हिंसा निवारणका उपाय
समाजमा घरेलु हिंसाका घटना भइरहेका छन् । हिंसा कानुनी रूपमा पनि बर्जित छ । तर हिंसाका श्रृंखला भने निरन्तर छन् । लैंङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । महिलाको मानवअधिकारको उल्लंघनको प्रमुख विषय महिलामाथिको हिंसा पनि हो । अधिकांश हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सिर्जना भइरहेका छन् । घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ ।
हिंसा निवारणका लागि प्रयास नभएका होइनन् । पर्याप्त कानुन पनि बनेका छन् । तर त्यसको कार्यान्वयन फितलो छ । अर्कोतर्फ घरेलु हिंसाका घटनालाई सकेसम्म मिलापत्रमार्फत टुंग्याउने गरिएको छ । मिलापत्र हुनु राम्रो हो तर के यसरी मिलापत्रमा हिंसाका घटना टुंग्याउँदा त्यसले थप हिंसाका लागि बढावा त दिइरहेको छैन ? यसतर्फ पनि ध्यान दिन जरुरी छ । प्रहरीमा आउने अधिकांश घरेलु हिंसाका घटना अदालतसम्म पुग्दैनन् । त्यस्ता प्रकृतिका घटना मिलापत्रमै टुङ्गिने गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउने घरेलुहिंसाका घटनाको गत चार वर्षको तथ्याङ्क हेर्दा ८५ प्रतिशत घटना मिलापत्रमै टुङ्गिने गरेको देखिन्छ । शारीरिक, मानसिक र आर्थिक रूपमा यातना दिएको भन्दै प्रहरीमा उजुरी आए पनि त्यस्ता घटना अदालतसम्म नपुग्ने गरेका हुन् । गएका चार वर्षमा एक हजार ६ सय ५० घरेलुहिंसाका घटना दर्ता भएका छन् । श्रीमान्ले मदिरा सेवन गरी शारीरिक यातना दिएको, खानलाउन नदिएको, गालीगलौज गरेको भन्दै दर्ता भएका उजुरीमध्ये एक हजार चार सय १४ घटना मिलापत्रमै टुङ्गिएका छन् । बाँकी दुई सय ३१ घटना अदालती प्रक्रियामा लगिएको छ ।
सामान्य विवादलार्य मेलमिलापबाटै समाधान गर्न सकिन्छ । पीडक र पीडितको त्यसका लागि पीडित पक्ष भने राजी हुनैपर्छ । मेलमिलाप एउटा पाटो हो तर घटना दोहोरिने अवस्थामा भने कुनै पनि हालतमा मेलमिलापबाट समस्या समाधान गर्न खोज्नु हुँदैन । छलफल र मेलमिलाप समाधानको पहिलो माध्यम भए पनि हिंसाको उपचार भने कानुनि रूपमै गरिनु प्रभावकारी हून्छ । जसले थप हिंसा गर्नबाट निरुत्साहित गर्दछ । घरेलु हिंसाका घटना बढ्दै गएको सन्दर्भमा यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिएको छ । पछिल्लो समय महिला हिंसाका घटनाहरू बाहिर आउने क्रम बढेको छ । हिंसाका घटना भए न्यायका लागि प्रहरी तथा अदालतसम्म सम्बन्धित निकाय पुग्ने गरेका हुन् । कतिपय हिंसाका घटना मेलमिलापबाट टुंग्याइँदा पुनः दोहोरिएको पाइएको छ । त्यसैले कानुनी उपचार खोज्नु नै उपयुक्त हुने अधिकारकर्मीहरूले बताउने गरेका छन् । आजको शिक्षित समाजमा कुनै पनि हिंसा हुनु विडम्बना हो । यसको अन्त्य गर्नुको विकल्प छैन ।
प्रकाशित मितिः १८ आश्विन २०७७, आईतवार ०८:१९
साझा बिसौनी ।