सिजनमै छैन व्यापार

विगतका वर्षहरूजस्तो सामान्य परिस्थिति हुन्थ्यो भने यतिबेला व्यापारको सिजन हो । चाडपर्व नजिकिँदै छन् । चाडवाडको समयमा अरुबेलाभन्दा राम्रो व्यापार हुन्छ । कतिपय व्यवसायमा यही सिजनमा गरेको आम्दानीले वर्षभरी आइलाग्ने कारोसमेत टथ्र्यो ।

साउनदेखि आर्थिक वर्ष सुरु हुने तथा चाडपर्व पनि आउने हुँदा आर्थिक गतिविधि चलाएमान रहन्थ्यो । अघिल्ला वर्षहरूमा यो समयमा बजार किनमेल गर्नेको भिडले खचाखच हुन्थ्यो भने व्यापारीहरूलाई सामान बिक्री गर्न उस्तै भ्याइ–नभ्याई ।

तर, यो पटक अवस्था सामान्य रहेन । कोरोना संक्रमण तथा रोकथामका लागि झण्डै चार महिना देशभर पूर्णरूपमा लकडाउन भयो । यो अवधिमा सबैखाले धन्दा व्यवसाय बन्द भए । जसले गर्दा आर्थिक गतिविधि हुन सकेनन् । सरकारले लामो बन्दाबन्दी खुला गरेको पनि दुई महिना भइसकेको छ । यद्यपि बजार भने अझै राम्ररी बिउँझन सकेको छैन । कतिपय जिल्ला सदरमुकाम तथा स्थानीय तहहरूमा अहिले पनि आवतजावतमा कडाइ कायमै छ । कोरोना संक्रमणको त्रास पनि उस्तै छ । कर्णाली प्रदेशमा पनि दैनिकजसो संक्रमित थपिइरहेका छन् । कोरोनाको जोखिम हटिसकेको छैन ।

लामो बन्दाबन्दीपछि खुलेका बजारमा चहलपहल ह्वातै बढ्ने व्यवसायिहरूको अपेक्षा थियो । अब बिक्रीबट्टा रामै होला, उनीहरू आशामा थिए । चाडपर्व नजिकिँदै आएकाले थप व्यापार हुने अपेक्षा व्यवसायीको थियो । तर, उनीहरूले सोचेकोभन्दा बजारको अवस्था ठीक उल्टो भइदियो । ‘बजारभरी मान्छे छन् भएर के गर्नु व्यापार छैन,’ वीरेन्द्रनगर बजारका व्यवसायीहरू यसै भन्छन् । लकडाउन खुलेपछि तीजमा खुबै व्यापार हुने फेन्सी व्यवसायीले ठानेका थिए । यस पटकको तीजमा यहाँका फेन्सी पसलले एउटा पनि सामान बेच्न पाएनन् ।

सरकारले लकडाउन खोले पनि स्थानीय प्रशासनले तीजकै बेला वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको थियो । कपडा, गरगहना र विशेषगरी श्रृंगारका सामान बिक्री हुने यो बेला एउटा सारी पनि बिक्री गर्न नपाएको व्यवसायीहरू बताउँछन् ।

‘तीजमा एउटा सारी त बेचिएन ।

के–को व्यापार हुनु । अब दशैं तिहार पनि नजिकिँदै छन् । खै व्यापार भने छैन । यो साल पूरै कोरोनाले खाने भयो,’ वीरेन्द्रनगर–६ हटियालाइनमा फेन्सी पसल गर्दै आएकी तारा रिजालले भनिन् । उनले व्यवसाय गर्न थालेको थुप्रै वर्ष भयो । यो पटकजस्तो घाटा कहिल्यै व्यहोर्नु परेको थिएन । कोरोना संक्रमण फैलनुभन्दा पहिले उनले दैनिक सरदर २० हजारको व्यापार गर्थिन ।

निर्मला शाहीले वीरेन्द्रनगर बजारमै कोल्ड सेन्टर सञ्चालन गरेकी छन् । सधैंझै हिउँदमाभन्दा खडेरी र चार्डपर्वमा राम्रो व्यापार गर्ने उनलाई अहिले दिन काट्नै धौ–धौ भएको छ । उनी भन्छिन्, ‘व्यापार ठप्प छ । कहिलेसम्म बजार सुस्ताउने हो ? यस्तै भइरहने हो ?’ उनले सटर खोलेर कुर्ने काम मात्रै भएको सुनाइन् ।

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सानादेखि ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा छन् । कोरोना महामारीले सबै व्यवसायमा उत्तिकै क्षति पुगेको छ । ठूला व्यवसायीलाई बैंकको ऋण कसरी तिर्ने भन्ने समस्या छ भने साना व्यवसायीलाई दैनिक गुजरा चलाउनै मुस्किल छ । उनीहरू आर्थिक संकटमा छन् ।

उसो त कोरोना भाइरसको संक्रमणका कारण व्यापार व्यवसाय मात्रै होइन अरु क्षेत्र पनि निकै प्रभावित भएका छन् । दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग बढी प्रभावित छ । काम नपाउँदा उनीहरूलाई छाक टार्नै हम्मे–हम्मे हुँदै आएको हो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत निजी क्षेत्रलाई सरकारले बेवास्ता गरेकाले यस्तो अवस्था आएको बताउँछन् । रावत भन्छन्, ‘सरकारले फेरि व्यवसाय बन्द गराउने प्रयास ग¥र्यो भने देशकै अर्थतन्त्र धरापमा पर्छ । अब हामी कुनै पनि अवस्थामा व्यापार–व्यवसाय बन्द गर्न दिँदैनौं ।’

उनले व्यवसायीहरू यतिबेला ठूलो आर्थिक संकटबाट गुज्रिरहेको बताए । यदि व्यवसाय बन्द गर्ने नै भए व्यापारीको घरभाडा, बैंकको ऋण तिर्ने व्यवस्था सरकारले गर्नुपर्ने उनी बताउँछन् । अवस्था सामान्य हुँदै गए पनि आर्थिक गतिविधि भने उत्साहजनक नभएको उनको भनाइ छ । पसल खुलेर पनि कारोबार नभएपछि अहिले व्यापारीहरूलाई छट्पटी भएको छ । हिजो–आज बजारमा अत्यावश्यक र दैनिक उपभोग्य सामानबाहेकको कारोबारो नभएको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मितिः   ११ आश्विन २०७७, आईतवार १०:४६