काम बहिष्कार गरेर अदालतमा धर्ना

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ चैत ।
पुनरावेदन अदालत सुर्खेत र जिल्ला अदालत सुर्खेतका कर्मचारीहरूले आइतवार काम बहिष्कार गरी अदालतमा धर्ना दिएका छन् । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उनीहरूले दुवै अदालतमा धर्ना दिएका हुन् ।
कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता नदिने सरकारको निर्णयको विरोध स्वरूप चरणवद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर धर्ना बसेका थिए । कटौती गरिएको भत्ता दिनुपर्ने माग गर्दै न्यायालयका कर्मचारीहरूले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । यसअघि हातमा कालोपट्टी बाँधेर विरोध जनाइए पनि त्यसको सुनुवाइ नभएको भन्दै उनीहरूले धर्नाको कार्यक्रम अघि सारेका हुन् । 
कार्यान्वयनमा रहेको न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाले समेत सम्बोधन गरिसकेको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तालाई अस्वीकृत गरिनु आफूहरूमाथिको अन्याय भएको कर्मचारीहरूले बताएका छन् । नेपाल न्यायपालिका कर्मचारी सरोकार समितिका पूर्वकेन्द्रीय सदस्य लक्ष्मीप्रसाद भण्डारीका अनुसार चैत १२ गतेसम्म हरेक दिनदिनको १ बजेसम्म काम बहिस्कार गर्ने कार्यक्रम रहेको छ । यति गर्दा पनि माग पूरा नभएमा चैत १४ गतेदेखि सम्पूर्ण काम अनिश्चितकालका लागि बहिस्कार गरिने उनले जनाए । 
पेसागत सङ्गठनहरूले आन्दोलनको आव्हान गरे बमोजिम सुर्खेतमा पनि गरिने जनाइएको छ । अदालतको काम कारबाही विशिष्टीकृत रूपको भइरहेको र न्यायपालिका जस्तो सम्बेदनशील निकायमा काम गर्ने जनशक्तिलाई हतोत्साहित हुने गरी गरिएको निर्णयलाई अविलम्व फिर्ता लिनुपर्ने भण्डारीले बताए ।
प्रकाशित मितिः   ८ चैत्र २०७२, सोमबार ०३:४३