मिलापत्रमै टुङ्गिन्छन् हिंसाका घटना

प्रहरीमा आउने अधिकांश घरेलु हिंसाका घटना अदालतसम्म पुग्दैनन् । त्यस्ता प्रकृतिका घटना मिलापत्रमै टुङ्गिने गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउने घरेलुहिंसाका घटनाको गत चार वर्षको तथ्याङ्क हेर्दा ८५ प्रतिशत घटना मिलापत्रमै टुङ्गिने गरेको पाइएको हो । शारीरिक, मानसिक र आर्थिक रूपमा यातना दिएको भन्दै प्रहरीमा उजुरी आए पनि त्यस्ता घटना अदालतसम्म नपुग्ने गरेका हुन् ।

गएका चार वर्षमा एक हजार ६ सय ५० घरेलुहिंसाका घटना दर्ता भएका छन् । श्रीमान्ले मदिरा सेवन गरी शारीरिक यातना दिएको, खानलाउन नदिएको, गालीगलौच गरेको भन्दै दर्ता भएका उजुरीमध्ये एक हजार चार सय १४ घटना मिलापत्रमै टुङ्गिएका छन् । बाँकी दुई सय ३१ घटना अदालती प्रक्रियामा लगिएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा दर्ता भएका तीन सय ७२ घरेलुहिंसाका घटनामा मदिरा सेवन गरी शारीरिक यातना दिएको भन्दै ९८ उजुरी दर्ता भएका थिए । जसमध्ये ६८ घटना मिलापत्रमै टुङ्गिए । ३० वटा घटना मात्रै अदालती प्रक्रियामा लगियो । सोही आर्थिक वर्षमा मानसिक यातना श्रीमान् तथा घरका अन्य सदस्यले गालीगलौच गरेको भन्दै एक सय ६७ घटना दर्ता भएकोमा एक सय ५४ घटना मेलमिलापबाटै मिलाइयो । बाँकी १३ घटना अदालती प्रक्रियामा गए । आर्थिक तथा अन्य यातना दिएको भन्दै सोही आर्थिक वर्षमा दर्ता भएका एक सय सात घटनामा ९३ मेलमिलापमा टुङ्गिएका थिए भने १४ घटना अदालती प्रक्रियामा गएको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका चार सय ५९ घटनामा चार सय आठ वटा मिलापत्र गरिएको छ । तीमध्ये ५१ घटना अदालती प्रक्रियामा गएको प्रहरीले जनाएको छ । जसमध्ये मदिरा सेवन गरी श्रीमान्ले हिंसा गरेको भन्दै दर्ता भएका एक सय दुई घटनामध्ये ८८ मिलापत्र गरेको र १४ घटना अदालती प्रक्रियामा अगाडि बढाएको, मानसिक यातनाका दुई सय तीन घटना दर्ता भएकोमा एक सय ८८ मिलापत्र भएको र १५ घटना अदालती प्रक्रियामा गएका हुन् । आर्थिक यातना दिएको भन्दै सोही वर्ष दर्ता भएका एक सय ५४ घटनाका उजुरीमा एक सय ३२ मिलापत्र भएको र २२ घटना अदालती प्रक्रियामा गएको प्रहरीले जानकारी दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी कार्यपालिका सदस्य तथा सामाजिक समितिकी संयोजक यमुना नेपालीले विवादको प्रकृति अनुसार मेलमिलापबाटै विवाद समाधान गर्दा राम्रो हुने बताइन् ।

‘पीडक र पीडितको समझदारीमा मेलमिलाप गराउन सकिन्छ । त्यसका लागि पीडित पक्ष भने राजी हुनैपर्छ,’ उनी भन्छिन्, ‘मेलमिलाप एउटा पाटो हो तर घटना दोहोरिने अवस्थामा भने कुनै पनि हालतमा मेलमिलापबाट समस्या समाधान गर्न खोज्नु हुँदैन ।’ छलफल र मेलमिलाप समाधानको पहिलो माध्यम भए पनि हिंसाको उपचार भने नभएको उनी बताउँछिन् । हिंसा न्यूनीकरणका लागि महिलाहरूलाई उद्यमशीलतामा जोड्ने र शिक्षित गराउनुपर्ने नेपालीको तर्क छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा पनि घरेलु हिंसाका थुप्रै उजुरी प्रहरीमा आए । दर्ता भएका तीन सय ५३ उजुरीमध्ये दुई सय ९२ मेलमिलापमा टुङ्गिए भने ५६ घटना अदालती प्रक्रियामा गएका थिए । जसमध्ये मदिरा सेवनगरी शारीरिक यातना दिएको भन्दै दर्ता भएका एक सय २२ घटनामा एक सय चार मिलापत्र गरिएको हो । बाँकी १८ घटना अदालती प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक डिला विकले बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा दर्ता भएका तीन सय ५३ घटनामध्ये दुई सय ९२ मिलापत्र गरिएको छ । प्रहरी निरीक्षक विकले घटनाको प्रकृति हेरी मेलमिलाप गर्ने गरिएको जनाइन् । ‘दुवै पक्षलाई राखी छलफल गराइन्छ,’ उनले भनिन् ‘मिल्ने जस्तो भए सम्झाई–बुझाई मेलमिलाप नै गराउने गरेका छौं ।’

लैंङ्गिकहिंसा तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतकी सिनियर काउन्सिलर निशा पौडेलले समस्या पहिचान गरेर मात्रै मेलमिलाप गर्नुपर्ने औंल्याइन् । दुवैै पक्षलाई जित–जितको वातावरण सिर्जना गराउन सकियो भने मात्रै दिगो रूपमा समस्या समाधान हुने उनको भनाइ छ । उनी भन्छिन्, ‘फौजदारी कसूरका घटनाबाहेक अन्य घटना मेलमिलाप गराउँदा नै राम्रै हुन्छ ।’ पछिल्लो समय महिला हिंसाका घटनाहरू बाहिर आउने क्रम बढेको छ । हिंसाका घटना भए न्यायका लागि प्रहरी तथा अदालतसम्म सम्बन्धित निकाय पुग्ने गरेका हुन् । कतिपय हिंसाका घटना मेलमिलापबाट टुङ्ग्याइँदा पुनः दोहोरिएको पाइएको भन्दै त्यसका लागि कानुनी उपचार खोज्नु नै उपयुक्त हुने अधिकारकर्मीहरूले बताउने गरेका छन् ।

प्रकाशित मितिः   १६ आश्विन २०७७, शुक्रबार १०:०३