आरन व्यवसायीलाई औजार

वीरेन्द्रनगरमा आरन व्यवसाय गर्ने १४ जनालाई आवश्यक औजारहरू सहयोग गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरका आरन व्यवसायीलाई आवश्यक सामग्री प्रदान गरेको हो । न्यून लगानीमा सीपमूलक व्यवसाय गरिरहेका उनीहरू कोरोना महामारीका
कारण आम्दानी नहुँदा समस्यामा परेका थिए ।
अन्तनिर्भर समाज, यूएनडीपी र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित परिवारलाई लक्षित गरेर वीरेन्द्रनगरका वडा नं. १०, ११ र १२ वडामा कोभिड–१९ रेस्पोन्स र सामाजिक तथा आर्थिक रिकभरी परियोजना लागू गरिएको छ । उक्त परियोजना अन्तर्गत आरन व्यवसायीलाई सहयोग उपलब्ध गराइएको हो ।
शनिवार वडा नं. ११ का ६ जना आरन व्यवसायीलाई आरन सम्बन्धी आवश्यक औजार वितरण गरिएको वडा अध्यक्ष नन्दलाल शर्माले बताए । उनका अनुसार आरन व्यवसायीलाई वेल्डिङ्ग मेसिन, पङ्खा, रेफि, ग्रिन्डर लगायतका आवश्यक सामग्री सहयोग गरिएको हो । अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले आरन व्यवसायीलाई थप व्यावसायिक बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले ती सामग्री वितरण गरिएको छ । परियोजनामार्फत कोरोना प्रभावित भएका परिवारलाई लक्षित गरेर तरकारी खेतीमा पनि सहयोग गरिरहेको उनले बताए ।
प्रकाशित मितिः ११ आश्विन २०७७, आईतवार १०:४४
साझा बिसौनी ।