सडक व्यापारका सकस

गंगाराम सार्की ७२ वर्षका भए । बिहीवार दिउँसो उनलाई भेट्दा मंगलगढी चोकमा जुत्ता सिलाउँदै थिए । कोरोना नलागोस् भनेर मुखमा मास्क लगाएका छन् । संक्रमणबाट बच्न सावधानी अपनाएका उनको मास्क भने मैलो छ । फेरिरहन उनको कमाइले पुग्दैन । सरकारी दस्तावेज अनुसार उनी ज्येष्ठ नागरिक हुन् । आराम गरेर बस्नुपर्ने उमेर हो उनको । यतिबेला सरकारले नै भनेको छ, ‘वृद्धवृद्धा र बालबालिकालाई कोरोना संक्रमणको बढी जोखिम छ । सकभर घर बाहिर ननिस्कनु । सावधानी अपनाउनु ।’

सरकारले भनेर के गर्नु ? बिहान साँझको छाक टार्न गंगारामलाई जुत्ता चप्पल नसिलाई पुग्दैन । उनलाई बुढ्यौलीले जसरी घेर्दै लगेको छ, उसैगरी झन ठूला दुःख र अभावले घेरिरहेछ । उनी यही सीपमूलक पेसा गरेर अहिलेसम्म गुजारा चलाउँदै आएका छन् ।

‘रोग लाग्ला भन्ने चिन्ता लागिरहन्छ । डर र चिन्ता मात्रै मानेर भोको पेटले मान्दैन,’ गंगाराम भन्छन्, ‘जता मान्छेको भिडभाड हुन्छ त्यहीँ बसेर जुत्ता सिलाउनुु पर्छ । दुई चार पैसा नकमाई चुल्हो बाल्ने अरु मेसो केही छैन ।’ यो उनको पुख्र्यौली पेसा पनि हो । वीरेन्द्रनगरका सडकमा बसेर जुत्ता चप्पल सिलाउने काम गर्न थालेको ५० वर्षभन्दा बढी भइसकेको छ । दिनचर्या दशकौंदेखि फेरिएको छैन । बिहानै उठ्छन् । मंगलगढी चोकमा पुग्छन् । अनि सुरु हुन्छ जुत्ता चप्पल सिलाउने दैनिकी ।

कोरोनाको महामारी छ । उनलाई थाहा छ । डर पनि त छ । बुढो हुँदैमा ज्यानको माया कसलाई नहोला ! कोरोना लागिहाले के गर्ने ? वृद्ध शरीर र नाजुक आर्थिक अवस्थाले उनलाई थप पिरोलिरहन्छ । मुखमा मास्क लगाएर मात्र भएन माड पनि हाल्नै प¥यो ।

चैतयता कोरोनाका कारण लकडाउन र निषेधाज्ञा भइरहदा उनलाई घरखर्च चलाउन निक्कै मुस्किल प¥यो । ‘यो उमेरमा धेरै कमाउने लोपले होइन गुजारा चलाउने बाध्यताले सडकमा बसेको छु,’ उनले भने, ‘पाँच जनाको परिवार छ । कोरोनाको डरले कति दिन घरमै बसेर पुग्छ र ? हातमुख जोड्ने मेसोका लागि पनि काम त गर्नैप¥यो ।’

वीरेन्द्रनगरको व्यस्त चोक मंगलगढीमै अर्का ६० वर्षीय टीकाराम कार्की भेटिए । उनी पनि २० वर्षदेखि जुत्ता चप्पल मर्मतकै काम गर्छन् । बाध्यताका कारण कोरोनाको जोखिम भुलेर काम गर्नुपरेको उनी बताउँछन् । टीकाराम भन्छन्, ‘कोरोनाले गर्दा छोराहरू भारतबाट फर्किएर घर आए । अहिले उनीहरू बेरोजगार छन्  । ज्यालामजदुरीको कामसमेत पाएका छैनन् ।’ अहिले कमाई राम्रो छैन । लकडाउनअघि दैनिक हजार–बाह्र सयसम्म कमाइ गर्ने गरेको उनीले सुनाए । हिजो–आज उनी मुस्किलले ढाई–तीन सय रूपैयाँ कमाउँछन् ।

उनकै छिमेकी ५७ वर्षीय बुद्धे सार्की पनि मंगलगढीमै बसेर जुत्ता चप्पल सिलाउँछन् । यी दुवैको बाध्यता र पारिवारीक अवस्था समान छ । ‘नौ जनाको परिवार छ । कमाउने म एउटा,’ भन्छन्, ‘घर खर्च टार्न नगरी नहुने ।’

सडक छेउमा बसेर काम गर्नु यसै पनि जोखिम छ । दुर्घटनादेखि विभिन्न रोगको संक्रमण हुने जोखिम उत्तिकै रहन्छ । गंगाराम, टीकाराम र बुद्धे सार्की केही प्रतिनिधि पात्र मात्रै हुन् । सडक छेउमा सीपमूलक व्यवसायदेखि डोकोमा व्यापार गरेर गुजारा चलाउनेहरूको संख्या थुप्रै छ । यीनलाई न सरकारले दिने सामाजिक सुरक्षा भत्ताले पुग्छ न त राहत स्वरूप पाइने पाँच केजी चामलले नै ।

वीरेन्द्रनगर–४ की ६० वर्षीय जगमति उपाध्याय सडकमै डोकोमा बोकेर व्यापार गर्छिन् । सिजनका फलफूलको व्यापार गर्न एकाबिहानै निस्कने उनी रात परेपछि मात्रै घर पुग्छिन् । डोको रित्तिए मन हलुङ्गो हुन्छ । नत्र घर फर्किदा भरी डोकोजस्तै मन पनि भारी हुन्छ ।

कोरोना संक्रमण समुदायमा फैलिएपछि ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू अझ बढी जोखिममा छन् । भिडभाडमा जानु हुँदैन भन्ने उनले पनि बुझेकी छन् । ‘हाम्रा उमेरकालाई घरमै बस्नु पर्छ भन्छन् । हाम्रो पेन्सन नआउने । जग्गा नाईं  । जमिन नाईं । घरमै बसेर के खाउँ,’ उनले जोखिम मोलेर व्यापार गर्नुको बाध्यता सुनाइन् ।

प्रकाशित मितिः   २३ आश्विन २०७७, शुक्रबार ०८:१६