भयावह भविष्य

पछिल्लो केही महिनायताको यो समयलाई भविष्यमा सम्झदा धेरैले ‘कोरोना काल’का रूपमा सम्झनेछन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीले यो समय आक्रान्त छ । विश्वभर यसको त्रास फैलिएको छ । केही मात्रामा नियन्त्रण भए पनि निमूल भएको छैन । संक्रमण फैलिइरहेकै छ । नेपालमा कोरोना कहरको रूप भयावह अवस्थामै छ । कर्णाली प्रदेश पनि जोखिम मुक्त हुन सकिरहेको छैन । नयाँ संक्रमितको संख्या थपिदै जाँदा यो कहर कहिलेसम्म कायम रहने हो त्यसको निश्चित छैन । अन्योल र अप्ठ्यारो अवस्थासँग आम नागरिक जुधिरहेका छन् । सिङ्गो समाज र राष्ट्र जुधिरहेको छ । विश्व विज्ञान नै यो महामारीविरुद्ध एकजुट भएर लागि रहेको छ । यद्यपि संकट समाधानउन्मुख छैन । चुनौती घटेको छैन । जोखिमकैबीच दैनिक जीवनयापन अघि बढाउनु पर्ने बाध्यात्मक परिस्थिति हाम्रासामू छ । जोखिम नियन्त्रण नै गर्न सक्ने अवस्थामा नपुगेपनि यसलाई रोकथाम गर्न भने सकिन्छ । अहिलेको र अबको ध्यान त्यसतर्फ हुन जरुरी छ ।

कर्णाली प्रदेशमा ढिलो गरेर कोरोना संक्रमण भित्रियो । जब भित्रियो त्यसपछि भने तीव्र गतिमा फैलियो । गाउँ–गाउँसम्म पुग्यो । समुदायमा छ्यापछ्याप्ती भयो । आम नागरिकदेखि विभिन्न पेसा र व्यवसायमा रहेका व्यक्तिहरू पनि संक्रमित भए । मृत्यु हुने क्रम पनि रोकिएको छैन । यही जोखिम नियन्त्रणका लागि सुरुवातमा लकडाउन गरियो । लामो समयको लकडाउनले सबै क्षेत्र प्रभावित बने । आर्थिक नोक्सानीको कुनै हिसाब छैन । तर लकडाउनले मात्रै रोकथाम र नियन्त्रण गर्न सम्भव नहुने देखिएपछि त्यसलाई खुकुलो बनाउँदै अन्ततः खुलाइयो । तर खुला अवस्थामा अपनाउनुपर्ने सावधानितर्फ भने गम्भीरता देखिएको छैन । जसले जोखिम बढाएको छ । संक्रमितको संख्या पनि बढिरहेकै छ । प्रदेशमा हालसम्म करिब चार हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । नौ जनाको मृत्यु पनि भयो । हुन त संक्रमितहरू कोरोनामुक्त हुने दर पनि बढ्दो छ । तर पछिल्लो समय लक्षणसहितको संक्रमित बढेपछि थप त्रास फैलिएको छ ।

प्रदेशमा अहिले रहेका संक्रमितमध्ये झण्डै २० प्रतिशत गम्भीर बिरामी छन् । उनीहरू कडा लक्षणसहितका संक्रमित हुन् । समुदायस्तरमा व्यापक रूपमा फैलिसकेको कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला यसबाट बच्न आवश्यक सावधानीमा भने बेवास्ता गरिएको छ । सुरुवाती चरणमा सरकारी निकायबाट नियन्त्रणमा तदारूकता देखाए पनि पछिल्लो समय आवश्यक सावधानी तथा कडाइ गर्न छोडिएको छ । जसका कारण संक्रमणले भयावह स्थिति निम्तिन सक्ने देखिएको हो । कर्णालीमा यहीँ गतिमा संक्रमण र मृत्युदर समेत बढ्ने हो भने भयावह स्थिति आउन सक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । अब ठूला चार्डपर्व नजिकै आएका छन् । यो समयमा भिडभाड अझ बढ्छ । भिड नै संक्रमण फैलिने जोखिमपूर्ण अवस्था हो । यसलाई नियन्त्रण गर्नु अपरिहार्य छ । नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन सचेत गराउनु अनिवार्य छ । नत्र झन जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २१ आश्विन २०७७, बुधबार १०:०९