आजदेखि सहुलियत पसल खुल्दै

बजारको मूल्यभन्दा ५ देखि १० रूपैयाँ छुट दिइने

वीरेन्द्रनगरमा आज (आइतवार) देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइँदैछ । दशैं, तिहार र छठजस्ता पर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालयले सहुलियत पसल खोल्न लागेको हो । सहुलियत पसलमा बजारभन्दा सस्तो मूल्यमा बिक्री–वितरण हुनेछ ।

चाडपर्वलाई लक्षित गरेर अघिल्ला वर्ष जस्तै सहुलियत पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय प्रमुुख भीमबहादुर थापाले बताए । वीरेन्द्रनगरको सहुलियत पसलमा अहिले चामल र जुम्लाको सिमी पाइनेछ । विस्तारै चिनी, पिठो, दाल र कर्णालीमा उत्पादन भएका अन्य खाद्य वस्तु पनि बिक्रीका लागि राखिने तयारी कम्पनीको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल खुला रहनेछ । उक्त सहुलियत पसलमा बजारको मूल्यभन्दा सिमी एक केजीमा १० रूपैयाँ र चामलमा ५ रूपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । प्रमुख थापाले सहुलियत पसलबाट एक जनाले एक पटकमा एक क्वीण्टलसम्म चामल र ५० केजीसम्म दाल खरिद गर्न सक्ने बताए ।

सरकारले चाडपर्व लक्षित गरेर देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । सुपथ मूल्यमा खाद्यान्नलगायत सामग्री बिक्री–वितरण गरिनेछ । सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यू, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री बिक्रीमा राखिने सरकारले जनाएको छ । साल्ट ट्रेडिङ्ग, दुग्ध विकास संस्थान र खाद्य संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यी पसल सञ्चालनमा ल्याउनेछन् ।

प्रकाशित मितिः   १८ आश्विन २०७७, आईतवार ०८:२३