सहुलियत पसलमा न्यून ग्राहक

वीरेन्द्रनगरमा सञ्चालित सहुलियत मूल्य पसलमा सामान खरिद गर्नेको संख्या न्यून छ । चाडपर्व लक्षित उक्त पसलमा दैनिक सरदर २८ जना ग्राहकले मात्रै सामान खरिद गर्ने गरेका हुन् । बजारका अन्य पसलभन्दा सहुलियत मूल्यमा खाद्य सामग्री पाइने भए पनि ग्राहकको चाप नदेखिएको हो । चाडपर्व नजिकिएसँगै सर्वसाधारणलाई खाद्यान्न बिक्री गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले एक साताअघि सहुलियत पसल खोलेको थियो ।

दशैं, तिहार र छठजस्ता पर्व लक्षित गरेर सहुलियत पसलमा बजारभन्दा सस्तो मूल्यमा बिक्री–वितरण भइरहेको छ । खाद्यन्न खरिद गर्नेहरू दिन प्रतिदिन बढेको भए पनि खासै चाप नरहेको कार्यालय प्रमुख भीमबहादुर थापाले जानकारी दिए । सहुलियत पसलमा अहिले चामल र जुम्लाको सिमी मात्र बिक्री–वितरण भइरहेको छ । कोरोनाका कारण अघिल्ला वर्ष जस्तो बढी व्यापार नभए पनि ग्राहकको संख्या बढ्दै जाने अपेक्षा कम्पनीको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पसल खुला रहन्छ । उक्त सहुलियत पसलमा बजारको मूल्यभन्दा सिमी एक केजीमा १० रूपैयाँ र चामलमा पाँच रूपैयाँ छुट दिइएको छ । एक जनाले एक पटकमा एक क्वीण्टलसम्म चामल र ५० केजीसम्म दाल खरिद गर्न सक्छन् । शुक्रवारसम्म एक सय सात क्वीण्टल चामल बिक्री भएको कम्पनीले जनाएको छ । सहुुलियत पसलमा जुम्लाको सिमी, मोटा चामल, सोना मंसुली, स्टिम जिरा, जापानिज र मकवानपुर चामल बिक्रीका लागि राखिएको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०८:३६