विकासका कामले गति लिँदै

कोरोना भाइरस ‐कोभिड–१९) ले निम्त्याएको परिस्थितिका कारण बितेका केही महिना अन्य क्षेत्रजस्तै विकास निर्माणका काम पनि प्रभावित बने । स्थानीय तहहरूले सञ्चालन गरेका साना योजनादेखि राष्ट्रिय महŒवका निर्माणाधीन आयोजनासम्म यसको असर पुग्यो । लामो बन्दाबन्दीको मारमा परेका यी आयोजनाको कामले लकडाउन खुलेसँगै पछिल्लो समय फेरि गति लिन थालेका छन् ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कोरोना महामारीका कारण लामो समय प्रभावित भयो । लकडाउनका कारण आयोजनाको काम प्रभावित भएको हो । पहिलो चरणमा सुरुङ निर्माण गरेको आयोजनाले एक वर्षअघि दोस्रो चरणमा सिभिल निर्माणको काम सुरु गरेको थियो । बन्दाबन्दीले आयोजनाका कामहरू सहज रूपमा सञ्चालन हुन सकेनन् । लकडाउन खुलेयता आयोजनाको कामले गति लिन थालेको छ ।

आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले सबैतिर सहज बन्दै गएपछि आयोजनाको काम पनि अघि बढेको बताए । आवश्यक सामग्री र कामदार बाहिरबाट ल्याउनुपर्ने हुँदा काम प्रभावित भएको थियो । निर्माण कम्पनीले आयोजनाको कामलाई अब स्प्रिटका साथ अघि बढाउन तयारी थालेको छ । पहिलो चरणमा टनेल बोरिङ मेसिन (टीबीएम) को सहायताले सुरुङ निर्माण गरिएको आयोजनामा हाल दोस्रो चरणको काम भइरहेको छ । यसअन्तर्गत हेडवक्र्स, सर्ज साफ्ट र पावर हाउस निर्माणका कामहरू हुनेछन् ।

स्वीकृत संशोधित गुरुयोजनाअनुसार भेरी–बबई आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड रूपैयाँ हो । यसको ४० प्रतिशत बजेट सिभिल निर्माण अन्तर्गत खर्च हुने आयोजनाले जनाएको छ । ‘परिस्थिति सहज बन्दै गएपछि निर्माण कम्पनीले बाँध निर्माणको काम सुरु गरेको छ । मेसिन फिट हुँदैछ,’ सूचना अधिकारी उपाध्यायले भने, ‘केही मेसिन भारतबाट ल्याउनुपर्ने छ । यसका लागि कम्पनीले तयारी गरिरहेको छ ।’ उनले आयोजनाको कामले दशंैपछि पूर्ण रूपमा गति लिने बताए । भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

कर्णाली प्रदेशमा निर्माणाधीन अर्को ठूलो आयोजना जाजरकोटस्थित जलाशययुक्त नलगाड जलविद्युत आयोजना हो । बहुप्रतिक्षित उक्त आयोजना पनि बन्दाबन्दीका कारण प्रभावित भयो । करिब तीन महिनासम्म आयोजनाका काम ठप्प भए । अहिले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र सडक निर्माणको काम भइरहेको थियो । आयोजना प्रमुख रामगोपाल लगेजुले लकडाउनले प्रभावित भएको काम असारपछि सुरु गरिएको बताए । अहिले कामदार र आवश्यक सामग्री ल्याउन पाएपछि सडक निर्माण र डीपीआरको काम अघि बढेको उनी बताउँछन् ।

लकडाउनकै कारण प्रदेशमा निर्माणाधीन यस्ता थुप्रै आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । कोरोनाका कारण लकडाउन भएपछि रोकिएका विकास निर्माणका कामहरूलाई फेरि निरन्तरता दिन थालिएको छ । टेण्डर भएर काम सुरु भइसकेका तर कोरोना जाखिमका कारण रोकिएका योजनालाई पुनः अघि बढाइएको हो । अहिले सुर्खेतमा पनि विभिन्न ठाउँमा सडक तथा भवन निर्माणका कामहरू भइरहेका छन् । गएको चैतदेखि देशभर लकडाउन भएपछि यी सबै कामहरू ठप्प भएका थिए ।
सुर्खेतमा स्थानीय तह, प्रदेश र संघीय सरकारले सुरु गरेका सडकहरूको काम अहिले धमाधम भइरहेको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सडक निर्माण, स्तरोउन्नति तथा नाला निर्माणलगायतका सञ्चालन भइरहेका हुुन् । लकडाउन खुलेसँगै आवश्यक मजदुर र सामग्री ल्याउन सहज भएपछि विकास निर्माणका कामहरू पनि सञ्चालन गर्न सहज बन्दै गएको हो ।

प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक वासुदेव पौडेलले लकडाउनका कारण रोकिएका केही योजनाहरूलाई निरन्तरता दिइएको बताए । उनले भने, ‘टेण्डर भएर काम सुरु भइसकेका योजना लकडाउन भएपछि बन्द भएका थिए । अहिले काम गर्न सहज बन्दै छ । निर्माण सामग्री उपलब्ध भएका ठाउँहरूमा कामले निरन्तरता पाइरहेका छन् ।’

डिभिजन सडक कार्यालयले पनि रत्नराजमार्गमा पर्ने धुलियाविटदेखि बाङ्गेसिमलको फोरलेन सडकमा पर्ने पुल निर्माणको कामलाई निरन्तरता दिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले सडकमा पर्ने चार वटा पुलको काम अघि बढाइएको जनाए । स्थानीय तहहरूले पनि सडकलगायतका निर्माणका काम अघि बढाएका छन् । वीरेन्द्रनगर नगरपालिकाले पनि रोकिएका कामहरूलाई निरन्तरता दिएको जनाएको छ । नगर उप–प्रमुुख मोहनमाया ढकालले सडक, विद्यालय, स्वास्थ्यचौकीका भवन निर्माणका कामहरू भइरहेको बताइन् । कोरोना महामारीका कारण अघि बढ्न नसकेका योजनालाई क्रमागत रूपमा अघि बढाइएको उप–प्रमुख ढकाल बताउँछिन् ।

प्रकाशित मितिः   १३ आश्विन २०७७, मंगलवार १३:५०