कूलतमा युवा

लागूऔषधको प्रयोग बढ्दो छ । यो समाजका लागि ठूलो समस्या बनेको छ । प्रयोग बढेसँगै यसको कारोबार पनि बढेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा पनि लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । तथ्याङ्कले देखाउँछ, यहाँ दिनप्रति दिन प्रयोगकर्ता र कारोबारको सञ्जाल बढ्दो छ । यो डरलाग्दो अवस्था हो । लागूऔषध मानव स्वास्थ्यका लागि हानिकारक छ । केवल व्यक्तिका लागि मात्रै होइन परिवार र समाजकै लागि यो घातक वस्तु हो । तर यसको प्रयोग बढ्नु चुनौतीपूर्ण छ । सिङ्गो मुलुककै चुनौती हो, यो ।

कर्णालीका विभिन्न जिल्लाहरूमा दैनिकजसो लागूऔषध र त्यसको कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्दैआएका छन् । बितेका पाँच वर्षमा कर्णाली प्रदेशमा दुई सय ६९ लागूऔषधका मुद्दा दर्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा लागूऔषधका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा प्रदेशमा जम्मा ३७ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ त्यो संख्या बढेर ४८ पुग्यो । आर्थिक वर्ष २०७५÷०७६ मा समेत प्रदेशका सात जिल्लामा गरी ९३ वटा मुद्दा दर्ता भएका थिए । गएको आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशभर ८८ वटा लागूऔषध सम्बन्धी मुद्दा प्रहरीले दर्ता गरेको थियो । चालु आर्थिक वर्षको यो अवधिसम्म प्रदेशका तीन जिल्लामा तीन वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । तथ्यांक वर्षेनी बढ्दो क्रममा छ । यसले भयावय भविष्यको संकेत गर्दछ । समयमै यसलाई रोकथाम तथा निन्यण गर्न सकिएन भने केही वर्षपछि लागूऔषध नै सबैभन्दा ठूलो समस्या बनेर आउनेछ ।

लागूऔषध नियन्त्रणका लागि प्रयासहरू पनि भइरहेका छन् । कानुनले यसको प्रयोग र कारोबारमा रोक लगाएको छ । सरकारी तथा विभिन्न गैरसरकारी सघं–संस्थाले विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोग र कारोबारमा कमी आउन सकेको छैन । बरामद हुने लागूऔषधको परिमाणले पनि कर्णालीमा यसको कारोबार बढ्दै गएको देखाउँछ । लागूऔषधका तस्करले भारतीय बजारबाट खरिद गरी मधेस हुँदै पहाडी जिल्लामा पु¥याउने गरेका छन् । सीमापारीदेखि पहाडी जिल्लासम्मका युवकको गिरोह नै लागूऔषध कारोबारमा सक्रिय रहेको प्रहरी तथ्याङ्कले नै देखाएको छ । पहाडी जिल्लामा लागूऔषधको बढी रूपैयाँमा खरिद–बिक्री हुने गरेको छ । तस्करले भरियामार्फत यो कारोबारको सञ्जाल प्रदेशका सबै जिल्लामा पु¥याएको पाइन्छ । अर्को डरलाग्दो तथ्य के पनि हो भने किशोर तथा युवा पुस्तामा लागूऔषधको लत बढ्दो क्रममा पाइएको छ । उक्त पुस्तालाई लक्षित गरेर कारोबारी पनि बढ्दै गएका छन् । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेका हुन् । परिवार तथा अभिभावकको हेलचक्य्राइँ र निगरानी अभावमा किशोरावस्थाको पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको हो । आजको युवा पुस्ता नै मुलुकका भविष्य हुन् । जसलाई कूलतबाट जोगाउनु आजको आवश्यकता हो ।

प्रकाशित मितिः   २३ आश्विन २०७७, शुक्रबार ०८:१७