प्रदेश संसद् अझै अनिश्चित
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको दुई महिनाभन्दा बढी समय भइसकेको छ । प्रदेश संसद् चल्नेबारे अझै अनिश्चित छ । असार २७ गते छैटौं अधिवेशनको २९औं बैठक बसेको थियो । उक्त बजेट अधिवेशनले चालु आर्थिक वर्षका लागि बजेट र केही विधेयकहरू पारित गरेको छ । त्यसयता प्रदेशसभाको बैठक स्थगित भएको हो । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बजेट अधिवेशन प्रभावित भएको थियो । कोरोना संक्रमणको जोखिम उच्च भएपछि अधिवेशन पूरा नहुँदै बीचमै स्थगित गर्नुपरेको हो । सरकारले विजनेश दिन नसकेका कारण पनि लामो समयसम्म बैठक सुरु हुन नसकेको बताइएको छ ।
बन्दाबन्दी खुलेर सबै क्षेत्र सामान्य गतिविधिमा फर्कन थाले पनि अझै कोरोना संक्रमणको जोखिम टरिसकेको छैन । जसका कारण बैठक सञ्चालन गर्न चुनौति देखिएको छ । यद्यपि तत्काल विजनेश नभएकाले बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि पनि कर्णाली प्रदेशसभाका कतिपय बैठक सरकारले विजनेश नदिँदा पटक–पटक स्थगित हुँदै आएका थिए ।
प्रदेशसभा सचिवालयका सचिव जीवबहादुर बुढाथोकीले विजनेश नहुँदा र कोरोनाका कारण पनि बैठक बस्न नसकेको जानकारी दिए । ‘बर्खे अधिवेशनले मुख्य बजेट पास गर्ने हो । यस अधिवेशनले बजेट पास गरेको छ । केही विधेयकहरू पारित गरेर बैठक स्थगित भएको हो,’ उनले भने । अधिकांश प्रदेशसभा सदस्यहरू यतिबेला आ–आफ्नो निर्वाचन क्षेत्रतिरै छन् । सचिव बुढाथोकीले अबको केही दिनभित्र बैठक बस्न सक्ने बताए । केही विधेयकहरू समितिमा छलफलकै क्रममा रहेकाले त्यहाँ टुङ्गिएपछि बैठकबाट पारित गर्ने गरी बैठक बोलाउन सकिने उनको भनाइ छ । समितिमा छलफलका क्रममा रहेका विधेयकलाई टुङ्ग्याउन संसदीय समितिहरूले भने काम गरिरहेको उनले जनाए । ‘मिनी संसद्’ का रूपमा हेरिने संसदीय समितिले अधिवेशन स्थगित भएका बेला पनि सक्रिय रहेर आन्तरिक काम गरिरहेका हुन् ।
सभामुख राजबहादुर शाही यो महिनाको अन्तिमतिर बैठक बस्ने गरी सरकारसँग छलफल थालिएको बताउँछन् । असोज २२ देखि २५ गतेभित्र बैठक बस्नेगरी तयारी थालिएको उनले बताए । ‘विभिन्न कारणले लामो समयदेखि बैठक बस्न सकेन । बैठक सञ्चालन गर्ने विषयमा सरकारसँग छलफल भइरहेको छ । यसको टुङ्गो अब छिट्टै लाग्छ,’ सभामुख शाहीले भने ।
प्रदेश सरकारले भने विजनेश नभएका कारणभन्दा पनि कोरोनाका कारण बैठक बस्न नसकेको जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब दशैंअघि बैठक बोलाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको बताए । उनी भन्छन्, ‘विजनेश नभएर भन्दा पनि कोरोनाको संक्रमण बढेकोले सदन स्थगित गरिएको हो । अब एक पटक बैठक राखेर बजेट अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।’ कोरोना संक्रमण बढेकाले पनि संवेदनशील अवस्थाका कारण संसद् बस्न नसकेको उनी बताउँछन् । करिब साढे दुई महिना हुनै लाग्दा सरकारसँग जोडिएका र जनसरोकारका धेरै विषय उठिरहेकाले सरकारले तत्काल संसद्को आवश्यकता महसुस गर्नुपर्ने प्रदेशसभा सदस्यहरूले बताएका छन् ।
प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार ०८:३२
साझा बिसौनी ।