आयोगको टोलीद्वारा कारागार अनुगमन

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले कारागारको अनुगमन गरेको छ । सोमवार आयोगका सदस्य सुदीप पाठकसहितको टोलीले कारागार कार्यालय सुर्खेतको अनुगमन गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को समयमा सबैभन्दा बढी असर कारागारमा भएका कैदीबन्दीहरूलाई परेको अनुगमनका क्रममा पाइएको टोलीले जनाएको छ । उक्त टोलीले देशभरका २७ वटा कारागारको अनुगमनपश्चात सुर्खेत आइपुगेको हो ।

सुर्खेतमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, प्रहरी प्रमुख, जेलरसहितको छलफलपछि कारागारको अनुगमन गरिएको आयोगका सदस्य पाठकले बताए । बन्दी जीवन बिताएकाहरूको अवस्था बुझ्न अनुगमनमा हिँडेको उनले जनाए । ‘कैदीबन्दीहरूको बसाइँको व्यवस्था राम्रो हुनुपर्छ,’ उनले भने ‘स्वास्थ्य सुरक्षाका सामग्री उनीहरूले पाएका छैनन् भने पाउनुपर्छ ।’ उनका अनुसार गत चैतदेखि आयोगको टोलीले देशभरका २७ जिल्ला कारागारमा अनुगमन गरेको छ ।

कारागार कार्यालय सुर्खेतकी जेलर लक्ष्मी खरेलले हालसम्म उक्त कारागारमा रहेका कैदीबन्दीहरूलाई कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिइन् । उनले कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा बन्दीहरूलाई बारम्बार बताउँदै आएको र यो अवधिमा परिवारका सदस्यलाई समेत भेट्न नदिइएको बताइन् । अदालतबाट थुनुवा आदेश भएकाहरूको समेत आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित पठाइने भएकोले पनि कारागारमा संक्रमण नफैलिएको जेलर खरेलको भनाइ छ । सुर्खेत कारागारमा हाल दुई सय ७८ जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित मितिः   १३ आश्विन २०७७, मंगलवार १३:४४