बुवाको इच्छाले आयुर्वेद पढें
डा. शंकरप्रसाद रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पतालका प्रमुुख छन् । उनी दैलेखको भैरबी गाउँपालिका–२ हुमे (तत्कालीन रावतकोट गाविस) का स्थायी बासिन्दा हुन् । २०४७ सालमा जन्मिएका रिजाल बुवा कृष्णप्रसाद शर्मा उपाध्याय र आमा कल्पनादेवी उपाध्यायका छैटौं सन्तान हुन् । रिजालले हाम्रा सहकर्मी मुना हमालसँग बालापनको अनुभव यसरी साटेका छन् :
म मध्यम परिवारमा जन्मिएँ । हाम्रो संयुक्त परिवार हो । आठ भाइ र दुई बहिनीमध्येको म छैटौं सन्तान । अझै पनि हामी संयुक्त परिवारमै छौं । मेरो बुवा ग्रामीण स्वास्थ्य कार्यकर्ता हुुनुुहुन्थ्यो । आमा घर व्यवहारकै काममा व्यस्त । हाम्रोतिर पानीका अलि बढी नै दुःख थिए । पानी लिन टाढा जानुपर्ने । सानो छँदा पानी ओसारेको निकै याद आउँछ । केटाकेटीमा ठूलो भाडा बोक्न नसक्ने । सानो जर्किनमा १५÷२० पटक पानी ओसारेपछि एउटा तामाको ठूलो गाग्री भरिन्थ्यो । त्यसबेलामा कुवा र खोलाबाट पानी बोक्नुपथ्र्यो ।
घरमा गाईवस्तु धेरै हुुन्थे । घाँस काट्न जाने, गाईबाख्रा लिएर गोठाला गइन्थ्यो । बिहान एक डोका घाँस काटेर ल्याएपछि मात्र स्कुल जान्थ्यौं । यो हाम्रो दैनिक काम हुन्थ्यो । पढ्ने भनेको त घरायसी कामबाट फुर्सद भएपछि मात्रै हुन्थ्यो । म घाँस काट्न र रुख चढ्न सिपालु नै थिए । गाउँघरमा प्रायः कामकै दुःख हुन्थ्यो । बुवाको एकल कमाइले मात्र हाम्रो पढाइदेखि घर खर्च धान्नुपर्ने बाध्यता थियो । खेती लगाएपछि राम्रै उब्जनी हुन्थ्यो । खानलाउनका समस्या उति भोगिएन । कामको दुःख भए पनि खाना लाउन भने दुःख भएनन् ।
बुुवाआमाले हाम्रो पढाइका लागि धेरै दुःख गर्नुभयो । उहाँहरूले जहिले पनि हाम्रै भविष्यको चिन्ता गर्नुहुन्थ्यो । त्यस बेलामा मेरा दुई जना दाइ काठमाडौं पढ्नुहुन्थ्यो । अहिलेको जस्तो फेरि–फेरि नयाँ कपडा लगाउने भन्ने हुन्थेन । नयाँ कपडा लगाउने भनेकै चाडपर्वमा हो भन्ने बुुझाई थियो । दशंै तिहारमा विशेष गरेर नयाँ कपडा लगाउन पाइन्थ्यो । नयाँ कपडा लगाएको दिन रमाइलो हुन्थ्यो । सानो हुँदा हाम्रो हेरचाह फूपुले गर्नुुभयो । पहिले सानै उमेरमा विवाह गरिदिने चलन थियो । मेरो फुपुको ६ वर्षको उमेरमा विवाह भएको रहेछ । सात वर्षको उमेरमा विधवा भएपछि उहाँ माइतमै बस्नुहुन्थ्यो । उहाँले हाम्रो रेखदेख गर्नुहुन्थ्यो ।
मैले कक्षा १ देखि आठसम्म पञ्चदेवल माविमा पढेँ । २०६०/६१ सालतिर माओवादी द्वन्द्व चर्किएको थियो । गाउँमा सहज रूपमा बस्ने वातावरण थिएन । त्यसपछि बुबाले म र बहिनीलाई पढाउन सुर्खेत पठाउनुभयो । मैले यहाँ आएर जन माविमा कक्षा ९ र १० पढेँ । पढाइ ठिकै थियो । घरायसी कामसँगै पढाइलाई अघि बढाउनुपर्ने बाध्यता हुन्थ्यो । त्यसबेलामा कापी कलम अहिलेको जस्तो सस्तो हुन्थेन । लालीगुुराँस कपी पाइन्थ्यो । एउटा कपी तीन महिनासम्म पुग्थ्यो । अहिले हरेक किताबको छुट्टाछुट्टै कपी हुन्छ । हामीले सबै विषयको गृहकार्य एउटैमा लेख्ने गथ्र्यौं । गाउँभरीका केटाकेटी साँझपख हाम्रै घरमा जम्मा भएर पढ्थे । मेरो दाइ शिक्षक हुनुहुन्थ्यो । उहाँले सबैलाई पढाइमा सहयोग गर्नुहुुन्थ्यो । लान्टिन बालेर सबै जना वरीपरी बसेर पढेको सम्झना आइरहन्छ ।
म सानोमा शान्त स्वभावको थिए । त्यसबेलामा समय अनुसार खेल्ने रमाउने हुन्थ्यो । गर्मीको सिजनमा हामी खोलाहरूमा पौडी खेल्न जान्थ्यौं । चैतदेखि जेठसम्म खोलामा पौडी खेलेर रमाउँथ्यौँ । आमाले खोलामा नजाउँ भन्दा भन्दै पनि भागेर जाने । घर नजिकै छामघाट भन्ने खोला छ । त्यो समयमा हामी दैनिकजसो खोला खेल्न जान्थ्यौं । पौडी खेल्न र बालुवामा उफ्रन खुब मजा लाग्थ्यो । गाउँमा अहिले मिलहरू छन् । उतिबेला पिठो पिस्न घट्ट गइन्थ्यो । मकै, गहुँ पिस्न घट्ट जान्थ्यौं । कहिलेकाहीँ खेल्दाखेल्दै भोक लाग्थ्यो । घट्टमा भएको काँचो पिठो पनि खाइन्थ्यो । अरुको बारीको प्याज उखेलेर पनि खाइयो । घट्ट जाँदा कहिले लडेर पिस्न लगेको अन्न पोखिन्थ्यो । फर्किंदा खोला तर्ने बेला पिठो भिज्थ्यो । यसरी पिठो भिजाएर ल्याए घरमा गाली खाइन्थ्यो । अहिले उतिबेलाका दिनहरू सम्झदा रमाइलो लाग्छ । राति टहटह जुन लागेको समयमा खेतमा गएर खेल्थ्यौं । मेरो उचाइ अग्लो भएकाले प्रायः खेलहरूमा मैले जित्ने गर्थे । कपडाको भकुण्डो बनाएर खेल्थ्यौं । हरेक खेलहरूमा मैले जितिहाल्छुु भनेर साथीहरू प्रायः मेरो समूहमा बस्न रुचाउँथे ।
हाम्रो घरमा मेडिकल थियो । कहिलेकाहीँ औषधि लिन बजार (सदरमुकाम) आउनुपथ्र्यो । दैलेख बजार आउन हिँडेर तीन चार घण्टा लाग्थ्यो । त्यसबेला गाउँमा गाडी जान्थेनन् । सडक बन्दै थियो । औषधिको भारी बोकेर हिँड्दा धेरै धौ हुने । सानो छँदा यो नै बन्छु भन्ने त्यस्तो केही लक्ष्य थिएन । बुवाको इच्छा आयुर्वेदतर्फ पढाउने थियो । सायद उहाँ पनि स्वास्थ्यकर्मी भएर होला । बुबाकै चाहनाअनुसार मैले आयुर्वेद चिकित्सा पढेँ । आयुर्वेद चिकित्सक पढ्नका लागि मैले सरकारी छात्रवृत्ति पाएको हुँ ।
प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार ०८:४९
साझा बिसौनी ।