दुर्घटना नियन्त्रणको उपाय

सडक सुविधाका लागि बनाइएको पूर्वाधार हो । तर सही तरिकाले उपयोग गर्न सकिएन भने त्यो मानव जीवनकै लागि जोखिम बन्नसक्छ, दुर्घटनाको रूपमा । हरेक दिन साना तथा ठूला सडक दुर्घटना भइरहन्छन् । जसले धेरैको ज्यान लिइसकेको छ । कयौं अङ्गभङ्ग भएका छन् । दुर्घटना हुनुका अनेक कारण छन् । जसको पहिचान गरेर नियन्त्रण गर्न जरुरी छ । यसका लागि मानवीय सावधानी पहिलो आधार हो । कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुटिका कारण घट्ने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरूको ज्यान जाने गरेको हो । तथ्यांक हेर्ने हो भने पनि अवस्था डरलाग्दो छ । जस्तो कि प्रदेशमा गएको आर्थिक वर्ष २०७६÷०७७ दुई सय ३६ दुर्घटना भए । जसमा ९७ जनाको ज्यान गएको छ । २०७७ को साउन महिनामा प्रदेशभर २१ वटा दुर्घटना भएकोमा पाँच जनाको ज्यान गयो । यो क्रम बढ्दैछ, जुन चुनौति हो ।

दुर्घटनाका दोहोरिरहने कारण छन् । जसलाई नियन्त्रण गर्न सकिन्छ । न्यूनीकरण गर्न सम्भव छ । कर्णालीमा अधिकांश सडक कच्ची र जीर्ण छन् । बर्खायाम यस्ता सडक थप बिग्रने हुँदा दुर्घटनाको जोखिम पनि बढ्ने गरेको छ । नयाँ खोलिएका सडकहरू मात्रै होइन कर्णाली राजमार्गमा समेत दुर्घटना धेरै हुने गरेका छन् । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा राजमार्गको यात्रा पनि जोखिमपूर्ण भएको हो । सडकको कमजोर अवस्था एउटा कारण हो भने सवारी चालकहरूको लापरवाही अर्को कारण । यही लापरवाहीले स्वयम् चालकको ज्यान मात्रै जोखिममा हुँदैन अन्य थुप्रै यात्रुहरूको ज्यान पनि जोखिममा पर्ने गरेको छ । लामो रुटमा चल्ने केही सवारी साधनहरू बाहेक छोटा तथा सहरी क्षेत्रमा सञ्चालित अधिकांश सवारी साधनहरू पूराना छन् । प्राविधिक तथा यान्त्रिक रूपमा अनुपयुक्त सवारी साधन गुडिरहेका छन् । सवारी सञ्चालन गर्न हुने नहुने भेहिकल फिटनेश टेष्ट गर्ने प्राविधिक सम्बन्धी सवारीका श्रमिक सह–चालक हुने गरेको छ । सह–चालकबाट हुन नसके अनुभवका आधारमा बनेका मिस्त्रीबाट मर्मत हुने गरेको छ । जीर्ण सडक, जीर्ण सवारी साधन क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ ।

प्रत्येक वर्ष दुर्घटनामा यति ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि दुर्घटना न्यूनीकरणका क्षेत्रमा उल्लेख्य काम भने हुन सकेको छैन । प्रहरीले सवारी तथा ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ती कार्यक्रम पनि प्रभावकारी भने हुन सकेका छैनन् । दुर्घटनाको कारक सडक मात्र नभइ चालक तथा यात्रुहरूको लापरबाही पनि उत्तिकै छ । कर्णालीमा दुर्घटनाको स्थिति भयावह हुँदा यसलाई नियन्त्रण गर्न प्रभावकारी प्रयासहरू हुन सकेको छैन । अहिले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिंगो मुलुक नै खटिएको छ । तर वर्षेनी सडक दुर्घटनाले अन्य महामारीले भन्दा धेरैको ज्यान लिइरहँदा त्यसको नियन्त्रण प्राथमिकतामा नपर्नु विडम्बना हो ।

प्रकाशित मितिः   १३ आश्विन २०७७, मंगलवार १३:४८