बसपार्कमा सहायता कक्ष

वीरेन्द्रनगर बसपार्कमा यात्रुहरूको सहजताका लागि सहायता कक्ष राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बिहीवार यात्रुका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको हो । यात्रुहरूलाई समस्या नहोस् भन्नका लागि सहजिकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले यात्रुहरूको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको बताए । ‘चाडपर्व नजिकिँदै जाँदा बसपार्कमा यात्रुहरूको चाप बढ्ने भएकाले सहायता कक्ष सुरु गरिएको हो,’ उनले भने । यात्रु ठगिने, बसमा सीट नपाउने लगायतका समस्या तथा गुनासा भएमा सहायता कक्षामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । छठ पर्वसम्म बसपार्कमा सहायता कक्ष राखिने छ । ‘हेल्प डेस्क’ले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउन सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउन यातायात व्यवसायीहरू बढी जिम्मेवार हुनुपर्ने बताए । चाडपर्वमा यात्रु तथा सवारी साधनको चाप बढी हुने हुँदा दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले सीट क्षमताभन्दा बढी यात्रु नराख्न यातायात व्यवसायीलाई सुझाए । एसपी भट्टले यात्रुलाई यात्राका क्रममा असहज भए प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मितिः   २३ आश्विन २०७७, शुक्रबार ०८:१९