कलह ज्युँका त्युँ
कर्णाली प्रदेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलभित्रको विवाद ज्युँका त्युँ छ । दुवै पक्षलाई बोलाएको शीर्ष नेतृत्वले तीन दिनसम्म पनि समाधान दिन नसकेपछि कर्णालीको विवाद काठमाडौंमा अलपत्र परेको छ । दलको विवाद लिएर काठमाडौं गएका नेताहरूले पार्टीका शीर्ष नेतृत्वसँग संयुक्त छलफल गर्न समेत पाएका छैनन् । संयुक्त छलफल नहुँदा विवाद समाधानको सूत्र नभेटिएको हो ।
बिहीवारदेखि निरन्तर छलफलमा रहेका प्रदेश र केन्द्रीय नेतृत्वले ठोस समाधानको उपाय निकाल्न नसकेका हुन् । विवाद सुल्झाउनेबारे नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच समान धारणा अझँै बन्न सकेको छैन । अध्यक्षद्वयले कर्णालीबाट गएका दुवै पक्षका नेतासँग छुट्टाछुट्टै मात्र भेट गरेका छन् । कर्णाली विवादबारे संयुक्त भेट र छलफलसमेत भएको छैन ।
पार्टी नेतृत्वले कर्णालीमा देखिएको दलभित्रको विवाद समाधान गर्न पत्र लेखेरै काठमाडौं बोलाएका थिए । तर, बिहीवार नै काठमाडौं पुगेका उनीहरूलाई ओली र प्रचण्डले शनिवार साँझसम्म संयुक्त रूपमा नभेटेका हुन् । संयुक्त बसाइँ नहुँदा विवाद र समाधानका सम्भावित विकल्पबारे ठोस छलफल हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन् । अध्यक्षद्वयसँगको भिन्दाभिन्दै छलफलमा पार्टीका शीर्ष नेताहरूले पनि विवाद साम्य पार्ने मध्यमार्गी विकल्प खोज्ने आश्वासन दिएको कर्णालीबाट गएका नेताहरूले बताएका हुन् ।
दुवै पक्षसँग बिहीवार र शुक्रवार प्रचण्डले छलफल गरेका थिए भने ओलीसँग शनिवार दिउँसो झण्डै तीन घण्टा छलफल भएको हो । ओलीसँग दुवै पक्षले संयुक्त भेट गरेको नेकपा कर्णाली संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाहले बताए । ‘पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै अध्यक्ष बसेर विवाद समाधानका लागि साझा धारणा बनाउने भन्नु भएको छ । उहाँहरूको छलफलपछि केही निकास निस्किएला,’ शाहले भने । अध्यक्ष ओलीले समाधानको ठोस निष्कर्ष नहुन्जेल दुवै पक्षले काठमाडौं नछोड्न भनेको उनले बताए । ओलीले कर्णालीका नेताहरूलाई दुई अध्यक्षको छलफलबाट आउने निष्कर्ष मान्नु पर्ने निर्देशन समेत दिएका छन् । नेकपाका कर्णाली प्रदेश दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्ताव राख्ने र पछि फिर्ता लिने नेतासँग प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भेटेका हुन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा पनि अविश्वासको प्रस्तावको नेतृत्व गर्ने सांसद यामलाल कँडेलसहितका नेताहरूले आफ्नो अडान कायमै राखेको अविश्वास प्रस्तावका हस्ताक्षरकर्ता एक सांसदले जनाए । ‘हामीले दलको नेताविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने कुनै कुरा गरेका छैनौं,’ उनले भने, ‘अविश्वास प्रस्ताव ल्याउनु पर्नाको कारणसहित हाम्रो अडान दुवै अध्यक्षसँग प्रष्ट रूपमा राखेका हौं ।’ सरकार र दलको नेतृत्वको कमजोरीका कारण दलभित्रै चुलिएको असन्तुष्टिले अविश्वासको प्रस्ताव ल्याउनु परेको उनले जनाए ।
मुख्यमन्त्री समेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलकै १८ जना सांसदले अविश्वासको प्रस्ताव अघि सारेपछि उत्पन्न विवाद यतिबेला पार्टी केन्द्रलाई समेत मिलाउन हम्मेहम्मे परेको छ । मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका लागि गएको आइतवार हस्ताक्षर जुटाएर प्रस्ताव नै दर्ता भएको थियो । जसमा ओली समूहका आठ, माधव नेपाल समूहका सात र पूर्वमाओवादी खेमाकै तीन सांसदले हस्ताक्षर गरेका थिए ।
आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रस्ताव दर्ता भएलगत्तै त्यसमाथि छलफल गर्न मंगलवारलाई बैठक बोलाएका प्रमुख सचेतक गुलावजंग शाहलाई नै हटाएर सीताकुमारी नेपालीलाई नियुक्ति गरे । मुख्यमन्त्रीले मंगलवार सचेतकमा अर्का सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका थिए । शाही अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक थिए । अविश्वासको पक्षमा रहेका माधव समूहका नेताहरू बोलाइएको बैठकमै उपस्थित नभएपछि अविश्वासको प्रस्ताव पास हुन सकेन । दुवै पक्षबीच विवाद थप चुलिँदै गएपछि समाधानका लागि केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेको हो ।
प्रकाशित मितिः २ कार्तिक २०७७, आईतवार १२:१५
साझा बिसौनी ।