चेपुवामा विद्यालय

खुलेका विद्यालय फेरि बन्द, सरोकारवालाबीच समन्वयको अभाव

झण्डै ६ महिनापछि खुल्न थालेका विद्यालयहरूको पठनपाठनमा फेरि अन्योलता देखिएको छ । सरोकारवाला निकायको समन्वयको अभावले अन्योलको वातावरण सिर्जना भएको हो । विद्यालय सञ्चालनबारे स्थानीय तह, प्रशासन र विद्यालयबीच समन्वय हुन सकेको छैन ।

कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समय बन्द रहेर खुल्न थालेका विद्यालय सञ्चालनमा पुनः समस्या देखिएको छ । सरकारले वैकल्पिक माध्यम तथा स्थानीय तहहरूको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने भने पनि सहजरूपमा कक्षा सञ्चालन भइरहेका छैनन् । विद्यालयमै पठनपाठ गराउनेबारे अझै अलमल देखिएको छ । अधिकांश विद्यालयले अहिले पनि अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छन् । कतिपय विद्यालयले स्थानीय तहहरूको समन्वयमा विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठन पनि सुरु गरेका छन् ।

असोजको पहिलो साता कर्णालीका केही विद्यालय खुले । दैलेख, सुर्खेत, रुकुुम–पश्चिमलगायतका जिल्लामा ती विद्यालयले विद्यार्थीहरूलाई आलोपालो गरेर पठनपाठन सुरु गरेका थिए । तर पछिल्लो समय कोरोनाको जोखिम झनै बढ्न थालेपछि सरकारले विद्यालय खोल्न हतार नगर्न भन्यो । स्थानीय प्रशासनहरूले पनि विद्यालयमा पठनपाठन नगराउन विद्यालयलाई भनेका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र दैलेखले कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना देखिएकाले सम्पूर्ण विद्यालयहरूले गृहकार्य दिएर असोज २२ गतेदेखि मंसिर १ गतेसम्म विद्यालयमा विद्यार्थी नबोलाई घरमै सिकाइ सहजीकरण गर्न व्यवस्था मिलाउन सूचना जारी गरेको छ ।

दैलेखको चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सिनाले प्रशासनको सूचनाले विद्यालय सञ्चालनमा अन्योलता सृजना गरेको बताए । ‘मंसिर १ गतेसम्म विद्यालय बन्द गर्न प्रशासनबाट सूचना आएको छ । भर्खर मात्रै विद्यालय सञ्चालन गरेका थियौं । अब के गर्ने भन्नेमा अन्योल देखियो,’ उनले भने । जोखिम पनि बढेको र प्रशासनले भनि सकेपछि विद्यालय बन्द गर्ने मनस्थितिमा आफूहरू पुगेको उनले बताए । प्रधानाध्यापक तिमिल्सिनाले सानो कक्षाका लागि भने टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

यसबीचमा विद्यालय खुले पनि सबै विद्यार्थीले स्कुल गएर पढ्न भने पाएका छैनन् । पठनपाठन सुरु गरेका विद्यालयले पनि सीमित विद्यार्थीहरूलाई मात्रै आलोपालो गरेर पढाउँदै आएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेकाले स्थानीय प्रशासनहरूले विद्यालय सञ्चालनमा रोक लगाउन थालेका हुन् । चन्दननाथ नगरपालिकाका प्रमुुख कान्तिका सेजुवालले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले खोल्न नदिएकाले अन्योल भएको बताइन् । उनी भन्छिन्, ‘हिमाली जिल्लाहरूमा भौतिक दूरी कायम गरेर विद्यालयमै पठनपाठन गर्न सक्ने अवस्था छ । प्रदेश र संघीय सरकारले यसतर्फ ध्यान नदिएको देखियो ।’ स्थानीय तहलाई जोखिमको आँकलन गरेर विद्यालय खोल्ने जिम्मेवारी दिइसकेपछि सोही अनुरूप हुनुपर्ने उनको भनाइ छ ।

कतिपय स्थानीय तहका प्रमुखहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्दा पनि प्रशासनबाट असहयोग भएको आरोप लगाएका छन् । शैक्षिक सत्र नै सकिन थालेकाले विद्यार्थी र अभिभावकले समेत आफूहरूलाई गुनासो गर्ने गरेको उनीहरू बताउँछन् । दुर्गममा वैकल्पिक माध्यमबाट शिक्षण अभ्यास गर्न सहज छैन । सबै विद्यार्थीलाई उक्त माध्यमको पहुँचमा ल्याउन समस्या हुने गरेको छ ।

कालीकोटको रास्कोट नगरपालिकाका प्रमुुख काशीचन्द्र बरालले विद्यालय सञ्चालन गर्न समस्या नभए पनि सरकारले नखोल भनेकाले अहिले विद्यालयहरू बन्द नै रहेको बताए । उनले रेडियो टेलिभिजन र इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरूलाई घरमै गएर शिक्षकहरूले सहजीकरण गर्ने गरेको दाबी गरे । कोरोनाले निम्तिएको शिक्षा प्रणालीको संकट टार्न अबको विधि प्रष्ट हुनुपर्ने उनले बताए । तिला गाउँपालिकाका उप–प्रमुख विष्णु बुढा वैकल्पिक माध्यम प्रभावकारी नभएको र विद्यालय सञ्चालनमा पनि अन्योल हुँदा आफूहरू झनै अलमलमा परेको बताउँछन् ।

कोरोना कहरकैबीच कतिपय विद्यालयहरूले भने कक्षा कोठामै बोलाएर पठनपाठन गरिरहेका छन् । प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले केही ठाउँमा विद्यालय सञ्चालन भइरहेको जनाइन् । उनका अनुसार यतिबेला विद्यालय सञ्चालनमा समन्वयको अभाव देखिएको छ । कोरोना संक्रमणको जोखिम रहिरहेकाले विद्यालय सञ्चालनको ठोस योजना आवश्यक रहेको उनको तर्क छ । स्थानीय तह, प्रशासन र सरोकारवाला निकायको समन्वयमा सिकाइ गतिविधि अगाडि बढाउनुपर्ने उनी बताउँछिन् ।

प्रकाशित मितिः   १९ आश्विन २०७७, सोमबार ०९:२२