भोकमरीबाट जोगाउ

कोरोना भाइरस संक्रमणको महामारीले थुप्रै मानिसहरूको खाद्य सुरक्षा र जीविकोपार्जन जोखिममा पारेको छ । धेरैले आम्दानीको स्रोत गुमाए, रोजगारीका अवसर गुमाए । बेरोजगार भएर बस्नु परिरहेको छ । यसले गरिबीको दर झन बढाउनेछ । कर्णाली प्रदेश यसै पनि गरिबीले गाँजेको प्रदेश हो । यहाँका ५२ प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् । वर्षभरी खान–लाउनकै समस्या छ । दैनिक दुई छाक टार्नकै लागि तड्पिनुपर्ने अवस्थाबाट गुज्रिरहेका नागरिकहरूको जीविकोपार्जन अझ जोखिममा परेको छ । महामारी नियन्त्रणमा छैन । संक्रमण फैलिदंै छ । कोरोनाका सक्रिय संक्रमितको संख्या बढेमा सरकारले फेरि लकडाउन घोषणा गर्ने जनाएको छ । यस्तो समयमा नागरिकमा थप त्रास सिर्जना भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको महामारी तत्कालै नियन्त्रणमा आउने संकेत छैन । यो संकटकालीन अवस्था कहिलेसम्म लम्बिने हो भन्ने निश्चित छैन । यस्तो अवस्थामा हाम्रो जस्तो अल्पविकसित र गरीब मुलुकको हालत के होला ? नागरिकले बाँच्नका लागि कतिसम्म दुःख गर्नुपर्ने अवस्था आउँला ? प्रश्नहरू झन जटिल बन्दैछन् । कोरोना संक्रमण घटेको छैन । तथापि हाम्रो मुलुकमा भने मृत्युदर कम छ । निको हुनेको संख्या बढ्दैछ । यो खुशीको कुरा हो । तर मानवीय क्षतिका साथसाथै यसले अन्य क्षेत्रमा पारेको प्रभावको कुनै हिसाब छैन । लामो समय जारी बन्दाबन्दीबाट सिर्जित आर्थिक मन्दी होस् वा त्यसबाट तंग्रिन नसकेको वर्तमान अवस्था । अनिश्चित बनेको आगामी बाटो । यी सबै कुराले त्रसित बनाइरहेकै छ । कमजोर आर्थिक अवस्था र बेरोजगारी व्याप्त भएको यो स्थितिमा अर्को संकटको रूपमा भोकमरीले आक्रान्त बनाउने निश्चितप्राय छ । अहिले पनि मुलुक आर्थिक मन्दी, बेरोजगारी र भोकमरीबाट प्रभावित भइसकेको छ । दैनिक मजदुरी गर्ने मात्रै हैन, विभिन्न व्यवसायी गरिरहेका र निजी क्षेत्रमा रोजगारी गरिरहेकाहरू यतिबेला संकटमा छन् । उनीहरूको परिवार समस्यामा छ ।

मुलुकलाई महामारीबाट त जोगाउनु छ नै सँगसँगै राज्यको ध्यान नागरिकलाई भोकमरीबाट जोगाउनेतर्फ पनि केन्द्रित हुनु जरुरी छ । यही महामारीका कारण राज्यले अनुमान गरेभन्दा धेरैले रोजगारी गुमाएका छन् । उनीहरू उचित अवसरको खोजीमा छन् । भारतबाट रोजगारी गुमाएर फर्किएकाहरू अहिले पुनः रोजगारीको खोजीमा भारत पसेका छन् । यहीँ बसेकाहरूले काम पाइरहेका छैनन् । यो अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने कोरोना महामारीले भन्दा बढी भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था नआउँला भन्न सकिदैन । त्यसैले तुरुन्तै उपयुक्त कदम नचाल्ने हो भने अबका दिनमा अर्को संकटको सामना गर्नुपर्ने बाध्यता आइलाग्नेछ । सरकारको अबको योजना नागरिकलाई बेरोजगारी र भोकमरीबाट जोगाउने हुनु अपरिहार्य छ । विकास निर्माण वा भौतिक सुख सुविधाका जतिसुकै ठूला योजना ल्याए पनि आधारभूत प्राथमिकता भनेको नागरिकको जीउज्यानको सुरक्षा नै हो । यसका लागि खाद्य सुरक्षाको सुनिश्चितता गर्नु अनिवार्य छ । यो यस्तो अवसर पनि हो कि नागरिकलाई एउटै योजनामा समेटेर स्वरोजगार बनाउने र उनीहरूको श्रम, सीप र उर्जा मुलुकको बृहत्तर विकासमा लगाउने ।

प्रकाशित मितिः   ११ आश्विन २०७७, आईतवार १०:४७