आठमध्ये ६ जनाको मृत्युपछि कोरोना पुष्टि

कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ । बुधवार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । हालसम्म सुर्खेतमा पाँच, दैलेखका दुई र डोल्पामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

बुधवार वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी भेरीगंगा नगरपालिका–१ की ३५ वर्षीया एक महिलाको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शव बिहीवार नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु भएका आठ जनामध्ये ६ जनाको मृत्युपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेखको दुल्लू नगरपालिका–३ का ४५ वर्षीय एक पुरुष र सुर्खेतमा कार्यरत बाँके स्थायी ठेगाना भएका एक वरिष्ठ चिकित्सकको मात्रै कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएको हो ।

यस्तै दुल्लू नगरपालिका–११ दैलेखका ३५ वर्षीय पुरुषको पहिलो पटक कर्णालीमा कोरोनाका कारण मृत्युु भएको थियो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्युपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । दुल्लू नगरपालिका–१० का २१ वर्षीय अर्का पुरुषको पनि मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । डोल्पाको जगदूल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना संक्रमण रहेको पुष्टि हुन आएको थियो ।

यस्तै, सुर्खेतको पञ्चपुरी–१ का १८ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो । उनलाई पनि मृत्युपछि गरिएको स्वाब परीक्षण कोरोना भएको पत्ता लागेको हो । सिम्ता गाउँपालिका–८ की २५ वर्षीया महिलाले आत्महत्या गरिन् । उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा १४ दिन बसेर घर गए गएकी थिइन् । आत्महत्या गरेकी उनलाई पनि मृत्युपश्चात गरिएको परीक्षणबाट कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । मृत्युको मुख्य कारण अरु नै भए पनि कोरोना संक्रमण पुष्टि भए कोरोनाबाटै मृत्यु भएको मानिँदै आएको छ ।

यस्तै, बिहीवार कर्णालीमा थप एक सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ५६ जना पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ३८, जुम्लाका २१, कालीकोटका १३, दैलेखका १०, सल्यानका सात, मुगुका दुई र अन्य प्रदेशका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन हजार ४२ पुगेको छ ।

प्रदेश प्रमुखलाई संक्रमण

कर्णाली प्रदेशका प्रदेश प्रमुुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको छ । कलौनीलाई कोरोना संक्रमण भएको प्रदेश प्रमुुखको निजी सचिवालयले बिहीवार पुष्टी गरेको हो । सचिवालयले प्रेस विज्ञप्तीमार्फत प्रदेश प्रमुुख कलौनीलाई कोरोना संक्रमण भएको र उनका स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

सचिवालयका अनुसार उनी होम आइसोलेसनमा छन् । कार्यालयमा रहेका कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट टे«सिङको आधारमा उनको स्वाब परीक्षण गरिएको थियो ।

डा. सापकोटाको निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ । हाडजोर्नी तथा नशारोेग विशेषज्ञ सापकोटालाई कोरोना संक्रमण भएपछि असोज १ गते उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । सापकोटालाई भदौ २९ गते कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

डा. सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगन्जमा बिहीवार दिउँसो निधन भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले उनको निधनको पुष्टि गरे । सहकर्मी चिकित्सकहरूका अनुसार उनलाई फोक्सोको निमोनिया समेत भएको थियो । एन्टिबायोटिक्स, प्लाज्मा थेरापीलगायत रोगको प्रकृतिसँग सम्बन्धित सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । बाँकेको खजुरा गाउँपालिका–३ निवासी ५९ वर्षीय सापकोटा लामो समयदेखि सुर्खेतमा कार्यरत थिए ।

प्रकाशित मितिः   १६ आश्विन २०७७, शुक्रबार १०:०५