अहिलेसम्मकै उच्च संक्रमित
बुधवार देशभर थप तीन हजार चार सय ३९ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ९४ हजार दुई सय ५३ जना पुगेको जनाए ।
मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार सात जना रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । देशभर पीसीआर विधिबाट ११ लाख १३ हजार चार सय ८६ परीक्षणहरू गरिएका छन् । हालसम्म कोरोना संक्रमण पुष्टि भएका पाँच सय ७८ जनाको मृत्यु भएको छ ।
यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । प्रदेशमा बुधवार थप ६९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या चार हजार नाघेको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार ३७ पुगेको छ ।
महाशाखाका प्रमुख वृषबहादुर शाहीले सुर्खेतमा ५४ जना, दैलेखमा पाँच, डोल्पामा दुई, रुकुुम–पश्चिम र दैलेखका एक÷एक जना र कर्णालीमै रहेका अन्य प्रदेशका ६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै बुधवार प्रदेशभर ४४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । योसँगै प्रदेशमा संक्रमणमुुक्त हुनेको संख्या तीन हजार दुई सय २९ जना पुगेको छ । बुधवारसम्म प्रदेशमा आठ सय आठ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणका कारण हालसम्म १० जनाको मृत्यु भएको छ ।
पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण बढ्दो छ । विशेष गरेर वृद्धवृद्धा र दीर्घ रोग भएका व्यक्तिहरू उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् । कर्णालीमा गएको जेठ पाँच गते भारतबाट आएका दैलेखका एक जना युवकमा कोरोना संक्रमण देखिएको थियो । लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको हो ।
यसैबीच प्रदेश आयुर्वेद औषधालयले कोरोना संक्रमित व्यक्तिहरूलाई औषधि वितरण गरेको छ । बुधवार औषधालयले वीरेन्द्रनगरस्थित अशोका होटलको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई औषधि उपलब्ध गराएको हो । आइसोलेसनमा रहेका २५ जना संक्रमितलाई आयुर्वेद औषधि वितरण गरिएको औषधालयले जनाएको छ ।
संक्रमितहरूलाई औषधि वितरणसँगै जीवनशैली परिवर्तन सम्बन्धी योग, ध्यान र स्वास्थ्य सुरक्षा सावधानीबारे जानकारी दिएको औषधालयका प्रमुुख डा. शंकरप्रसाद रिजालले बताए । कोरोनाका कारण पछिल्लो समय आयुर्वेद औषधीका प्रयोगकर्ता बढेको उनले बताए । उक्त कार्यक्रममा कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा सरोकारवालाबीच छलफलसमेत गरिएको थियो ।
प्रकाशित मितिः २२ आश्विन २०७७, बिहीबार ०७:१८
साझा बिसौनी ।