भेडीगोठमै रमाउनेहरू

जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे । सुरुमा उनी रहरै रहरमा बिदाको दिन छिमेकीको भेडा चराउँथे । पाँच कक्षामा पढ्दै गरेका उनलाई भेडा पाल्न औधी मन लाग्यो । मन विस्तारै विद्यालयभन्दा भेडीगोठतिर लाग्न थाल्यो । १३ वर्षदेखि भेडा पालन सुरु गरेका उनी अहिले १९ वर्षका भए । कुँवरले ६ वटा भेडाबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनको गोठमा ७० वटा भेडा छन् ।

मानबहादुर कुँवर

कुँवर जस्तै यहाँका धेरै बालबालिका बाध्यताले पढाइ छाडेर गोठाला बन्छन् । अधिकांश भेडीगोठालाले विद्यालय तहको शिक्षा पनि पूरा गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरू जब मेलो धान्न सक्ने भए, परिवारलाई सघाउने हेतुले केही दिन गोठालो भए । गोठालोमा टक बस्दै गयो । स्कुल फर्किएनन्, भेडिगोठमै रमाए । यसबाटै उनीहरूको जिविकोपार्जन हुँदै आएको छ । पशुपालनमध्ये भेडापालनलाई निकै गाह्रो काम मानिन्छ । कर्णाली प्रदेशका उच्च पहाडी जिल्लाहरूमा थुप्रै बासिन्दाका लागि भेडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो ।

जुम्लाका भेडा गोठालाहरू आफ्नो नामसम्म लेख्न सक्छन् । यहाँका विकट तथा ग्रामिण भेगमा बढी भेडा पालन हुने हँुदा बालबालिका गोठालो जान्छन् । उनीहरू विद्यालयको पहुँच बाहिर छन् । तातोपानी–७ ताम्तीगाउँका हरिदत्त रावतले पनि नौ कक्षामा पढ्दै गर्दा भेडा हेर्नुपर्ने भयो । भेडापालन उनको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि उनले पढाइ छाड्नुप¥यो ।

भेडा गोठालाहरू हिउँदमा बेसीका फाँट र गर्मीयाममा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपात भेडिगोठमै सकिन्छ । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सीमानामा पर्ने डुईसिले लेकसम्म उनीहरू भेडाबाख्रा चराउन लैजान्छन् ।
घुमन्ते जीवन बिताउने गोठालाहरू चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठ बनाएर बस्छन् । एक दुई महिनालाई पुग्ने खाद्यान्न आफन्तले पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरूको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडिपाखि ओढ्ने, ओछ्याउने गर्छन् । राडिपाखिले जमिनको पानी जीउमा पर्न दिँदैन । जसबाट रागन र नसा सम्बन्धी रोग लाग्न पाउँदैन । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो–छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन ।

अभिभावकसँगै यात्रा गर्नुपर्ने बाध्यताका कारण भेडा गोठालाका बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा भने प्रत्यक्ष असर परिरहेको छ । भेडाको बथानसँगै बसाई सरिरहनुपर्ने बाध्यता सँगै थुप्रै समस्याहरू झेल्नुपर्छ । खानपानका लागि अन्नपातको भारी, ओढ्ने, ओछ्याउने र त्रिपाल बोकेर हिमाली भेग तथा उच्च पहाडी क्षेत्रमा हुने यो खालको अस्थायी बसोबास निकै कष्टकर रहेको उनीहरू बताउँछन् ।

हिउँदमा जाडो छल्न बेसी झरेका भेडीगोठ चिसो घटेपछि हिमालतिर उक्लिन थाल्छन् । भेडापालक किसान हिउँदमा बेसी र न्यानो सिजनमा हिमालतिर भेडीगोठ सार्ने गर्छन् । सडक मार्गको पहुँच नपुगेको ठाउँमा ढुवानीको प्रमुख साधन अहिले पनि भेडाच्यांग्रा नै हुन् । साँघुरो बाटोमा सहजै र सुरक्षित रूपमा सामान ढुवानी गर्न सकिने भएकाले हिमाली क्षेत्रहरूमा भेडाबाख्रामा सामान बोक्ने क्रम अझै हटेको छैन । भेडापालन व्यवसाय पछिल्लो समय घट्दै गए पनि धेरैले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् ।

भोटे कुकुरको पहरा

भेडाको बथान अनि पाटन र जङ्गलको बास । चिसो छल्न बेसी झर्दा होस या गर्मी छल्न लेक ओसार्दा भेडाहरू चोरी हुने र हराउने समस्या हुन्छ । भेडाहरू जङ्गली जनावरको आक्रमणमा पर्ने डर पनि भेडापालकलाई उत्तिकै हुन्छ । तर, जुम्लाका भेडापालक किसानलाई भने यस्ता डर कमै हुन्छन् । कारण, उनीहरूलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ । चिसो ठाउँ र भोटमा पाइने हुँदा भोटे कुकुर भनिएको हो । भेडी गोठको इमान्दार सिपाही हुन् यी । भोटे कुकुर भेडिगोठालाको साथमै रहन्छन् । भेडालाई विभिन्न जङ्गली जनावर तथा अन्य आक्रमणबाट जोगाउन गोठैपिच्छे भोटे कुकुर पाल्ने गरिन्छ । यो भोटे कुकुर यति ज्याद्रो हुन्छ यसले बाघ, स्याल, चिल, नाउटुटो लखेट्छ र भेडालाई जोगाउँँछ । भोटे कुकुरविना कुनै पनि भेडीगोठ सुरक्षित नहुने भेडी गोठाला बताउँछन् । एक जना भेडापालक किसानसँग चार वटासम्म भोटे कुकुर हुन्छन् । यी कुकुरहरू भेडीगोठको वरिपरि पहरा दिएर बसिरहन्छन् । भेडालाई बथानबाट बाहिर जान नदिन, बाहिरबाट हुन सक्ने आक्रमण र चोरी रोक्न उनीहरू चनाखो हुन्छन् ।

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०९:०३