कर्णालीमा कोरोना: बढ्दो जोखिम घट्दो सावधानी

कर्णाली प्रदेशमा हालसम्म तीन हजार आठ सय ८९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार एक सय ६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा अहिले सात सय २५ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये झण्डै २० प्रतिशत गम्भीर बिरामी छन् । उनीहरू कडा लक्षणसहितका संक्रमित हुन् । पछिल्ला दिनहरूमा प्रदेशमा कोरोना संक्रमण भएका व्यक्तिहरूको मृत्युदर पनि बढेको छ । हालसम्म दश जनाको मृत्यु भइसकेको छ । ६ दिनयता मात्रै चार जना संक्रमितको ज्यान गएको हो ।

प्रदेशमा संक्रमणको ग्राफ दिन प्रतिदिन उकालो लाग्दैछ । समुदायस्तरमा व्यापक रूपमा फैलिसकेको कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला यसबाट बच्न आवश्यक सावधानीमा भने बेवास्ता गरिएको छ । बाहिरबाट आउनेहरू क्वारेन्टाइन नबसी सिधै परिवारको सम्पर्कमा जाने, संक्रमण पुष्टि भएकाहरू घरमै (होम आइसोलेसन) मा परिवारका सबै सदस्यहरूसँग घुलमिल हुने गर्नाले खतरा झनै बढेको हो । संक्रमण देखिएको सुरुवाती चरणमा सरकारी निकायबाट नियन्त्रणमा तदारुकता देखाएपनि पछिल्लो समय आवश्यक सावधानी तथा कडाइ गर्न छोडिएको छ । जसका कारण संक्रमणले भयावह स्थिति निम्तिन सक्ने देखिएको हो ।

स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशभर २३ हजार २६ बेड क्षमताका क्वारेन्टाइन छन् । ती क्वारेन्टाइनमा सोमवारसम्म जम्मा चार सय ६८ जना रहेका छन् । अहिलेसम्म ५८ हजार दुई सय ६७ जना क्वारेन्टाइन बसिसकेको महाशाखाको तथ्याङ्क छ । हाल सल्यानमा एक सय ४० जना, सुर्खेतमा एक सय ३३ जना, कालीकोटमा ७२ जना, दैलेखमा ५२ जना, जाजरकोटमा ६९ जना र रुकुम–पश्चिममा दुई जना मात्रै क्वारेन्टाइनमा छन् । बाहिरबाट आएका संक्रमणका आंशकितहरूलाई कम्तीमा दुई हप्तासम्म राखेर स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाउन बनाइएका यस्ता क्वारेन्टाइन लगभग खाली छन् । न्यून संख्यामा मात्र क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

सरकारी निकायको लापरवाही आइसोलेसन सेन्टरहरूमा पनि देखिन्छ । प्रदेशभरका सक्रिय कोरोना संक्रमित सात सय २५ मध्ये तीन सय ७७ होम–आइसोलेसनमा बस्दै आएका छन् भने तीन सय ४८ अस्पताल तथा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा छन् । अस्पतालमा भन्दा घरमा संक्रमितहरू बस्ने गर्नाले संक्रमणको जोखिम झनै बढेको हो ।

कर्णालीमा यहीँ गतिमा संक्रमण र मृत्युदर समेत बढ्ने हो भने भयावह स्थिति आउन सक्ने जनस्वास्थ्य प्रशासकहरू बताउँछन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख रबिन खड्का भन्छन्, ‘चार्डपर्व नजिकै आएका छन् । पछिल्लो एक हप्तामा मृतकको संख्या र जटिलखालका संक्रमित समेत बढेका छन् । नयाँ संक्रमितसमेत बढ्दै गएकाले थप जटिल अवस्था आउन सक्ने देखिन्छ ।’ सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आइसोलेसन, आइसीयू र भेन्टिलेटर थप गर्ने योजना रहेको उनले बताए । निर्देशक खड्काका अनुसार हाल प्रदेशभर ६२ वटा आइसीयू र २४ वटा भेन्टिलेटर छन् । यसको संख्या र गुणस्तरमासमेत ध्यान दिनुपर्ने अवस्था रहेको उनले जनाए । गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू र भेन्टिलेटर आवश्यक पर्छ । कोरोना परीक्षणको दायरा बढाउने, केश इन्भेष्टिकेसन र कन्ट्याक्ट टे«सिङ गर्ने तथा जनचेतनासमेत फैलाउने गरी निर्देशनालयले तयारी गरेको उनी बताउँछन् । थप जोखिको आंकलन गरी प्रदेश प्रवेश गर्ने मुख्य तीन वटा नाका बबई, सल्यानको कपुरकोट र सुर्खेतको जामु क्षेत्रमा थप कडाइ गर्ने र सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन गराउनतर्फ सबै निकाय सक्रिय रूपमा लाग्नुपर्ने निर्देशक खड्काले सुझाए ।
लकडाउन खुलेसँगै बजार तथा भिडभाड हुने क्षेत्रमा स्वास्थ्य सावधानीसमेत अपनाउन छोडिएको छ । मानिसहरूको भिडभाड हुने ठाउँमा हेलचक्य्राइँ गरिँदा संक्रमणको जोखिम पनि बढ्न थालेको हो । प्रदेशमा पहिलो संक्रमण पुष्टि भएको पाँच महिना पुगेको छ । तर, यो अवधिमा स्वास्थ्य पूर्वाधारमा भने उल्लेख्यि प्रगति भएको देखिदैन ।

कडा लक्षणसहितका संक्रमित बढे

पछिल्लो समय गम्भीर प्रकृतिका बिरामी देखिन थालेका छन् । प्रदेश अस्पतालको आइसोलेसनमा १८ जना गम्भीर प्रकृतिका बिरामी उपचाररत छन् । अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले कडा लक्षणसहितका बिरामी देखिन थालेको बताए । कोरोना अस्पतालमा हाल ७० जना उपचाररत छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छ । गम्भीर प्रकृतिका बिरामीमध्ये धेरै संख्या ५० वर्ष उमेर माथिका छन् ।
पछिल्ला दिनमा वृद्धवृद्धालाई कोरोनाको संक्रमण देखिन थालेको डा. केसी बताउँछन् । ‘अब दीर्घरोगी र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्ने अवस्था छ । पहिले युुवा उमेरकालाई संक्रमण बढी थियो । समुदायस्तरमा संक्रमण फैलिएपछि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बढी जोखिम देखिएको छ,’ उनले भने ।

दैलेखमा हाल ३० जना कोरोनाका सक्रिय संक्रमित छन् । चिकित्सकहरूका अनुसार उनीहरूमध्ये अधिकांश लक्षणसहितका संक्रमित हुन् । गम्भीर प्रकृतिका बिरामी दुई जनालाई सुर्खेत रिफर गरिएको छ । एक जनाको सुर्खेतमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले पुष्टि गरेको छ । जिल्ला अस्पताल दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको बताए । कडा खालका लक्षण देखिएका संक्रमितलाई प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको उनी बताउँछन् ।

‘अहिलेसम्म हामीले गम्भीर प्रकृतिका दुई जनालाई सुर्खेत रिफर ग¥यौं । लक्षणसहितका संक्रमित देखिन थालेका छन्,’ उनले भने । दैलेखमा रहेका ३० संक्रमितमध्ये १५ जना ज्येष्ठ नागरिक रहेको उनले बताए । प्रदेशमा जेठ १७ गते दैलेखमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमवार कर्णालीका विभिन्न जिल्लामा गरी थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा २६, कालीकोटका १०, दैलेखका सात, जुम्ला, हुम्ला र सल्यानमा एक–एक जना र अन्य प्रदेशका एक जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा स्वास्थ्य पूर्वाधार, आइसीयू र भेन्टिलेटर थप गर्ने तथा स्वास्थ्य सावधानीका मापदण्ड कडाइका साथ पालना गर्न आवश्यक रहेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मितिः   २० आश्विन २०७७, मंगलवार ०८:०९