कहाँ छ कर्णाली?

विभिन्न सूचकहरूमा कर्णाली निकै पछाडि रहेको छ भन्ने कुराहरू विगतदेखि नै सुन्दै आएको थिएँ । सञ्चारमाध्यममा आउने समाचार होस् या लेख र पुस्तकहरूमा पनि यसबारे चर्चा हुने गरेको छ । केही दिनअघि कर्णाली प्रदेश योजना आयोगले एउटा पुस्तक प्रकाशन गरेको छ । ‘दिगो विकासका लक्ष्यहरू, कर्णाली प्रदेशको आधार तथ्याङ्क प्रतिवेदन’ नामक उक्त पुस्तकमा कर्णाली प्रदेशका विभिन्न सूचकहरूको सिङ्गो मुलुक र अन्य प्रदेशहरूसँग तुलना पनि गरिएको छ । त्यसैलाई केन्द्रमा राखेर कर्णाली प्रदेश तुलनात्मक रूपमा तथ्याङ्कहरूमा कुन स्थानमा छ ? भन्ने सेरोफेरोमा यो लेख तयार पारिएको छ । तथ्याङ्कको प्रयोग कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गरेको सोही पुस्तकमा उल्लेख भएअनुसार तुलना गरिएको हो ।
कर्णाली प्रदेश भू–भागका हिसाबले सबैभन्दा ठूलो प्रदेश हो । यसले नेपालको कुल भू–भागको २१.६ प्रतिशत जमिन ओगटेको छ । वि.सं. २०६८ को जनगणना अनुसार कर्णाली प्रदेशमा नेपालको कूल जनसङ्ख्याको करिब ६ प्रतिशत मानिसहरू बसोबास गर्छन् । त्यसैले त यहाँको जनघनत्व देशभरको सबैभन्दा कम अर्थात् ५६ जना प्रति वर्गकिलोमिटर रहेको छ । जनसंख्या थोरै र क्षेत्रफल धेरै भएको भाग्यमानी प्रदेश हुनुपर्नेमा हामी विभिन्न कारणले अभागी प्रदेशको रूपमा परिभाषित भइरहेका छौं ।
अब गरिबीको कुरा गरौं । कर्णालीमा गरिबीको बयान गर्न कुनै तथ्याङ्क नै आवश्यक पर्दैन होला तर पनि तथ्यांकअनुसार कर्णाली प्रदेशका करिब २८.९ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । यहाँका नागरिकको प्रतिव्यक्ति आय ६ सय ६ डलर रहेको उक्त पुस्तकमा उल्लेख गरिएको छ । जबकी नेपालको समग्र प्रतिव्यक्ति आय एक हजार ३९ डलर रहेको छ । यसरी हेर्दा कर्णाली नेपालको तुलनामा आधा कदम पछाडि रहेको छ । तैपनि कर्णाली प्रदेश सरकारले कर्णाली केही वर्षमै कर्णालीका नागरिकको प्रतिव्यक्ति आय दुई हजार एक सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । तर व्यवहारिक रूपमा हेर्दा यो लक्ष्य पूरा गर्न निकै नै कठिन देखिन्छ । मुलुकको उपभोगमा आधारित गरिबी २५.१ प्रतिशत रहँदा कर्णालीको गरिबी ३८.८ प्रतिशत रहेको छ । यहाँका ३५.३ प्रतिशत बालबालिकाहरू गरिब रहेको तथ्यांकमा उल्लेख छ । मुलुकभर औषत २८ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहँदा कर्णाली प्रदेशको बहुआयामिक गरिबी ५१.२ प्रतिशत रहेको छ जुन अन्य प्रदेशहरूभन्दा उच्च हो ।
प्रदेशको साक्षरता ६२ प्रतिशत रहेको छ । जसमा पुरुषको ७२ र महिलाको ५३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । जब कि मुलुकको साक्षरता दर औषतमा ६७.९ प्रतिशत रहेको छ । करिब आधा नागरिक अझै कर्णालीमा निरक्षर रहेका छन् । कर्णाली प्रदेशको मानव विकास सूचाङ्क ०.४२७ रहेकोछ, जुन राष्ट्रिय औषत ०.४९ प्रतिशतभन्दा थोरै हो । विश्व बैंकको पछिल्लो तथ्याङ्कअनुसार नेपालीहरूको औषत आयु ७० वर्ष रहेको छ । कर्णालीबासीको औषत आयु करिब ६७ वर्ष रहेको प्रदेश योजना आयोगको उक्त पुस्तकमा उल्लेख गरिएको छ । जुन अन्य प्रदेशहरूका तुलनामा सबैभन्दा न्यून हो ।
कर्णाली प्रदेश भौतिक संरचनाका हिसाबले रणनैतिक सडक सञ्जाल एक हजार एक सय ३२ किमी रहेको छ । जसमध्ये ५१ प्रतिशत पक्की रहेको छ । त्यस्तै ३५ प्रतिशत धुलाम्य र १३ प्रतिशत ग्राभेल सडक छ । रणनैतिक सडक त आधामात्र कालोपत्रे छन् भने अन्य ग्रामीण सडकको हालत के हुनसक्छ ? त्यो हरेक कर्णालीबासीले भोगिरहेका छन् । तथ्यांकअनुसार ग्रामीण सडक आठ सय ५७ दशमलव तीन किमी छ जसमध्ये तीन प्रतिशत मात्र पक्की छ । बाँकी ९७ प्रतिशत सडकको हालत उस्तै हो ।
हालसम्म कर्णालीको ८.२५ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जोडिएको छ । यस्तै ४८ मेगाावाटको भेरी–बबई डाइभर्सन परियोजना, नौ सय मेगावाटको माथिल्लो कर्णाली विद्युत परियोजना, नलसिंहगाड, फुकोट, वेतन, जगदुल्ला, तिला लगायतका परियोजनाहरू निर्माणाधिन छन् ।
कर्णाली प्रदेशले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत भन्दा कम योगदान गर्छ । प्रदेशको कूल ग्रार्हस्थ उत्पादनमा जन प्रशासन र रक्षाको ११ प्रतिशत हिस्सा छ । क्रमशः शिक्षाको सात प्रतिशत, स्वास्थ्य र सामाजिक सेवा सात प्रतिशत, होटेल र रेष्टुरेण्ट पाँच प्रतिशत र अन्य सामुदायिक, सामाजिक र व्यक्तिगत सेवासम्बन्धी क्रियाकलाप पाँच प्रतिशत रहेको छ । कृषि, वन पैदावार, निर्माण र वित्तीय क्षेत्रको योगदान असाध्यै न्यून छ जुन क्रमशः ४, ०.७ र ०.९ प्रतिशत रहेको छ ।
सन् २०१८ को एक तथ्याङ्कअनुसार नेपालभर वित्तीय संस्थाका चार हजार दुई सय दुई शाखा–उपशाखाहरूमध्ये कर्णाली प्रदेशमा तीन प्रतिशत मात्र रहेका छन् । अन्य प्रदेशहरूको तुलनामा यो सबैभन्दा कम हो । यसका साथै प्रदेशको बैंकमार्पmत नगद सङ्कलन र ऋण प्रवाहको अवस्था जम्मा एक प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा बढी उत्पादन आलुको एक लाख ९९ हजार पाँच सय मेट्रिक टन, मकै एक लाख ५२ हजार पाँच सय ७७ मेट्रिक टन र दुध एक लाख ६० हजार सात सय ७२ किलोलिटर रहेको छ । प्रदेशको १५.५ प्रतिशत खेतीयोग्य जमिनको भू–भागमा मात्रै सिँचाइको सुविधा छ । जुन अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा कम हो । अर्थात् कर्णालीको करिब ८५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइको सुविधा छैन । कर्णाली प्रदेशले प्रत्येक वर्ष १६.८ हजार मेट्रिक टन खाद्य अपर्याप्तता भोग्दै आएको छ ।
डिजिटल संरचना र सूचना, सञ्चार तथा प्रविधिहरूको प्रयोगका हकमा १५–४९ वर्षका ६९.२ प्रतिशत महिलाहरूसँग मोबाइल फोन रहेको तथ्यांक छ । भने सोही उमेर समूहका महिलाको जनसंख्याको ७.१ प्रतिशत मात्रै इन्टरनेट चलाउँछन् । अर्कोतर्पm, उही उमेर समूहका मोबाइल प्रयोग गर्ने पुरुषहरूको सङ्ख्या ८३.६ प्रतिशत रहँदा झण्डै २८.१ प्रतिशतले इन्टरनेट चलाउँछन् । यसर्थ कर्णाली प्रदेशमा मोबाइल फोन र इन्टरनेटको प्रयोगमा पनि महिलाभन्दा पुरुष अगाडि रहेका छन् ।
अब रोजगारीको तथ्यांक हेरौं । मुलुक नै बेरोजगारी समस्याको चपेटामा रहेको छ । जसमा कर्णाली पनि बेरोजगारी समस्याको चपेटामा रहेको तथ्याङ्कले देखाउँछ । मुलुकको बेरोजगारी दर २७.७ प्रतिशत रहेको अवस्थामा कर्णाली प्रदेशको बेरोजगारी २२ प्रतिशत रहेको देखिन्छ । मुलुकको युवा बेरोजगारी दर २९.९ प्रतिशत रहेकोमा कर्णालीको दर पनि २९ प्रतिशत बढिरहेको तथ्याङ्कले देखाउँछ ।
यसरी विभिन्न सूचकका आधारमा हेर्ने हो भने कर्णाली प्रदेशको विकास र सुधारका लागि धेरै गर्नुपर्ने छ । विगतको केन्द्रीकृत व्यवस्थामा पीछडिएको कर्णाली आजको संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि माथि उठ्न सकिरहेको छैन । प्रदेश र स्थानीय सरकारका कार्यसम्पादन त्यति प्रभावकारी बन्न सकेका छैनन्, जति हामीले अपेक्षा गरेका छौं । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन लक्ष्य अघि सारिरहँदा विद्यमान कमजोरीहरूको सुधार र विकास अपरिहार्य छ । तीनै तहका सरकारको ध्यान त्यसतर्फ पुग्नुपर्दछ ।
प्रकाशित मितिः १३ आश्विन २०७७, मंगलवार १३:४७
साझा बिसौनी ।