नागरिकता वितरण बन्द
थपिए ६१ संक्रमित
जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही दिनका लागि नागरिकता वितरण नगर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि उक्त सेवा बन्द गरिएको हो । प्रशासन कार्यालयले सोमवार सूचना प्रकाशित गरी नागरिकता शाखामा अत्यधिक भिड हुने भएकाले जोखिमको मध्यनजर गर्दै अर्कोे सूचना नभएसम्मका लागि नागरिकता वितरण रोकिएको जनाएको छ ।
‘नागरिकता शाखामा अत्यधिक भिड हुन्छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘एक जना कर्मचारी अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । अरु तीन जना होम आइसोलेसनमा बस्नु भएको छ । जोखिम बढेकाले सेवा नै बन्द गर्नुपरेको हो ।’ कार्यालयका आन्तरिक काम र अन्य अत्यावश्यक सेवाहरू भने बन्द नरहने प्रजिअ रेग्मीले बताए ।
यसैबीच आइतवार कर्णाली प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ६१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सुर्खेतका ५२ जना, दैलेखका ६ जना, कालीकोट, जाजरकोट र रूकुम–पश्चिमका एक÷एक जना छन् । योसँगै कर्णालीमा संक्रमितको कूल संख्या तीन हजार आठ सय ४१ पुगेको छ । आइतवार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट २० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा निको हुनेको संख्या तीन हजार एक सय १० पुगेको छ । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या सात सय २१ छ । हालसम्म यो प्रदेशमा कोरोनाबाट नौ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा आइतवार बाँकेमा मृत्यु भएको छ । स्वास्थ्यमा जटिल समस्या आएपछि शनिवार राति १२ः४५ बजे नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आइतवार दिउँसो साढे एक बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहलपुर रिफर भएका थिए । यसअघि आठ जना संक्रमितको मृत्यु भइसकेको छ ।
यस्तै आइतवार देशभर दुई हजार दुई सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार सात सय ८४ नमुना परीक्षण गर्दा आठ सय ३० महिला र एक हजार चार सय २३ पुरुषमा संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित हुनेको संख्या ८३ हजार आठ सय २३ पुगेको छ । देशभर हालसम्म पाँच सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । आइतवारसम्म देशभरमा २२ हजार दुई सय १९ सक्रिय संक्रमित छन् । ११ हजार आठ सय ९३ जना होम र १० हजार तीन सय २६ संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये दुई सय २६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः १९ आश्विन २०७७, सोमबार ०९:२५
साझा बिसौनी ।