संकटमा उद्योग
कोरोना कहरले औद्योगिक क्षेत्र संकेटमा परेको छ । सानादेखि ठूला उद्योगहरू समस्याले ग्रस्त छन् । कर्णाली उद्योगमा साना तथा घरेलु उद्योगहरूको संख्या धेरै छ । तिनै साना उद्योग यहाँको अर्थतन्त्रको महŒवपूर्ण हिस्सा हुन् । स्रोत हुन् । आम्दानी र रोजागरीका अवसर हुन् । सानो पूँजी लगानी गरेर ठूलो संख्यामा नागरिक स्वरोजगार बनेका छन् । सानै उद्योगमा पनि कयौंले रोजगारी पाएका छन् । तर कोरोनाको महामारी फैलिएसँगै उद्योग पनि संकटमा पर्दै गए । लामो समयको लकडाउनले व्यवसाय नै ठप्प भयो । पछिल्लो समय सञ्चालनमा आएका छन् तर थप चुनौतीका चाङ लागेका छन् ।
कर्णालीका साना तथा घरेलु उद्योगले झेलिरहेको सबैभन्दा ठूलो समस्या कच्चा पदार्थ र जनशक्तिको अभाव हो । कोरोना महामारीका कारण सबै क्षेत्र उत्तिकै प्रभावित बनेको हो । मानिसहरूको आवागमन पातलो हुँदा व्यापार–व्यवसायमा झनै गिरावट आएको छ । गएको चैत महिनादेखि देशभर लकडाउन भयो । उद्योग कलकारखाना बन्द रहे । बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो प्रभाव प¥यो । उद्योग कारखाना बन्द हुँदा धेरैको रोजगारीसमेत गुमेको छ । लकडाउन असारदेखि खुलेपनि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न भनेको छ । तर, यी क्षेत्रलाई पहिलेकै अवस्थामा आउन भने हम्मे–हम्मे परिहरेको छ । लकडाउनपछि कुनै पनि उद्योग व्यवसाय फस्टाउन सकेको छैन । बाहिरबाट सहजरूपमा सामान आउने अवस्था छैन । उद्योग व्यवसाय खुलेपनि व्यवसायीहरू घाटाको व्यापार गर्न बाध्य छन् । व्यापार नै राम्रोसँग भएको छैन । कच्चा पदार्थको अभाव उस्तै छ । उत्पादित सामग्री बिक्री नभएपछि कामदार पनि घटाउनुको विकल्प रहेन । यहाँका सबैजसो उद्योगले यस्तै समस्यासँग जुधिरहेका छन् । माग घटेको छ । उत्पादन घटेको छ । कर्मचारी कटौती भयो । आवश्यक कच्चा पदार्थ पाउनै मुस्किल छ । यो यावत समस्याकाबीच उद्योग कसरी टिकाउने उद्योगी चिन्ताग्रस्त छन् ।
कर्णालीमा ठूलो लगानीका उद्योग छैनन् । औद्योगिक विकासमा पछि परेको प्रदेश हो, यो । विकासका अन्य पूर्वाधारहरू नै निर्माण नभएपछि औद्योगिक विकास हुने कुरा पनि भएन । जसको मारमा प्रदेश विगतदेखि प¥यो । भएका साना तथा घरेलु उद्योगसमेत धराशायी बन्दै गएपछि त्यहाँ कार्यरत मजदुरहरूको रोजगारी मात्रै गुमेको छैन उद्योगीहरूसमेत पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । सञ्चालनका रहेका उद्योगले पनि राम्रोसँग उत्पादन र व्यापार गर्न सकेका छैनन् । अधिकांश उद्योग जनशक्ति, कच्चापदार्थ र बजारको समस्याले ग्रस्त छन् । झण्डै सात महिनायता अधिकांश व्यापार–व्यवसाय घाटामा चलिरहेका छन् । उद्योग केवल निजी क्षेत्र वा लगानीकर्ता उद्योगको मात्रै सरोकारको विषय होइन । यो राष्ट्रकै अर्थतन्त्रसँग जोडिएको सवाल हो । त्यसैले राज्यपनि गम्भीर हुनु जरुरी छ । सरकारले संकटमा रहेका साना तथा घरेलु उद्योगहरूलाई उकास्न विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
प्रकाशित मितिः २२ आश्विन २०७७, बिहीबार ०७:१९
साझा बिसौनी ।