तीन हजार बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा हालसम्म तीन हजार बढी कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमित निको भएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशमा शनिवारसम्म तीन हजार ९० जना संक्रमणमुक्त भएका हुन । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ८० पुगेको छ । शनिवार मात्रै ४५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि जोखिम बढेको छ । शनिवार थप ५१ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र कर्णालीमै रहेका तर अन्य प्रदेशका तीन जनामा संक्रमण देखिएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

समुदायस्तरमा संक्रमण फैलिएपछि परीक्षणलाई तीव्रता दिइएको महाशाखाले जनाएको छ  । शनिवारसम्म कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ९० पुगेको छ । अहिले सबैभन्दा बढी जोखिम सुर्खेतमा रहेको महाशाखाले औंल्याएको छ । सुर्खेतमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार तीन सय ७२ छ । प्रदेशभर ७५ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ  । कोरोना भाइरसको संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतमा पाँच, दैलेखका दुई र डोल्पामा एक जनाको मृत्यु भएकोे हो ।

प्रकाशित मितिः   १८ आश्विन २०७७, आईतवार ०८:२१