कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । सत्तापक्षकै सांसदहरुले आइतवार शाहीविरुद्ध नेकपा प्रदेशसभा संसदीय दलमा अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शाहीले संसदीय दल र प्रदेश सरकारको नेतृत्व प्रभावकारी ढंगले गर्न नसकेको भन्दै उनीहरुले संसदीय दलको विधान २०७५ को २४(१) बमोजिम १८ जना सदस्यले हस्ताक्षरसहित अविस्वास प्रस्ताव पेश गरेका छन् ।

साथै नियम २४ को उपनियम १, २, ३ र ४ अनुसार तत्काल संसदीय दलको बैठक आह्वान गरी मार्ग प्रशस्त गर्न माग समेत गरिएको छ ।
अविस्वासको प्रस्ताव दर्ता गर्ने सदस्यहरुमा नेकपाका कणाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलसहितका छन् । जसमा साविकको नेकपा एमाले र नेकपा माओवादीबाट निर्वाचित सांसदहरु पनि छन् ।

 

प्रकाशित मितिः   २५ आश्विन २०७७, आईतवार १४:०९