चार जिल्ला संक्रमणमुक्त

कर्णाली प्रदेशका चार जिल्ला कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । प्रदेशका हुम्ला, मुुगु, कालीकोट र जुम्ला संक्रमणमुक्त भएका हुन् । यी जिल्लामा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार जुम्लामा एक सय ९१, हुम्लामा ११, मुगुमा १४, कालीकोटमा एक सय २० जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरू सबै निको भएको र नयाँ संक्रमित फेला नपरेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।

यस्तै शनिवार प्रदेशमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । महाशाखाका अनुसार तीन सय १० जनामा परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य शिक्षा अधिकृत कँडेलले शनिवार सुर्खेतका ३६, सल्यानका ६, दैलेखका तीन र अन्य प्रदेशका तीन जनामा संक्रमण देखिएको जनाए । योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या तीन हजार तीन सय ६४ पुगेको छ । संक्रमितमध्ये दुई हजार आठ सय १० जना संक्रमणमुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ११ आश्विन २०७७, आईतवार १०:४३