समन्वयको खाँचो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन ग¥यो । लकडाउन करिब चार महिना जारी रह्यो । सबै क्षेत्र प्रभावित बने । शैक्षिक संस्था पनि ठप्प भए । अहिले लकडाउन छैन । अन्य सबैजसो क्षेत्र सञ्चालनमा आइसकेका छन् । तर विद्यालयहरू भने अहिले पनि प्रभावित भइरहेका छन् । पूर्ण रूपमा खुल्न सकेका छैनन् । पछिल्लो समय खुलेका कतिपय विद्यालयहरू पनि अहिले बन्द हुन थालेका छन् । कोरोनाको सर्वाधिक चपेटामा विद्यालय नै परेका छन् भन्दा फरक पर्दैन ।

अघिल्लो शैक्षिकसत्र पूरा नहुँदा बन्द भएका विद्यालय नयाँ शैक्षिक सत्रको केही महिना बितिसक्दा पनि ठप्प छ । लकडाउन खुकुलो भएसँगै झण्डै ६ महिनापछि खुल्न थालेका विद्यालयहरूको पठनपाठनमा फेरि अन्योलता देखिएको छ । सरोकारवाला निकायको समन्वयको अभावले अन्योलको वातावरण सिर्जना भएको हो । विद्यालय सञ्चालनबारे स्थानीय तह, प्रशासन र विद्यालयबीच समन्वय हुन सकेको छैन । सरकारले वैकल्पिक माध्यम तथा स्थानीय तहहरूको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने भने पनि सहजरूपमा कक्षा सञ्चालन भइरहेका छैनन् । विद्यालयमै पठनपाठ गराउनेबारे अझै अलमल देखिएको छ । अधिकांश विद्यालयले अहिले पनि अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छन् । कतिपय विद्यालयले स्थानीय तहहरूको समन्वयमा विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठन पनि सुरु गरेका छन् । असोजको पहिलो साता कर्णालीका केही विद्यालय खुले । दैलेख, सुर्खेत, रुकुुम–पश्चिमलगायतका जिल्लामा ती विद्यालयले विद्यार्थीहरूलाई आलोपालो गरेर पठनपाठन सुरु गरेका थिए । तर पछिल्लो समय कोरोनाको जोखिम झनै बढ्न थालेपछि सरकारले विद्यालय खोल्न हतार नगर्न भन्यो । स्थानीय प्रशासनहरूले पनि विद्यालयमा पठनपाठन नगराउन विद्यालयलाई भनेका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र दैलेखले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना देखिएकाले सम्पूर्ण विद्यालयहरूले गृहकार्य दिएर असोज २२ गतेदेखि मंसिर १ गतेसम्म विद्यालयमा विद्यार्थी नबोलाई घरमै सिकाइ सहजीकरण गर्न व्यवस्था मिलाउन सूचना जारी गरेको छ । उक्त सूचनापछि सञ्चालनमा आएका विद्यालय थप अन्योलमा परेका छन् ।

कोरोनाको जोखिम घटेको छैन । संक्रमण बढिरहेको छ । दैनिक नयाँ संक्रमित फेला परिरहेका छन् । जसले गर्दा विद्यालय थप प्रभावित बनेका हुन् । त्यसो त यसबीचमा विद्यालय खुले पनि सबै विद्यार्थीले स्कुल गएर पढ्न भने पाएका छैनन् । पठनपाठन सुरु गरेका विद्यालयले पनि सीमित विद्यार्थीहरूलाई मात्रै आलोपालो गरेर पढाउँदै आएका छन् । यही अन्यौलकाबीच कोरोना संक्रमणको जोखिम बढिरहेकाले स्थानीय प्रशासनहरूले विद्यालय सञ्चालनमा रोक लगाउन थालेका हुन् । कतिपय स्थानीय तहका प्रमुखहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्दा पनि प्रशासनबाट असहयोग भएको आरोप लगाएका छन् । यतिबेला विद्यालय सञ्चालनमा समन्वयको अभाव देखिएको छ । कोरोना संक्रमणको जोखिम रहिरहेकाले विद्यालय सञ्चालनको ठोस योजना आवश्यक रहेको छ । यसका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच समन्वयको खाँचो देखिएको छ ।

प्रकाशित मितिः   २० आश्विन २०७७, मंगलवार ०८:०७