएको आधा घण्टामै उनको मृत्यु भयो । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले मृत्युपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रकाशित मितिः २ कार्तिक २०७७, आईतवार १२:१६
साझा बिसौनी ।