पाठ्यपुस्तकले भरिए गोदाम, सुर्खेतमा विद्यार्थीले समयमै पाउने

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ चैत ।
पाठ्यपुस्तक नै नपाउने समस्या भोग्दै आएका सुर्खेतका विद्यार्थीहरूले यसपाली भने पर्याप्त मात्रामा पाउने भएका छन् । जिल्लामा रहेका सरकारी विद्यालयका विद्यार्थीहरूले यसअघि समयमा नै पाठ्यपुस्तक नपाउने समस्या थियो । कतिपयले किताब विना नै परीक्षा दिनुपर्ने बाध्यता थियो । तर, अब आउने नयाँ शैक्षिक सत्रमा भने यहाँका सरकारी विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूले समयमा नै पाठ्यपुस्तक पाउने भएका हुन् । 
नयाँ शैक्षिक सत्र सुरु हुन अझै तीन साता बाँकी रहेको भए पनि सरकारी विद्यालयका लागि आवश्यक पाठ्यपुस्कहरू जिल्लामा भित्रिएका छन् । सरकारले निजी बिक्रेतालाई समेत किताब बिक्री गर्ने अनुमति दिएपछि अहिले वीरेन्द्रनगरमा पाठ्यपुस्तकले गोदाम भरिएका छन् । यहाँका व्यवसायीहरूले शैक्षिक सत्र सुरु हुनुभन्दा करिब तीन महिना अघिदेखि नै पुस्तक जिल्लामा भिœयाएका हुन् । नयाँ शैक्षिक सत्र आउँदो वैशाख १ गतेबाट सुरु हुँदैछ । अघिल्ला वर्षमा परीक्षा दिने बेलासम्म पनि विद्यार्थीको हातमा पुस्तक नपुग्ने समस्या थियो । तर, यसपाली शैक्षिक सत्र सुरु नहुँदै किताबका गोदाम भरिभराउ छन् । बिक्रेताहरूले सुर्खेतका लागि आवश्यक पर्ने किताब जिल्लामा मौज्दात रहेको जानकारी दिएका छन् । साथै उनीहरूले यसपाली सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने समेत दाबी गरेका छन् ।
सरकारले हरेक वर्ष कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । तर समयमा छपाइ नहुने र विद्यार्थीले पुग्ने गरी नपाउने समस्या थियो । नयाँ शैक्षिक सत्रका लागि जिल्लामा पुग्ने गरेर आफूहरूले पर्याप्त मात्रामा पाठ्यपुस्तक भिœयाइसकेको बिक्रेताहरूले बताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाका सरकारी विद्यालयहरूका लागि करिब ९० हजार सेट पाठ्यपुस्तक आवश्यक पर्दछ । बिक्रेताहरूले सबै विद्यार्थीलाई पुग्ने किताब जिल्लामा मौज्दात रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष शेरबहादुर खड्काले भने, ‘हामीले तीन महिना अघिदेखि किताब भण्डार गरिसकेका छौं, यसपाली कुनै पनि हालतमा जिल्लामा पाठ्यपुस्तकको अभाव हुँदैन । सबै विद्यार्थीको हातमा समयमा नै किताब पुग्छ, पाठ्यपुस्तक गोदाममा मौज्दात भएकाले चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ उनका अनुसार अहिले गोदाममा कक्षा १ देखि १० सम्मका लागि आवश्यक पर्ने करिब ४० हजार सेट पुस्तक मौज्दात छ । अहिले पनि किताब आउने क्रम जारी रहेको भन्दै उनले यो पटक समस्या नहुने बताए । साथै उनले आफूहरूले माग अनुसार नै दैलेख, जाजरकोट र अन्य जिल्लाहरूमा समेत पुस्तक पठाएको जानकारी दिए ।
नेपाल शिक्षक महासंघ सुर्खेतका सचिव कृष्णबहादुर थापा यसपाली विद्यार्थीले समयमा नै पर्याप्त पुस्तक पाउने विश्वास गर्छन् । उनले भने, ‘विगतमा निकै समस्या थियो, विद्यार्थीले भनेको समयमा चाहेको जति किताब 
पाएका थिएनन् । तर यसपाली गोदाममा पर्याप्त पुस्तक मौज्दात भएकाले समस्या नहोला ।’ सरकारी विद्यालयका विद्यार्थीहरूले यो शैक्षिक सत्रमा समयमा नै किताब पाउने भन्दै उनले यसले जिल्लाको शैक्षिक गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने बताए । पुस्तक खरिदका लागि शिक्षा कार्यालयबाट अधिकांश विद्यालयको खातामा रकम गइसकेको भन्दै उनले थपे, ‘हिजोआज विद्यालयहरू वार्षिक परीक्षामा व्यस्त छन्, परीक्षा सकिए लगत्तै किताब विद्यालयमा पुग्छन् ।’ लामो नाकाबन्दीको बीचमा पनि जिल्लामा समयमा नै पाठ्यपुस्तक भित्रिएको भन्दै उनले यो विद्यार्थीका लागि सुखद् भएको प्रतिक्रिया दिए । अघिल्लो वर्ष बाढीपीडित विद्यार्थीहरूले पाठ्यपुस्तकको अभाव हुँदा किताब विना नै परीक्षा दिन बाध्य भएका थिए । 
यस्तै जिल्ला शिक्षा कार्यालयले समेत यसपाली पाठ्यपुस्तकको अभाव नहुने जनाएको छ । जिल्लामा निजी बिक्रेताहरूले समेत पर्याप्त पुस्तक भिœयाएकाले पनि अभाव नहुने कार्यालयको भनाइ छ । सहायक जिल्ला शिक्षा अधिकारी धुव्रराज पौडेलले नयाँ शैक्षिक सत्रमा विद्यार्थीलाई पाठ्यपुस्तकको अभाव नहुने बताए । उनले भने, ‘अहिले जिल्लामै पाठ्यपुस्तकको डीपो छ, विगतका जस्तो समस्या नहोला । समयमै विद्यार्थीले किताब पाउँछन्, पहिला जस्तो हुँदैन ।’ समयमा नै विद्यार्थीको हातमा किताब पु¥याउनका लागि कार्यालय सचेत रहेको समेत उनको भनाइ छ ।