गोठीकाँडाको विरासत
प्रदेश सदरमुकाम वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा पर्ने गोठीकाँडाको आफ्नै इतिहास, विरासत र वैभव छ । कुनै समयको जिल्ला सदरमुकाम समेत हो, यो । तर शासकीय व्यवस्था, राजनीतिक परिवर्तन र बस्ती विकाससँगै गोठीकाँठाको विरासत ओझेलमा पर्दै गयो । यसको ऐतिहासिक पक्ष विस्तारै स्थानीयले पनि भुल्दै गए । विकासले सजिलो ठाउँ खोज्छ । वीरेन्द्रनगर उपत्यका विकसित हुँदै जाँदा गोठीकाँडा ओझेलमा प¥यो । विकासमा पछि प¥यो । यद्यपि समयक्रमसँगै अहिले यही ठाउँ पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ । गोठीकाँडालाई चिनाउने कोसिस हुन थालेको वर्षाै भए पनि यतिबेला मात्र प्रयासले मूर्तरूप लिन लागेको हो । हाल यस क्षेत्रमा पुग्न र पर्यटकलाई भुल्न भौतिक संरचनाहरू निर्माण भएका छन् । कतिपय निर्माणाधीन अवस्थामै छन् । यसले विगतको विरासत फर्काउने अपेक्षा गरिएको छ ।
गोठीकाँडा आसपासमै रहेको अर्को ऐतिहासिक ठाउँ हो बयलकाँडा । पाका पूरानाहरूका अनुसार सुदूर–पश्चिमेली भाषामा बयल भनेको हावा हो । हावा चलिराख्ने डाँडा भएकाले यसको नाम बयलकाँडा राखिएको हो । बयलकाँडामा गढ अर्थात् बान्नो छ । जसलाई गढी भनेर चिनिने गरेको छ । बहादुर शाहाको पालामा वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । गढीको छुट्टै ऐतिहासिक महŒव छ । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखमा बनाउँदा सुर्खेतमा पनि गढी बनाइएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयका अनुसार त्यस क्षेत्रमा पहिले वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्न गराइएका पर्खालमा प्वाल देखिने गरे पनि पछिल्लो सयम सबै पुरिँदै गएका छन् । बयलकाँडा नजिकै राम्रीकाँडा छ । यसको धार्मिक तथा सांस्कृतिक महŒव उत्तिकै छ । अहिले भने यसको इतिहास मेटिँदै गएको गुनासो स्थानीयको छ । हाल वीरेन्द्रनगर नगरपालिकामा पर्ने गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लकाँडा र गढी पर्यटकीय क्षेत्रका हिसाबले उपयुक्त मानिन्छन् ।
आ–आफ्नै इतिहास बोकेका यी ठाउँको संरक्षणमा पछिल्लो समय प्रदेश तथा स्थानीय सरकार लागेको देखिन्छ ।
गोठीकाँडा अहिले पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको छ । केही वर्षयता यस क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । घुमफिरका लागि मानिसहरूको आवत–जावत बाक्लो हुँदै गएपछि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी तथा निजी क्षेत्रले चाँसो दिएका हुन् । अहिले यस क्षेत्रमा कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले पर्यटक लोभ्याउने उद्देश्यले धमाधम भौतिक संरचनाहरू निर्माण गर्न लागेका छन् । त्यसमाथि वीरेन्द्रनगर–गढी पदमार्गले जोडिने भएपछि पर्यटकीय सम्भावना बढेको छ । पहिलेको गोरेटो बाटोलाई अहिले कर्णाली प्रदेश सरकारले व्यवस्थित पैदलमार्गको रूपमा निर्माण गर्दैछ । गोठीकाँठालाई आन्तरिक पर्यटकहरूले अहिले सुर्खेत उपत्यकाको नगरकोटसमेत भन्ने गरेका छन् । वीरेन्द्रनगर उपत्यका अवलोकन गर्न, गर्मी छल्न, चिसो मौसमको अनुभूति गर्न र डाँडापाखा हेर्न तथा स्थानीय परिकार खान यो ठाउँ उपयुक्त मानिन्छ ।
प्रकाशित मितिः २६ आश्विन २०७७, सोमबार १२:१४
साझा बिसौनी ।