रोकिएनन् बर्बरताका श्रृखंला


हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफाया की २३ वर्षीया महिला शुक्रवार बिहान खेतमा काम गर्दै थिइन् । उनका २६ वर्षीय श्रीमान् धनबहादुर शाही मेलामै पुगे । उनले श्रीमतीको मोबाइल फोन खोसे । फोनमा भएका नम्बर चेक गर्न थाले ।

‘तैले खेतबारीमा आउने बहानामा क–कसलाई फोन गर्छेस् ?’ ती महिलाका अनुसार यस्तै आरोप लगाउँदै उनले कुटपिट गर्न थाले । धनबहादुरले श्रीमतीलाई कुट्दै घरमा ल्याए । गाउँले बोलाए । कालो मोसो दले, चप्पलको माला लगाइयो । कपालसमेत मुण्डन गरी गाउँभरी घुमाइयो । यी अमानवीय र आपराधिक गतिविधिमा गाउँलेले धनबहादुरलाई नै साथ दिए ।

‘घरपट्टीका सन्तानले कुटे । छर–छिमेकीले रमिता हेरिरहे,’ उनले भनिन् ‘मलाई त्यसरी कुट्नेहरू नाताले देवर, जेठाजु र ससुरा पर्छन् ।’ आफूले कुनैपनि गल्ती नगर्दासमेत गाउँभरीका मान्छे लागेर अमानवीय व्यवहार गरेको उनले सुनाइन् । पीडित महिलाका अनुसार उनलाई करिब चार घण्टा शारीरिक र मानसिक यातना दिइएको थियो ।

पर–पुरुषसँगको सम्बन्धमा रहेको आरोप उनका श्रीमान् र परिवारले लगाएका थिए । ‘हामी दुवै जनालाई नाङ्गै बनाएर गाउँ घुमाउने तयारीमा थिए । केही व्यक्तिहरूको आग्रहमा त्यसो गरिएन,’ पीडित महिलाले भनिन् । दुई सन्तानकी आमा ती महिलाले भनेअनुसार उनीसँगको सम्बन्धमा रहेका भनिएका पुरुष घरपट्टीकै आफन्त हुन् । शरीरभरी निलडाम हुनेगरी कुटाई पाएकी उनी भागेर जिल्ला प्रहरी कार्यालय पुगिन् । उनले पीडकहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य सुवेदीले कुटपिटमा संलग्न सात जना र श्रीमान् धनबहादुरलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । उनका अनुसार शुक्रवार दिउँसो करिब १ बजे प्रहरीलाई घटनाको बारेमा जानकारी भएको थियो । पीडित महिला अहिले गाउँपालिकाको महिला तथा बालबालिका सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छन् ।

महिलामाथि हुने यस्ता खाले आपराधिक र अमानवीय बर्बरताका घटना समाजमा ब्याप्त छन् । सरकारी तथ्याङ्कहरूले समाजमा शिक्षा र चेतनाको स्तर माथि उठेको देखाए पनि दैनिकजसो घटिरहने अमानवीय घटनाले त्यस्ता तथ्याङ्कहरूलाई गिज्याइरहेको देखिन्छ । हिंसाका घटनाका श्रृंखला रोकिएका छैनन् । आधुनिकतातर्फ उन्मुख भनिएको हाम्रो समाज जङ्गली युगतिर गइरहेको भान हुन्छ । घरेलु हुन् या सामाजिक हिंसा महिलाहरू नै मुख्य निशानामा पर्ने गरेका छन् । लैंङ्गिकदेखि जातीय विभेदको जातोमा उनीहरूलाई नै पिस्ने गरिएको पाइन्छ ।

२०७५ जेठ १९ गते कालीकोटको नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य मना सार्कीको हत्या भयो । स्थानीय २५ वर्षीय राजिन्द्रा शाही र उनकी बहिनी २१ वर्षीय सिर्जना शाहीले आफ्नो बुवासँग अनैतिक सम्बन्ध राखेको भन्दै मनालाई कुटपिट गरी हत्या गरेको खुल्यो । जेठ १२ गते धारामा पानी भर्न गएकी मनालाई राजिन्द्राकी आमाले विभेदजन्य गाली गर्दै धारो छुनसमेत दिएकी थिइनन् । भारतमा रहँदा मनाका श्रीमान्बाट राजिन्द्राका बुवाले २५ हजार रूपैयाँ सापटी लिएका थिए । आफ्ना श्रीमान्बाट लिएको उक्त रकम माग्न जाँदा उनलाई उल्टै आफ्नो श्रीमान्सँग ‘उठबस’ गरेको आरोप राजिन्द्राकी आमाले लगाउँदै आएकी थिइन् ।

मना सार्की जेठ १९ गते बेलुकी साढे ५ बजेतिर आफ्नो बारीमा प्याज उखेल्न जाँदै गर्दा मारिइन् । बारीमा लुकेर बसेका राजिन्द्रा र सिर्जनाले उनीमाथि एक्कासी कुटपिट गरेका थिए । उनीहरूको कुटाइपछि ज्यान बचाउन मना छिमेकी तपेन्द्र शाहीको घरमा पुगिन् । तर उनीहरूले मना लुकेको स्थानमै गइ लाठी र ढुङ्गा प्रहार गरी सख्त घाइते बनाए । गाउँलेसँग हारगुहार गरेपछि उनलाई राती घर त पु¥याइयो तर घर ल्याएको दश मिनेटमै उनको मृत्यु भयो ।

यी त केही प्रतिनिधि घटना हुन् । महिलामाथि कुनै न कुनै कारण देखाइ अमानवीय व्यवहार हुँदै आएको छ । हिंसापीडित महिलाले प्रहरी र अदालतमा गरेका उजुरीको संख्याले पनि समाजमा हिंसाका घटना भयावह रहेको पुष्टि गर्छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै ६ सय २७ घरेलु हिंसाका घटना दर्ता भएका छन् । सुर्खेतमा तीन सय ५५, दैलेखमा ७९, जाजरकोटमा ५६, रुकुम–पश्चिममा १२, सल्यानमा १५, जुम्लामा ३९, हुम्लामा १७, मुगुमा पाँच, डोल्पामा ४२ र कालीकोटमा सात वटा घटना दर्ता भएका हुन् । यो तथ्याङ्क हेर्दा ग्रामीण भन्दा हिंसाको ग्राफ सहर–बजार क्षेत्रमा अझै बढी छ । महिला हिंसाका सबै घटना प्रहरी र अदालतसम्म पुग्दैनन् । न्यायका लागि उजुरी दिने पीडितको संख्या अहिले पनि न्यून छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले महिलाले गलत नै गरेको भए पनि कसैले पनि कानुन हातमा लिइ अपमानजन्य हिंसा गर्न नहुने बताउँछन् । हुम्लाको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

‘मानवअधिकारको ख्यालै नगरी नैतिक्तताका नाममा अपमान र कुटपिट गर्न पाइँदैन । त्यस्ता व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसएसपी बास्तोलाले भने ।

अधिवक्ता गीता कोइरालाका अनुसार कतिपय महिलाहरू अरुसँग बोलेकै निहँुमा हिंसामा परेका छन् । गालीगलौज र कुटपिट गरेपछि मात्रै पीडित महिलाहरू अदालतसम्म आउने गरेको उनी बताउँछिन् । ‘महिलाहरूले आफूबाहेक अन्य पुरुषसँग बोले अनैतिक सम्झिने सोच अझै पनि समाजमा छ,’ उनले भनिन्, ‘पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्नुको मुख्य कारण यो पनि हो ।’

कानुन बलियो भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा हिंसाका घटनाले प्रश्रय पाइरहेको अधिकारकर्मीहरू बताउँछन् । मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद–१० मा भेदभाव तथा अन्य अपमानजन्य अपराध सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । जसको दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने भनी उल्लेख छ । बोक्सीको आरोप लगाउने, सामाजिक बहिष्कार गर्ने र अन्य जुनसुकै अपमानजन्य तथा अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुने उल्लेख छ । तर पनि महिलामाथि हुने यस्ता खालका बर्बरताका घटनामा कमी आउन सकेको छैन ।

प्रकाशित मितिः   १८ आश्विन २०७७, आईतवार ०८:२४