‘पढ्न मन छ, माध्यम छैन’

घरमै अध्ययन गर्दै स्वस्तिका सिंह ।

वीरेन्द्रनगर–८ की स्वस्तिका सिंहको घरदेखि विद्यालयको दूरी धेरै छैन । खजुरास्थित सिद्ध बहिरा बालकको स्कुलकी विद्यार्थी हुन् उनी । झण्डै एक सय मिटरको दूरीमा रहेको विद्यालय लामो समयदेखि बन्द छ । विद्यालयमा साथीहरूसँग खेल्दै रमाउँदै पढेको सम्झँदा उनको मनमा एउटै प्रश्न खेलिरहन्छ, ‘स्कुल कहिले खुल्ला ?’

अन्य विद्यालयहरूले वैकल्पिक सिकाइका माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थीलाई अनलाइनमार्फत घरमै बसेर पढ्न सकिने व्यवस्था मिलाइएको छ । स्वस्तिका मात्र होइनन्, उनीजस्ता अन्य दृष्टिविहीन बालबालिका यतिबेला वैकल्पिक सिकाइबाट पनि वञ्चित छन् । शैक्षिक संस्थाहरूले विद्यार्थीको लागि वैकल्पिक सिकाइका अभ्यासहरू गरिरहे पनि दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि यो विधि प्रभावकारी विकल्प हुन सकेको छैन । ६ कक्षामा अध्ययनरत १३ वर्षीया स्वस्तिका सांकेतिक भाषामा भन्छिन्, ‘पढ्न मन त लाग्छ । तर, पढ्ने उपाय (माध्यम) छैन । घरमै कसरी पढ्ने ?’

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीका ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोतकक्षा सञ्चालन गरिएको छ । ती विद्यालयमा ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगरस्थित सिद्ध बहिरा स्कुल (विशेष विद्यालय) मा ९५ जना विद्यार्थी आवासीय रूपमा पढ्छन् । अहिले विशेष विद्यालयका साथै सबै आवासीय स्रोतकक्षा बन्द छन् । यसले गर्दा आवासीय रूपमा बसेर पढिरहेका विद्यार्थी आ–आफ्नो घर गएका छन् । उनीहरूलाई अध्ययनको लागि सांकेतिक भाषाबाहेक अर्को भरपर्दो विकल्प छैन ।

सिद्ध बहिरामै पढ्ने वीरेन्द्रनगर–११ की अस्मिता भट्टराईको समस्या पनि स्वस्तिकाको जस्तै छ । उनी बेलाबेला किताबका पाना पल्टाउँछिन् । एकछिन हेर्छिन् । नबुझेपछि दिक्क मान्दै किताब थन्काउँछिन् । सिकाउनलाई शिक्षक छैनन् । सिक्ने अरु कुनै माध्यम पनि छैन । ‘स्कुल कहिले लाग्ला र पढौंला जस्तै भएको छ,’ अस्मिताले भनिन् ।

अपाङ्गता भएका बालबालिकालाई घरमा पढ्न र पढाउन सहज छैन । बौद्धिक अपाङ्गता भएका विद्यार्थी सिकाइ गतिविधिबाट अझ बढी वञ्चित छन् । भाषाको समस्याले घरमा अभिभावकले समेत सिकाउन सक्ने अवस्था छैन । सिद्ध बहिराका अधिकांश विद्यार्थी सुर्खेत बाहिरका छन् । तत्काल विद्यार्थीलाई ल्याएर पठनपाठन सञ्चालन गर्ने अवस्था पनि नरहेको विद्यालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले विद्यालय सञ्चालनमा थप अन्योलता देखिएको प्रधानाध्यापक चन्द्रबहादुर कार्की बताउँछन् । ‘हामीले चाहेर पनि पठनपाठनका कार्यक्रमहरू अघि बढाउन सकेका छैनौं,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालयमै ल्याएर तत्काल पढाउन सक्ने अवस्था छैन ।’ यहाँ कर्णालीका मात्र नभइ अन्य प्रदेशका बालबालिका पनि अध्ययनरत छन् । उक्त विद्यालयले चालु शैक्षिक सत्रका लागि विद्यार्थीको भर्नासमेत गरेको छैन ।

सुर्खेतकै शिखर मावि रामघाटमा अध्ययरत प्रकाश सञ्ज्याल दृष्टिविहीन छन् । विद्यालयमै आवासीय रूपमा पढ्दै आएका उनी लकडाउनपछि घर गए । उनको घर कालीकोट हो । गाउँमा रेडियो पनि राम्रोसँग सुनिदैंन, इन्टरनेटको पहुँच त परको कुरा । आफैं पढौं ब्रेललिपि सामग्री छैनन् । प्रकाशले घर गएपछि पढ्न नपाएको दुखेसो पोखे ।

‘होस्टेलमा बसेर पढ्दा बे्रललिपिमा पढ्ने गथ्र्यौं । अहिले घरमा कसरी पढ्नु ?’ उनी भन्छन्, ‘त्यतिकै बस्ने काम मात्र भएको छ । कहिलेकाहीँ सरहरूसँग फोनमा कुराकानी हुन्छ ।’

कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्न झनै समस्या छ । टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनको पर्याप्त पहुँच छैन । जसोतसो पहु“चमा पुगेकालाई पनि सिकाइमा अभ्यस्त नहु“दा प्रभावकारी हुन सकेको छैन । भेरीगंगा नगरपालिका–१२ राझीगाउँका दुर्ग परियार रेडियोमा पढाएको सुुन्छन् । कक्षा नौ का विद्यार्थी उनी सामग्री नहु“दा लेख्न सक्दैनन् । ‘हामीलाई रेडियोबाट त्यति सहज हुने रहेनछ,’ उनले भने, ‘पढाइ भएको रेडियोबाट सुन्ने काम मात्र हुन्छ । बे्रललिपि नहुँदा समस्या छ ।’ श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा अध्ययनरत दुधकली कार्की पनि रेडियोबाट पढाएको सुन्छिन् । उनलाई विद्यालयमै गएर पढेको जस्तो सहज लाग्दैन ।

कोरोनाका कारण चैतयता सबैजसो शैक्षिक संस्था बन्द छन् । पछिल्लो समय केही विद्यालयहरू स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर खुल्न पनि थालेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले खुलेका विद्यालय पुनः बन्द गर्न पनि थालिएको छ । सुरुमा स्थानीय प्रशासन, स्थानीय तह र विद्यालयको समन्वयमा सावधानी अपनाइ विद्यालयमै कक्षा सञ्चालन गर्न सकिने बताएको सरकारले पछिल्लो पटक विद्यालय सकभर सञ्चालन नगर्न भनिरहेको छ । शिक्षण सिकाइलाई सहजीकरण गर्न वैकल्पिक माध्यमलाई अघि बढाउन सरकारको अनुरोध छ । तर, वैकल्पिक माध्यम अपाङ्गता भएका बालबालिकालाई प्रभावकारी हुनै सकेको छैन ।

श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका स्रोत शिक्षक सुरेश खड्काले विद्यार्थीहरू आ–आफ्नो घरमा भएकाले ब्रेल सामग्रीसमेत वितरण गर्न नसकिएको बताए । वीरेन्द्रनगरमै रहेका केही विद्यार्थीहरूलाई ब्रेल सामग्री उपलब्ध गराए पनि ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरू पढाइबाट वञ्चित भएको उनी बताउँछन् । श्रीकृष्णमा १५ जना विद्यार्थी विद्यालयकै आवासमा बसेर अध्ययन गर्थे । ती विद्यार्थी घर जा“दा सम्पर्क हुन नसकेको स्रोत शिक्षक खड्काले बताए । शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेका अनुसार प्रदेश र संघीय सरकारले अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरी वैकल्पिक सिकाइका कुुनै कार्यक्रम सुरु गरेको छैन ।

घरमा बस्दा नैराश्यता

आवासमा बस्दै आएका विद्यार्थी यतिबेला आ–आफ्नो घरमा छन् । विद्यार्थी टाढा हुँदा विद्यालयहरूले पठनपाठनलाई सहजीकरण गर्न सकिरहेका छैनन् । शिखर माध्यमिक विद्यालय रामघाटका प्रधानाध्यापक टेकबहादुर वलीले आवासीय रूपमा बस्दै आएका सबै विद्यार्थी विद्यालयबाहिर हुँदा विद्यालयले सहज रूपमा सहजीकरण गर्न नसकेको बताए । उनको विद्यालयमा १३ जना दृष्टिविहीन विद्यार्थी आवासीय रूपमा बस्दै आएका थिए । अहिले सबै विद्यार्थी घरमै बसिरहेका छन् । ब्रेललिपिका केही सामग्री विद्यार्थीलाई दिन खोजिए पनि भौगोलिक दूरीले सम्भव नभएको उनले बताए ।
लामो समयदेखि पढाइ सञ्चालन नहुँदा विद्यार्थी र अभिभावक पनि चिन्तित छन् । विद्यार्थीमा एक्लोपन र नैराश्यता बढ्दै गएको अभिभावकहरूले बताउने गरेका छन् । साथीहरूसँगै होस्टेलमा बसेर बढ्दै आएका विद्यार्थीले घरमा हुँदा झन् एक्लोपन महसुस गर्ने गरेका हुन् ।

दोहोरो समस्या

अपाङ्गता भएका विद्यार्थी कोरोना महामारीले निम्त्याएको संकटले दोहोरो मारमा छन् । स्वास्थ्य सुरक्षाको जोखिमसँगै उनीहको पठनपाठन अघि बढ्न सकेको छैन । भौगोलिक विकटताका कारण हरेक ठाउँ अपाङ्गमैत्री छैनन् । परिवारले भाषा नजान्दा बहिरा विद्यार्थीहरूलाई पठनपाठनमा कठिनाइ छ । कोरोनाको महामारीको समयमा उनीहरूको स्वास्थ्य सुरक्षादेखि हेरचाहमा पनि चुनौति देखिएको हो । स्रोत शिक्षक सुरेश खड्काले आवासमा बसेर पढ्दै आएका विद्यार्थी अहिले घर जाँदा अभिभावकलाई समेत उनीहरूको हेरचाहको बारेमा थाहा नहुँदा जोखिम रहेको बताए ।

सहजीकरणका प्रयास

कर्णालीमा केही विद्यार्थीलाई सरकारी तथा गैरसकारी निकायबाट स्व–अध्ययन सामग्री वितरण गरिएको छ । सेभ द चिल्डे«नले उनीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । सेभ द चिल्डे«नका शिक्षा संयोजक आत्माराम भट्टराईले २४ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको जनाए । उनका अनुसार दैलेखको गुराँस गाउँपालिका, कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउ“पालिका तथा जाजरकोटको छेडागाड नगरपालिकाका बालबालिकालाई सहयोग गरिएको हो । बाल शिक्षादेखि तीन कक्षासम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल किताब बाँड्ने तयारी गरिएको उनले बताए ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमाल अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टै विशेष कार्यक्रम नभएको बताउँछिन् । अन्य विद्यार्थीका लागि स्थानीय तह र विद्यालयले योजना बनाएर पठनपाठनलाई सहजीकरण गर्ने गरे पनि बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि पठनपाठन सुरु गर्न चुनौति रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०८:५१