विमानस्थल स्तरोन्नति गर्न समझदारी
सुर्खेत विमानस्थलको स्तरोन्नती गरिने भएको छ । नेपाल सरकार र कर्णाली प्रदेश सरकारको संयुक्त लगानीमा विमानस्थलको धावनमार्ग विस्तारसहित स्तरोन्नती गर्न लागिएको हो । यसका लागि संघीय सरकार र प्रदेश सरकारबीच समझदारी भएको छ ।
प्रदेश सरकारकातर्फबाट प्रदेश सचिव घनश्याम उपाध्याय र संघीय सरकारकातर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बिहीवार सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।
सम्झौता–पत्रमा दुवै सरकारको लगानीमा विमानस्थलको विकास, विस्तार र स्तरोन्नती गरिने उल्लेख गरिएको छ । सम्झौता अनुसार अब विमानस्थलको धावनमार्ग विस्तार गरिने छ । यसका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, टर्मिनल भवन निर्माणका साथै आवश्यक अन्य पूर्वाधार विकास गर्नेगरी समझदारी भएको छ । समझदारी–पत्रअनुसार विमानस्थलको धावनमार्गको लम्बाई कम्तीमा एक हजार पाँच सय मिटरसम्म विस्तार हुनेछ ।
जग्गा अधिग्रहण र त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम संघीय सरकारले अनुदानमा उपलब्ध गराउनेछ । जग्गाको नियमानुसार मुआब्जा वितरण गर्दा हुने खर्चको ५० प्रतिशत रकम प्रदेश सरकार र ५० प्रतिशत नेपाल नागरिक उड्डयन प्राधिकरणले बेहोर्नेगरी समझदारी गरिएको छ । स्रोत व्यवस्थापनको जिम्मा मन्त्रालयले लिएको छ । यसबाहेक पनि अन्य आवश्यक पहल, सहजीकरण एवम् समन्वय गर्ने जिम्मेवारी पनि मन्त्रालयको हुने जनाइएको छ ।
प्रदेश सरकारले भने जग्गा अधिग्रहण र यस सम्बन्धी अन्य कार्यमा कुनै समस्या देखिएमा समाधानको लागि आवश्यक पहल, सहजीकरण एवम् समन्वय गर्ने छ । स्रोतको उपलब्धताको आधारमा प्रदेश सरकार र प्राधिकरणले दुवैको लागत साझेदारीमा आपसी सहमतिबाट थप रकम योगदान गर्न सक्ने गरी सहमति भएको हो ।
प्रकाशित मितिः १६ आश्विन २०७७, शुक्रबार १०:०६
साझा बिसौनी ।