मारमा मजदुर

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण निजी क्षेत्र धराशायी हुँदा त्यसको प्रत्यक्ष मारमा मजदुरहरू परेका छन् । उद्योग तथा व्यवसायहरू लामो समय बन्द रहँदा मजदुरले रोजगारी गुमाउनु परेको हो । नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको सरोकारवालासँग सामाजिक संरक्षण तथा न्यूनतम ज्यालासम्बन्धी छलफलका सहभागीहरूले अहिले मजदुरहरू सबैभन्दा बढी मारमा परेको बताएका हुन् ।

कोरोनाले सम्पूर्ण उद्योगी व्यवसायी मारमा परेकाले त्यसको प्रत्यक्ष असर मजदुर वर्गमा पनि परेको उनीहरूको सरोकारवालाहरूले बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कोरोनाले सम्पूर्ण व्यवसाय धराशायी भएको भन्दै यसको प्रत्यक्ष असर मजदुरमा देखिएको जनाए । उद्योगी व्यवसायीले आफ्ना मजदुरको संरक्षण गरिरहेको भए पनि नियमित व्यवसाय सञ्चालन नहँुदा समस्या सिर्जना भएको उनले बताए ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले सरकारले यातायात मजदुरको संरक्षण गर्न नसकेको बताए । उमेर हुँदासम्म काम गर्ने र पछि श्रम गर्न नसक्ने भएपछि जीविकोपार्जनमै समस्या हुने गरेकाले सरकारले यातायात मजदुरको बिमा, स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । श्रमिकले पाउनुपर्ने ज्याला समयमा उपलब्ध गराउने तथा सरकारले मजदुरको हितका लागि बनाएका नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने छलफलका सहभागिए बताएका थिए ।

उक्त छलफलमा नेपाल ट्रेड युनियन महासंघ ‐जिफन्ट)का कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसी, कर्णाली प्रदेशसभा सांसद ठम्मर विष्ट, नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपालकृष्ण गिरीलगायतले आफ्ना धारणा राखेका थिए । कोरोनाले निम्त्याएको जटिल परिस्थितिका कारण मजदुरलाई रोगलेभन्दा पनि भोकको चिन्ता भएको भन्दै उनीहरूले त्यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित मितिः   १० आश्विन २०७७, शनिबार ०८:३०