पदमार्गले जोड्दै गोठीकाँडा : बन्दैछ आकर्षक गन्तव्य


कुनै समय गोठीकाँडामा पशुचौपायाका गोठ थिए । गाईभैसी पाल्ने गोठेरीका रूपमा चिनिन्थ्यो यो ठाउँ । त्यसबेला दैलेख, अछामलगायतका क्षेत्रबाट किसानहरू वस्तुभाउ ल्याएर त्यहीं राख्थे । हाट जाने हटारूको मूलबाटो पनि थियो गोठीकाँडा । त्यही पदमार्ग भएर साविक कर्णाली र दैलेखका हटारूहरू नेपालगन्जलगायतका सहरबाट नुन–भुटन र लत्ताकपडा ओसार्थे । यस ठाउँको त्योभन्दा महŒवपूर्ण ऐतिहासिक पृष्ठभूमि हो जिल्ला सदरमुकाम । इतिहासका जानकारहरूका अनुसार शासकीय व्यवस्था, राजनीतिक परिवर्तन र बस्ती विकाससँगै गोठीकाँठाको विरासत ओझेलमा पर्दै गयो । यसको ऐतिहासिक पक्ष विस्तारै स्थानीयले पनि भुल्दै गए । अहिले यही ठाउँ पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ । गोठीकाँडालाई चिनाउने कोशिस हुन थालेको वर्षाै भए पनि यतिबेला मात्र प्रयासले मूर्तरूप लिन लागेको हो । हाल यस क्षेत्रमा पुग्न र पर्यटकलाई भुल्न भौतिक संरचनाहरू निर्माण भएका छन् । कतिपय निर्माणाधीन अवस्थामै छन् ।

केही वर्षयता यस क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पर्यटकको रोजाइँमा पर्न थालेपछि फेरि एक पटक गोठीकाँडा ‘चम्कने’ भएको छ । घुमफिरका लागि मानिसहरूको आवत–जावत बाक्लो हुँदै गएपछि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारी तथा निजी क्षेत्रले चाँसो दिएका हुन् । अहिले यस क्षेत्रमा कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले पर्यटक लोभ्याउने उद्देश्यले धमाधम भौतिक संरचनाहरू निर्माण गर्न लागेका छन् ।

वि.सं. २०२३ साल (करिब ५०÷५५ वर्ष पहिले) वीरेन्द्रनगर नगरपालिकाको खोर्केलाइन हुँदै तत्कालीन गढी गाउँ विकास समिति–४ हालको वीरेन्द्रनगर–१४ गोठीकाँडामा निस्किने पैदल यात्रीहरूको लर्को हुन्थ्यो । हाट जाने हटारू, गोठीकाँडाबाट दोभानचौर (वीरेन्द्रनगरमा) खेती गर्न आउने किसान र गोठेरी राख्नेहरू त्यही बाटो भएर ओहोर–दोहोर गर्थे । भोटबाट भोटेहरूसमेत त्यहीँ बाटो भएर हिँड्थे । जुन ठाउँमा अहिले कर्णाली प्रदेश सरकारले पैदलमार्ग निर्माण गर्दैछ । कुनैबेला जुम्ला, हुम्ला, मुगु, कालिकोट र दैलेखको नेपालगन्ज लगायतका सहरमा अध्ययन तथा हाटबजार जाँदा पैदल यात्रा गर्ने गोरेटो बाटो हो त्यो । जहाँ अहिले पैदलमार्ग निर्माण भइरहेको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ ।

२०५० सालतिर सुर्खेत–दैलेख सकडखण्ड निर्माण भयो । सवारीसाधन सञ्चालनमा आए । जसका कारण यो ठाउँ झनै ओझेलमा प¥यो । तर, यो बाटोले यतिबेला भने बटुवा पाउन थालेको छ । वि.सं. २०२३ सालभन्दा पहिले सुर्खेत जिल्लाको सदरमुकाम रहेको गोठीकाँडामा मानवीय बस्ती भए पनि वीरेन्द्रनगर उपत्यका भने खेतीयोग्य जमिनका रूपमा मात्रै प्रयोग हुने गरेको थियो । औलो लाग्ने डरले चौधरी समुदायका केही बस्तीबाहेक उतिबेला वीरेन्द्रनगरमा बस्ती थिएनन् । किसानहरू खेतीपाती सकेपछि गोरू लिएर गोठीकाँडातिर बास बस्न जान्थे । भैरबस्थानदेखि गोठीकाँडासम्म करिब चार किलोमिटर पर्ने उक्त गोरेटो बाटोमा राज बिसौनी, साँझ गोठेरी, गोरु गोठेरी, धर्मशाला, भड्डू घोप्टे र छेलो हान्नेजस्ता ठाउँका नाम छन् । ती नामले पनि आ–आफ्नै विशेषता छन् । गोठीकाँडा नाम रहनुमा पनि खास कारण छ । स्थानीय बासिन्दा सुरेशकुमार भट्टका अनुसार उतिबेला दैलेख, अछाम लगायतका जिल्लाबाट मानिसहरू जहाँ गाई, भैसी र बाख्रा तथा भेडा ल्याइ राख्ने गर्थे । त्यसैले यस ठाउँलाई गोठीकाँडा भनिएको हो । यही नामले पछि यो क्षेत्र चिनिन थालेको हो ।

वि.सं. २०२४ सालमा गोठीकाँडामा रहेको सुर्खेत उपत्यका वीरेन्द्रनगर नगरपालिका (दोभानचौर) मा सारियो । त्यसकोे एक वर्षपछि २०२५ सालमा भट्टको परिवार वीरेन्द्रनगर बसाइँ सरी आएको थियो । ‘औलोको उल्कै डर हुँदाहुँदै हाम्रो परिवार वीरेन्द्रनगर झरेको हो,’ भट्टले भने । ६० वर्षीय भट्टले आफूले गोठीकाँडा र सुर्खेत उपत्यकाको इतिहासको जानकारी हजुरबुवा र बुवाबाट लिएको बताए । वि.सं. २०२९ सालमा वीरेन्द्रनगर नगरपालिका स्थापना भयो । नगरको विस्तारै विकास हुन थालेपछि गोठीकाँडा लगायत दैलेख, कालीकोटबाट मानिसहरू बसाइँ सरी वीरेन्द्रनगर आउन थाले ।

गन्तव्य गोठीकाँडा
२०३४ सालमा दैलेखको लेखतोलीबाट वीरेन्द्रनगर–४ भैरबस्थान खोर्केमा बसाइँ सरी आएका ७८ वर्षीय तिलाराम चालिसेले सुर्खेत–दैलेख सडकखण्ड सञ्चालनमा आएदेखि उक्त गारेटोबाटो ओझेलमा परेको सुनाए । चालिसेको आँगनमै पैदलमार्ग पर्छ । यही बाटो भएर बटुवाहरू ओहोरदोहोर गर्थे । वर्षौंदेखि सुनसान पैदलमार्गमा केही समययता चहलपहल बढ्न थालेपछि चालिसे दङ्ग छन् । ‘दैलेखबाट बसाइँ सरेपछि धेरै हटारूलाई मैले भात खुवाएँ,’ उनले भने, ‘दैलेख, जुम्ला, हुम्ला, कालीकोटका बटुवाहरू यो बाटो भएर हिँड्थे ।’

गोठीकाँठालाई आन्तरिक पर्यटकहरूले अहिले सुर्खेत उपत्यकाको नगरकोटसमेत भन्ने गरेका छन् । वीरेन्द्रनगर उपत्यका अवलोकन गर्न, गर्मी छल्न, चिसो मौसमको अनुभूति गर्न र डाँडापाखा हेर्न तथा स्थानीय परिकार खान यो ठाउँ उपयुक्त मानिन्छ । केटोकेटी, युवायुवती र वृद्धवृद्धासमेतको रोजाइँमा छ गोठीकाँडा ।

काँडाहरूको कथा
गोठीकाँडा आसपासमै रहेको अर्को ऐतिहासिक ठाउँ हो बयलकाँडा । पाका पूरानाहरूका अनुसार सुदुर–पश्चिमेली भाषामा बयल भनेको हावा हो । हावा चलिराख्ने डाँडा भएकाले यसको नाम बयलकाँडा राखिएको हो । बयलकाँडामा गढ अर्थात् बान्नो छ । जसलाई गढी भनेर चिनिने गरेको छ । बहादुर शाहाको पालामा वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुद्री सतहदेखि एक हजार पाँच २२ मिटरको उचाइमा छ । गढीको छुट्टै ऐतिहासिक महŒव छ । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखमा बनाउँदा सुर्खेतमा पनि गढी बनाइएको हुन सक्ने अनुमान गरिएको हउनीहरू बताउँछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा पहिले वरिपरी ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्न गराइएका पर्खालमा प्वाल देखिने गरे पनि पछिल्लो सयम सबै पूरिँदै गएका छन् ।

बयलकाँडा नजिकै राम्रीकाँडा छ । यसको धार्मिक तथा साँस्कृतिक महŒव उत्तिकै छ । राम्री भनेको राम रमाइलो भन्ने अर्थ लाग्छ । पहिले राम्रीकाँडामा दशैंपूर्णिमामा जात्रा लाग्ने गर्थो । अहिले भने यसको इतिहास मेटिँदै गएको गुनासो स्थानीयको छ । हाल वीरेन्द्रनगर नगरपालिकामा पर्ने गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लकाँडा र गढी पर्यटकीय क्षेत्रका हिसाबले उपयुक्त मानिन्छन् । आ–आफ्नै इतिहास बोकेका यी ठाउँको संरक्षणमा पछिल्लो समय प्रदेश तथा स्थानीय सरकार लागेको देखिन्छ ।

पैदलमार्गले जोड्दै
कर्णाली प्रदेश सरकारले गोठीकाँडा पैदलमार्ग निर्माण गरिरहेको छ । पूर्खाले हिँडेको गोरेटो बाटो अहिले पैदलमार्गको नाममा पर्यटकीय क्षेत्र बन्न लागेको हो । उक्त मार्ग निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले ८० लाख बजेट विनियोजन गरेको थियो । सो बजेट डिभिजन वन कार्यालय सुर्खेतद्वारा खर्च गर्ने गरी करिब एक किलोमिटर पैदलमार्ग निर्माण भइसकेको छ ।

डिभिजन वन कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले पहिलो चरणमा वीरेन्द्रनगर–४ खोर्केबाट पैदलमार्गको निर्माण गर्ने काम भएको बताए । पदमार्गमा सोलिङ्ग, ढलान, सिढी र टायल राख्ने काम सकिएको छ । पैदलमार्ग १ दशमलब ५ मिटर चौडाइमा निर्माण भएको हो । यो क्रमागत योजना हो । पैदलमार्ग छेडासम्म निर्माण गरिने र करिब ३५ सय मिटर भन्दा बढी लम्बाइ हुने बताइएको छ ।

पैदलमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले पैदलमार्गले सुर्खेतमा पर्यटक भिœयाउनलाई ठूलो सहयोग पुग्ने बताए । निर्माणकै क्रममा रहेको पैदलमार्गमा हिजोआज एक सय जना भन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन् । वीरेन्द्रनगरबाट ‘मर्निङ्गवाक’का लागि मानिसहरू त्यहाँ जाने गरेका हुन् ।