एमयूले लियो अनलाइनबाटै फाइनल परीक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले अनलाइनबाटै परीक्षा लिएको छ । कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू ठप्प हुँदा एमयूले अनलाइनमाध्यमबाट अन्तिम परीक्षा लिएको हो । गत भदौ १२ गते मिड टर्म परीक्षा अनलाइबाटै लिएको विश्वविद्यालयले शनिवारदेखि फाइनल परीक्षा पनि लिएको छ । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट लिएको हो ।

विश्वविद्यालयका परीक्षा व्यवस्थापन कार्यालय प्रमुख आनन्दप्रसाद सुवेदीले पहिलो चरणको परीक्षामा एक हजार तीन सय २० जना विद्यार्थी सहभागी भएको बताए । परीक्षाको पहिलो दिन शनिवार स्नातक सातौं सेमेष्टरका चार वटा संकायका विद्यार्थी सहभागी थिए । विज्ञान तथा प्रविधिबाहेक इन्जिनियरिङ्ग, व्यवस्थापन, मानविकी, सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायका विद्यार्थीले अनलाइनबाट परीक्षा दिएका हुन् । सुवेदीका अनुसार कार्तिक ३ गतेसम्म चल्ने परीक्षामा आइतवार (आज)देखि स्नातकोत्तर तेस्रो सेमेष्टरका विद्यार्थी पनि सहभागी हुनेछन् । आठ घण्टाको समयावधि दिइएको परीक्षामा बिहान ८ बजे इमेलमार्फत विद्यार्थीले प्रश्नपत्र प्राप्त गर्छन् । विद्यार्थीले उक्त प्रश्नको उत्तर घरमै बसेर लेखी बेलुकी ४ बजेसम्म पठाइ सक्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

अनलाइन परीक्षामा शत प्रतिशत विद्यार्थी सहभागी भएको जनाइएको छ । विश्वविद्यालयले १० वटा परीक्षा केन्द्र तोकेको छ । सुर्खेतमा पाँच वटा, बाँके, रुकुम–पश्चिम र बर्दियामा एक÷एक र काठमाडौंमा दुई वटा परीक्षा केन्द्र रहेको परीक्षा व्यवस्थापन प्रमुख सुवेदीले जनाए । विश्वविद्यालयले दोस्रो चरणमा अनलाइनबाटै मंसिरको दोस्रो हप्तादेखि स्नातक तहको पहिलो, तेस्रो र पाँचौ सेमेष्टर तथा स्नातकोत्तर तहको पहिलो सेमेष्टरको परीक्षा लिँदैछ ।

प्रकाशित मितिः   १८ आश्विन २०७७, आईतवार ०८:२०