चुनावअघि, चुनावपछि –दुई

आफ्नै प्रतिबद्धता कार्यान्वयनमा असफल

आज हामी ‘चुनावअघि, चुनावपछि’ स्तम्भको दोस्रो श्रृंखला लिएर आएका छौं । वि.सं. २०७४ साल वैशाख ३१ गते कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन वर्ष बित्यो । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र अनुसार के काम गरे, कति पूरा हुन बाँकी छन् र किन हुन सकेनन् भन्ने प्रश्नहरूको सेरोफेरोमा रहेर हामीले यो श्रृंखलामा तयार गरिरहेका छौं ।

आजको अङ्कमा सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको चुनावी प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्था विश्लेषण गर्दैछौं । यसका साथै उनका प्रतिबद्धता निर्वाचनपछिका नीति तथा कार्यक्रम र बजेटमा कत्तिको समेटिए भन्ने कुरा पनि यहाँ उल्लेख गरेका छौं भने सोही विषयमा केन्द्रीत भएर अध्यक्ष शाहीसँगको कुराकानी पनि प्रस्तुत गरिएको छ ।

  •  प्रमुख प्रतिबद्धताहरू

१. सुकुम्वासी, भूमिहीनलाई जग्गा दर्ता तथा लालपुर्जा वितरण

चौकुने गाउँपालिका अन्तर्गत साविकका पाँच वटा गाविसका सबै भूमिहीन, गरिब, सुकुमबासी तथा जग्गा दर्ता नभएका किसानहरूका लागि एक वर्षभित्र सुकुमबासी तथा अव्यवस्थित भूमि आयोग गठन गरेर जग्गा दर्ता गराइ सबै किसानहरूलाई ‘जनताको जग्गा जनतालाई वा जसको जोत उसैको पोत’ भन्ने अभियान अन्तर्गत अनिवार्य स्थानीय कानुन बनाएर लालपुर्जा वितरण गरिने छ ।

२. अस्पताल निर्माण

सबैलाई पायक पर्ने साविकको बिजौरा गाविसमा २५ शैयाको पालिकास्तरीय अस्पताल स्थापना गरिने छ । आवश्यक जग्गा र पूर्वाधार निर्माणका लागि स्थानीय सरकारबाट अनुदानको व्यवस्था मिलाइने छ ।

३. डेरी सञ्चालन

बिजौरा, घाटगाउँ, वेतान र लगाममा साना डेरी तथा गुटुमा ठूलो प्रकारको आधुनिक डेरी सञ्चालन व्यवस्थापन गरिने छ । प्रत्येक गाउँमा उन्नत, डाले घाँस खेती गर्नका लागि किसानलाई प्रोत्साहित गरिने छ । यसबाट ५० जना (१० कक्षा कम पढेका ३० जना) र प्राविधिक शिक्षा कृषि, पशुपालन जस्ता विषय पढेका २० जना)लाई यस कार्यमा रोजगारी सिर्जना गरिने छ । यसबाट बिहान चिया पसल र साँझ मादक पदार्थ पिएर खेर जाने समयको बचत गरिने छ ।

४. लघु जलविद्युत आयोजनाहरू

साविकको गुटु गाविसमा गुटु खोला, बिजौराको ७ र २ नम्बरमा घोग्रेखोला, ३ मा बेतखोली, बेतान गाविसका दह र हात्तिखवा जलविद्युत आयोजनाहरू समेत तीन वर्षभित्र सम्पन्न गरि समुदायमा हस्तान्तण गरिने छ । साविकको बेतानको ३, लगामको धनराश, गुटुको सल्टाकुरामा वायु उर्जाको लागि अध्ययन थालनी गरि योजना निर्माण गरिने छ ।

५. पक्की पुल निर्माणका लागि पहल

सुर्खेत–कैलाली अन्तर्गत घाटगाउँ, घाटगाउँ–तातापानी जोड्ने, लगामको बोला, दानी गौडा, तालागाउँ डोटीको सीमाना, बिजौरा भुडेभावर, बेतानको गोब्रा सुर्खेत–अछामको जंगलाघाट, कोल्लीमरो सीमानामा चार वर्षभित्र डिजाइन, सर्वे गराइ केन्द्रिय तथा स्थानीय सरकारबाट योजना बनाइ पक्की पुल निर्माणको कार्य थालनी गराइने छ ।

६. शित भण्डार निर्माण

साविकका गाविसमा चाँडो विद्युत उत्पादन गर्न सकियो भने (बेतान, विजौर र गुटु) मा सोही गाविसमा शीतभण्डार स्थापना गरि तरकारी भण्डारणको कार्य पाँच वर्षभित्र गरिनेछ ।

७. सभाहल निर्माण

गाउँ पालिकामा एक हजार व्यक्ति अट्ने क्षमताको अत्याधुनिक सभा हल पहिलो वर्षबाट थालनी गरी सञ्चालनमा ल्याइने छ । यसका लागि बहुवर्षे योजना निर्माण गरिने छ ।

८. दमकल खरिद

गाउँपालिकाले आफ्नै दमकल पाँच वर्षभित्र खरिद गरिने छ ।

९. विद्यार्थीहरू ल्यापटप वितरण

पाँच वर्षभित्र चौकुने गाउँपालिका भित्रका कक्षा ८ देखि १२ कक्षाका सबै विद्यार्थीलाई हातहातमा ल्यापटप वितरण गरिने छ । यसका लागि विभिन्न दातृ निकाय, सरकारी अनुदान तथा स्थानीय सरकारको शिक्षा नीति बनाइ यो कार्यक्रम लागू गरिने छ । यसका लागि स्रोतकेन्द्र मार्फत योजना निर्माणका लागि परामर्श लिइने छ ।

१०. मेट्रो रेल सेवा

पाँच वर्षभित्र चौकुने गाउँपालिकाभित्र मेट्रो रेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी पूर्वाधार निर्माणका लागि वातावरण सिर्जना गरिने छ ।

११. पार्क/बगैंचा निर्माण

दुई वर्षभित्र प्रत्येक वडामा उचित स्थानमा एक सार्वजनिक पार्क तथा बगैंचा निर्माण गरिने छ । यसको रेखदेख समुदायका समूह, संस्थाले गर्ने व्यवस्था गरिने छ । यसबाट हरित चौकुनेको सपना साकारका लागि योगदान मिल्ने छ । यसका लागि गैससहरूलाई अनुदानको व्यवस्था मिलाइने छ ।

१२. रोजगार कार्यदल सेवा गठन

विद्यालय, कलेज तथा उद्योग–कलकारखाना तथा निजी स्तरमा आफ्नै फर्म तथा कम्पनी व्यापार सञ्चालन नगरी बसेका सबै १८ देखि ४५ वर्षका नागरिकलाई विकास दल गठन गरि ‘एक व्यक्ति एक रोजगार’ भन्ने अभियानका साथ पाँच वर्षभित्र गाउँपालिकाबाट सबैलाई विदेशिने कार्यलाई रोक्ने र स्वरोजार कार्य सिर्जना गरी सबै १० कक्षा कम पढेका वेरोजगार युवादेखि ४५ वर्ष मुनिका सबै महिला–पुरुषले गाउँपालिकाभित्र हुने हरेका विकास निर्माणको कार्य गर्नका लागि रोजगार पेन्सन कार्य लागू गरि उनीहरू सबैलाई दैनिक पाँच घण्टा कार्य गर्ने गरि नियुक्ति गरिने छ भने करिव १० हजार बेरोजगारहरूलाई सडक, कुलो, सामुदायिक भवन निर्माण, फर्निचर उद्योग, कुखुरा पालन, कृषि, पशुपालन फर्म, भेरी र कर्णाली नदिमा माछा पालन, लद्यु–उद्यम, सरकारी सुपथ मूल्य पसल, विद्यालयमा स्वयम्सेवक कार्य, लद्यु उर्जा, विद्युतिकरण जस्ता कार्यमा दैनिक परिचालय गरिने छ । १० वर्षसम्म कार्य गर्ने हरेकलाई पेन्सनको व्यवस्था गरिने छ । यसका लागि विकास दल गठन गरि राजनीति रूपमा विभेद नगरि नियुक्ति गरिने छ ।

१३. पुस्तकालय

हरेक विद्यालयमा अनिवार्य दुई वर्षभित्र पुस्तकालयको व्यवस्थापन अनुदान दिइने छ भने नमुनाको रूपमा सोलार बत्तिबाट उच्च मावि सञ्चालन भएका स्थानमा इ–लाइब्रेरीको समेत व्यवस्था गरिने छ ।

१४. गरिब परिवारका रासनकार्ड

एक वर्षभित्र चौकुने गाउँपालिकामा गरिब परिचय–पत्र लागू गरिने छ । विपन्नहरूलार्ई मध्यनजर राखेर हरेक वडामा सरकारी सुपथ मूल्य पसल स्थापना गरि उनीहरूलाई अनुदान मार्फत न्यूनतम मूल्यमा दैनिक उपभोगका वस्तु उपलब्ध गरिने छ । राशन कार्ड लागू गरिने छ । यसबाट गरिव परिवारलाई योगदान मिल्ने छ ।

 

  • नीति–कार्यक्रममा समेटिएका प्रतिबद्धताः

निर्वाचित जनप्रतिनिधीको संलग्नतामा चौकुने गाउपालिकाले आर्थिक वर्ष २०७४/७५को नीति तथा कार्यक्रम र बजेट ल्यायो । उक्त नीति तथा कार्यक्रममा सुकुमबासी तथा भूमिहीनलाई जग्गा दर्ता तथा लालपुर्जा वितरणको विषय उल्लेख गरिएको छ । त्यसपछि गाउँपालिकाकाले ल्याएका तीन वटा नीति तथा कार्यक्रममा पनि चौकुनेका अधिकांश जनताले उपभोग गर्दै आएको भूमि अस्थायी प्रकृतिका भएकाले त्यसलाई स्थायी गरी करको दायरामा ल्याउन संघीय र प्रदेश सरकारसँग पहल गर्ने भनिएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूमिहीनलाई जग्गा दिन संघ र प्रदेश सरकारसँग पहल गर्ने भनिमात्र उल्लेख भएको छ । जसको लागि बजेट पछिल्ला तीनवटै आर्थिक वर्षको कार्यक्रममा समावेश छ । साविकको बिजौरा गाविसमा २५ शैयाको पालिका स्तरीय अस्पताल स्थापना गर्ने विषयमा आर्थिक वर्ष २०७७÷७८को नीति तथा कार्यक्रममा ‘चौकुनेको विजौरामा अस्पताल निर्माण गर्नका लागि अस्पताल स्थापना पूर्व तयारी समिति गठन गरिएको तथा यस वर्ष अस्पताल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी भवन निर्माण तथा सेवा सञ्चालनका लागि काम अगाडि बढाइने’ भनेर उल्लेख छ ।

चुनावी प्रतिबद्धतामा धेरै स्थानमा विद्युत उत्पादनको कुरा राखिएको भए पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेटमा लघु जलविद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरूमा सोलार प्रविधि जडान गरी भेरी र कर्णाली नदिको बीचमा रहेको यस गाउँपालिकामा सिँचाई र खानेपानी सेवा विस्तार गरिने उल्लेख छ । साथै वडा नं. ३ को दहताल लघु जलविधुत आयोजना र वडा नं. १ कोकाप्रापानी लघुजलविद्यतु आयोजना आगामी आ.व.मा सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटमा लेखिएको छ । गाउँपालिकाका विभिन्न स्थानमा पक्की पुल निर्माणका लागि पहल गर्ने कुरा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

  • कार्यक्रम र बजेटमा नसमेटिएका प्रतिबद्धता

गाउँपालिकामा डेरी सञ्चालनको कुरा कुनै बजेट, नीति तथा कार्यक्रममा आएको छैन । बेतान, बिजौरा र गुटुमा शीतभण्डार स्थापना गरि तरकारी भण्डारणको कार्य गरिने कुरा गाउँपालिकाको तिन वटै आर्थिक वर्षको बजेटमा समावेश छैन । प्रतिबद्धतामा गाउँपालिकाले आफ्नै दमकल पाँच वर्षभित्र खरिद गर्ने भनिए पनि बजेटमा उल्लेख छैन । कक्षा ८ देखि १२ सम्मका सबै विद्यार्थीहरू ल्यापटप वितरण कार्यक्रम बजेटमा समावेश छैन । पाँच वर्षभित्र चौकुने गाउँ पालिकाभित्र मेट्रो रेल सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी पूर्वाधार निर्माणका लागि वातावरण सिर्जना गरिन कुरामा अहिलेसम्म गाउँपालिकाले बजेट विनियोजन गरेको देखिदैन । प्रतिबद्धतामा दुई वर्षभित्र प्रत्येक वडामा उचित स्थानमा एक सार्वजनिक पार्क तथा बगैंचा निर्माण गरिने भनिए पनि त्यसका लागि अहिलेसम्म विनियोजन भएको छैन । रोजगार कार्यदल सेवा गठन गर्ने कुरा चुनावमा उठाइए पनि नीति तथा कार्यक्रम र बजेटमा यसबारे केही उल्लेख छैन । हरेक विद्यालयमा अनिवार्य दुई वर्षभित्र पुस्तकालयको व्यवस्थापन अनुदान दिइने कुराको लागि बजेट विनियोजन नै भएको छैन ।
(साझा बिसौनी दैनिक र तन्नेरी चासो सुर्खेतको सहकार्यमा)

‘बजेटको सीमितता नै विकासको बाधक’

धीरबहादुर शाही (अध्यक्ष, चौकुने गाउँपालिका)

१. भूमिहीनका समस्या समाधान गर्न पहल गर्ने कुरा पनि भयो । ब्लकमा रहेका जग्गाहरूको पुर्जा वितरण गरिसक्यौं । भूमिसुधार आयोग पालिकाको अध्यक्षको संयोजकत्वमा गठन गर्ने भनि माथिबाट कानुन पनि बनिसकेको छ । दशैंतिहारपछि कार्यान्वयन हुन्छ । जिल्लामा भूमिसुधार कार्यालय सक्रिय हुने वित्तिकै यो कार्यान्वयन हुन्छ ।

चौकुनेमा जति आवादी जमिन छ त्यसको ८० प्रतिशत जमिन त्यस्तै केही न केही समस्या भएको जमिन छ, पुर्जा छैन । यहाँका नागरिकलाई पुर्जा वितरण गर्न व्यापक ढङ्गले लागिपरेका छौं । यसभन्दा अगाडि पनि जति गाँउ ब्लक थिए, त्यसको पुर्जा गाँउघरमै गएर वितरण पनि गरिसकेका छौं ।
२. १५ शैयाकाको अस्पताल पास भइसकेको छ । यसको लागि रू. १६ करोड रूपैयाँ पनि आइसकेको छ । यसको डीपीआर गरेर हामीले माथि पेश ग¥यौं र त्यो अब अगाडी बढ्छ । भवनको लागि टेण्डर पनि गर्दैछौं । संघीय सरकारसँग समन्वय गरिरहेका छौं । त्यसको काम यसवर्षबाट अगाडि बढ्छ ।

३. ठूलो खालको डेरी हामिले अहिले गुटुमा स्थापना गरेका छौं । ग्रामिण भेगमा स्थापना गर्न सकेका छैनौ । त्यहाँ बृहत मात्रामा दुध उत्पादन हुन सकेको छैन । हामीले दुधको मात्रा बढाउनेबारे सोचिरहेका छौं, किसानसँग अनुरोध पनि गरिसकेका छौं ।

४. बेतखोली लघु जलविद्युत आयोजना हामीले सम्पन्न गरी बत्ति बालिसकेका छौं । बीचमा बाढिले यसमा केही क्षति पु¥याएको थियो, यसको मर्मत सम्भार गरेर पुन सञ्चालन हुन्छ । लगाममा लघु जलविद्युत आयोजनाबाट बत्ति बलिराखेको छ । घोके्रखोला, टुनीखोला, रेवतीखोला आदि खोला आदिको लागि वैकल्पिक उर्जासमक्ष हामीले पेश गरेर त्यहाँबाट पास भइसकेको छ । गत साल टेण्डर गर्नु पर्नेमा लकडाउनको कारण देखाउर वैकल्पिक उर्जाले टेण्डर गरेको छैन् । यो साल करिब १५ वटा लघु जलविद्युत आयोजना विभिन्न संस्थासँगको सहकार्यमा अगाडि बढाउँदैछौं ।

५. पक्की पुलका लागि माथिल्लो तहको सरकारसँग समन्वय गर्ने हो हाम्रो क्षमताले पुग्दैन । घाटगाउँको पुलको लागि कर्णाली प्रदेश सरकारले टेण्डर गरिसकेको छ । कोकोलीखोलाको प्रदेश सरकारले डीपीआर गरेको छ । संघीय सरकारले जंगलाघाटको पुल, बेनिघाटको लागि वजेट हाल्छ र टेन्डर गर्छ तर टेन्डर हाल्न कोही जाँदैनन् त्यहाँ । भेरीमा पनि पुल आधाआधि बनिसक्यो । कर्णालीमा पनि पक्कि पुल आधाआधि पुल बनिसक्याछ ।

६. प्रदेश सरकारको नमुना सहकारी गाउँ कार्यक्रम अन्तर्गत हामीले गुटुमा ठूलो तरकारी संकलन केन्द्र निर्माण गरिरहेका छौं । त्यहीँभित्र कोल्ड स्टोर राख्न बजेटको माग प्रदेश र संघ सरकारसँग गरेका छौं । यसको लागि डीपीआर निर्माण गरिसकेका छौं । हामीलाई विद्युतको समस्या भएको कारणले कोल्ड स्टोर स्थापनामा पनि समस्या छ । एक सय किलोवाट सोलार बत्ति स्थापना गरेका छौं । यसको माग ह्वात्तै बढेको छ, फेरि ५० किलोवाट थप्न मैले वैकल्पिक उर्जासँग पहल गरिराखेको छु , त्यहाँकाट ग्रिन सिग्नल पाएको छु ।

७. एक हजार बढी नागरिक अट्ने सभाहल निर्माण भइसकेको छ । अहिले हाम्रो गाँउपालिकाको कार्यालय निर्माणको क्रममा रहेको हुनाले हामीले गाँउपालिकाको कार्यालय नै त्यहि हलमा राखेका छौं । गाँउपालिकाको भवन सम्पन्न हुनासाथ कार्यालय उता सर्छ र हल पूर्ण रूपमा सञ्चालनमा आउँछ । हलमा कुर्सीसहित आठ सय मानिस अट्ने र कुर्सीबाहेक एक हजार तीन सय मानिस अट्न सक्छन् ।

८. दमकल खरिद गर्ने भनेर हामीले घोषणा–पत्रमा त राख्यौं तर अहिले के देखियो भने दमकलको तत्काल जरूरी रहेको छैन । घना वस्ती भए, अति सहरीकरण भएको भए आगलागीको जोखिम अत्यधिक भएको भए दमकल खरिद नगरि नहुने थियो तर अहिले दमकलको त्यति आवश्यकता नदेखिएको हुनाले हामीले दमकललाई प्राथमिकता दिएका छैनौं ।

९. विद्यार्थीलाई ल्यापट वितरण गर्ने प्रतिबद्धता त हामीले चुनावभन्दा अगाडी ग¥यौं तर त्यो अहिले सम्भव भएन । यहाँ विद्युतको समस्या बढी भयो । आर्थिक विषय पनि महŒवपुर्ण रह्यो । यसको साटो हामीले बरु प्रत्येक विद्यालयमा आइसीटी सुुरु गरौं भनेर चौकुनेका सबै माध्यमिक विद्यालयहरूमा १५/२० कम्युटरहरू संघीय सरकारसँग सहयोगमा वितरण ग¥यौं र कम्युटर सिकाउने काम पनि अगाडि बढाइरहेका छौं । सबै माविमा डेक्सटप कम्युटरबाट सबै विद्यार्थीले सिक्न पाएका छन् ।

१०. चुनावभन्दा अगाडिको घोषणा–पत्रमा हामीले मेट्रो रेलका लागि सम्भाव्यता अध्ययन गर्ने भनेका थियौं तर त्यो केही पनि काम भएको छैन । नेपालमै रेल आउन पनि मुस्किल छ, तर यहीँ चौकुनेमा पाँच वर्षभित्र यो सम्भव हुने कुरा भएन । तर पूर्वाधार विकासको लागि एउटा रूपरेखा तयार भएको छ । सबैतिर सडक लगेर भविष्यमा मेट्रोरेलको अवधारणा सम्भाव्यता अध्ययनको कडि निर्माण भएको छ । हाम्रो चौकुने गाँउपालिकामा बनेको रिङ्रोडलाई नै पछि रेल मार्गको रूपमा विकास गर्नुपर्छ भनेर हामीले वहस गरिरहेका छौं । त्यतिखेर घोषणा–पत्रमा सबै साथीहरूको सल्लाह लिँदा मेट्रो रेलको कुरा राखि हालियो तर यो पाँच वर्षमा नै यो काम गर्छु भन्नु चाहीँ अल्ली अतिशयोक्ती नै भयो भन्ने मलाइ लाग्छ ।

११. हामीले दुई वर्षभित्र हरेक वडामा पार्क निर्माण गर्ने प्रतिबद्धता गरेका थियौं । हामीले घाटगाउँमा पुष्पलाल पार्क, वडा नं. १ मा पुष्पलाल पार्क बनाएका छौं । गुटुमा सभाहल नजिकै नमुना पार्क निर्माणको लागि डीपीआर गरेका छौं । प्रत्येक वडामा त निर्माण भइसकेको छैन । हामीले घोषणा–पत्रमा लेखे अनुसार नै सुरु गरेका छौं । अझ हाम्रो कतिपय ठाँउ त यस्ता छन् कि प्राकृतिक रूपमा ती स्थानहरू उद्यान हुन्, यसलाई केही निर्माण गर्नै पर्दैन्, पार्क भनेर घोषणा गरिदिए हुन्छ ।

१२. हामीले रोजगार सेवा कार्यदल गठन र पेन्सन लागू गर्ने भनेर घोषणा–पत्रमा ल्यायौं, तर यो प्रक्रिया बुझ्दाबुुझ्दै संघले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेशले मुख्यमन्त्री रोजगार कार्यक्रम ल्यायो । हामीले पनि गाँउपालिकामा उहि प्रकृतिको कार्यक्रम गर्न खोजिराख्थ्यौं, तर संघ र प्रदेशबाट नै कार्यक्रम आएपछि हामीलाई सजिलो भयो । हाम्रो गाँउपालिकामा भने यी दुवै कार्यक्रमको लागि श्रमको लागि त्यताबाट पैसा आउँछ, सामग्रीको लागि हामीले पैसा तिरिराखेका छौं । यी दुई कार्यक्रममा चौकुने गाँउपालिकामा गरेको काम नमुना भनेर समाचार पनि आएको छ ।

१४. हरेक विद्यालयमा पुस्तकालय स्थापना गर्ने कामलाई व्यापक रूपमा अगाडि लगेका छौं । यसको थुप्रै कामहरू हामीले गरिसकेकाछौं र अहिले पनि हामीले गरिरहेका छौं ।

१५. हामीले एक वर्षभित्र चौकुने गाँउपालिकामा गरिब परिचय–पत्र वितरणको काम गर्ने प्रतिबद्धता गरेका थियौं । अहिले यो काम तिव्र रूपमा अगाडि बढेको छ । यो कार्यक्रम संघीय सरकारबाट अगाडि बढिरहेको छ र हामीले पालिकास्तरबाट काम गरिरहेका छौं । कतिपय कुराहरू घोषणा–पत्रमा छुटेका छन् । कतिपय कामहरू घोषणा–पत्रमा अलि बढी पनि थिए । हामीले घोषणा–पत्रमा उल्लेख गरेका अधिकांश कामहरू गरेका छौं । त्यसमा ध्यान दिएका छौं । हाम्रो बजेटको आकारलाई हेर्दा हाम्रा घोषणा–पत्रका कामहरू गर्न गाह्रो पर्ने रहेछ । बजेटको सिमितता नै हाम्रो विकासको बाधक हो । सिमित बजेटबाट पनि हामीले घोषणा–पत्रका प्रायजसो कामहरू गरेका छौं ।

प्रकाशित मितिः   २१ आश्विन २०७७, बुधबार १०:२६