समाजभित्रको कुरूपता
विगतदेखि नै महिलाहरू विभेद र हिंसाको चपेटामा पर्दै आएका छन् । घरेलु हिंसादेखि विभिन्न अपराधको सिकार बन्ने गरेका छन् । दाइजो नपाएको निहुँमा जिउँदै जलाइएका, सामान्य घरायसी विवादमा मरणासन्न हुनेगरी कुटिएका, बोक्सीको आरोपमा मलमूत्र खुवाइएकादेखि बलात्कारपछि हत्या गरिएका यस्ता अनगिन्ती घटना छन्, जसले महिलाहरूमाथि भइरहेका बर्बरताको तस्बिर देखाउँछन् । हरेक दिनजसो यस्ता कुनै न कुनै घटना भइरहेका छन् । कतिपय घटना सार्वजनिक हुन्छन् र बाहिर आउँछन् भने कैयौं घटना बाहिर आउँदैनन् । यद्यपि समग्रमा के भन्न सकिन्छ भने आजको समाजमा पनि महिलाहरूमाथि यस्ता श्रृंखलाबद्ध बर्बरताका घटनाहरू भइरहेका छन् ।
झट्ट सुन्दा पनि अनौठो लाग्छ, जुन घटना हाम्रै समाजमा श्रृंखलाबद्ध रूपमा भइरहेका छन् । समाजको कुरूपता झल्काउने घटनाको पछिल्लो दृष्टान्तको पात्र बनेकी छन् हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफाया की २३ वर्षीया एक महिला । उनलाई पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा आफन्तले नै कुटपिट गरे । त्यतिमात्र होइन कालो मोसो दले, चप्पलको माला लगाइदिए । कपालसमेत मुण्डन गरी गाउँभरी घुमाइयो । श्रीमान्सहित परिवारका सदस्यले यस्ता अमानवीय र आपराधिक कार्य गरिरहँदा गाउँले भने रमिते बने । आफूले कुनै पनि गल्ती नगर्दासमेत गाउँभरीका मान्छे लागेर अमानवीय व्यवहार गरेको ती महिला बताउँछिन् । पीडित महिलाका अनुसार उनलाई करिब चार घण्टा शारीरिक र मानसिक यातना दिइएको थियो । शरीरभरी निलडाम हुनेगरी कुटाई पाएकी उनी भागेर जिल्ला प्रहरी कार्यालय पुगिन् । उनले पीडकहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । महिलामाथि हुने यस्ता खाले आपराधिक र अमानवीय बर्बरताका घटना समाजमा व्याप्त छन् । सरकारी तथ्याङ्कहरूले समाजमा शिक्षा र चेतनाको स्तर माथि उठेको देखाए पनि दैनिकजसो घटिरहने अमानवीय घटनाले त्यस्ता तथ्याङ्कहरूलाई गिज्याइरहेको देखिन्छ । हिंसाका घटनाका श्रृंखला रोकिएका छैनन् । आधुनिकतातर्फ उन्मुख भनिएको हाम्रो समाज जङ्गली युगतिर गइरहेको भान हुन्छ । घरेलु हुन् या सामाजिक हिंसा महिलाहरू नै मुख्य निशानामा पर्ने गरेका छन् । लैंङ्गिकदेखि जातीय विभेदको जातोमा उनीहरूलाई नै पिस्ने गरिएको पाइन्छ ।
महिलामाथि कुनै न कुनै कारण देखाइ अमानवीय व्यवहार हुँदै आएको छ । हिंसापीडित महिलाले प्रहरी र अदालतमा गरेका उजुरीको संख्याले पनि समाजमा हिंसाका घटना भयावह रहेको पुष्टि गर्छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै ६ सय २७ घरेलु हिंसाका घटना दर्ता भएका छन् । तथ्याङ्क हेर्दा ग्रामीण भन्दा हिंसाको ग्राफ सहर–बजार क्षेत्रमा अझै बढी छ । महिला हिंसाका सबै घटना प्रहरी र अदालतसम्म पुग्दैनन् । न्यायका लागि उजुरी दिने पीडितको संख्या अहिले पनि न्यून छ । त्यसो त यस्ता हिंसा र अपराध रोक्न कानुन पनि नबनेका होइनन् । प्रहरी प्रशासन पनि सक्रिय छ । तर घटनामा कमी आएको छैन । कानुन
बलियो भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा हिंसाका घटनाले प्रश्रय पाइरहेको देखिन्छ ।
साझा बिसौनी ।