गाइज

खस साम्राज्य अघिको कर्णाली

महेश नेपाली

‘हेलो गाइज,’ सदाझैं आइतेको परिचित आवाज बाँकी सबैको कानमा पुग्न पाएको हुँदैन रहिना झर्कीहाल्छे, ‘हेलो न सेलो । यो साला जुम मिटिङ पनि अब बोरिङ लाग्न थालिसक्यो । भेट्न नपाएर तनाव हुन थाल्यो । भनेको दिन मिटिङ हुन्न । सोचेको कुरा गर्न पाइन्न । मलाई त कहिले कलेज लाग्ला र सबैसँग भेट गरौंला भइसक्यो ।

हिजो मिटिङ गर्ने भनेको के भयो र मिटिङ क्यान्सिल्ड भयो नि, आईटी इन्जिनियर महोदय ?’

‘ह्या ! यो रहिना ठिस छ यार, साथीहरूलाई हाइ पनि भन्न दिन्न । तलाई के थाहा जुम्लामा हरेक महिना बिल आउँछ तर बत्ती आउदैन भन्ने कुरा । एकातिर प्रविधिको फूल यूजर भइएको छ, अर्कोतिर कहिले बत्ती त कहिले टेलिकमको के के न जी भनेर पनि कुरा हुन पाउँदैन । अब आफै भन न म के गरौं ? सकेको त गरेकै छु नि ।’

‘रहिनाको प्यासन छैन क्या । यो जहिल्यै हतारिन्छ । एकछिन प्रतिक्रिया नदिए नि हुन्छ नि । अब विस्तारै मान्छेहरू सुरक्षाका उपाय अपनाएर हिँड्डूल गर्दैछन् । जनजीवन एक हिसाबले सहज होला । स्कुल कलेजहरू पनि खुल्लान् । अनि हामी भेट्न पाइहाल्छौं नी । यो जुम सधैंको लागि त कहाँ हो र ?’

महाशंकरको लेक्चर सुन्दा पनि रहिनाले प्रतिक्रिया दिइन् । यत्ति भनी, ‘ठिकै छ त । तँ भन्छस् भने चुप लागिदिउँला नि ।’

०००

‘अरे आइते ! तेरो ब्रेकअप भएको हो ?’ बक्राम चट्याङ परेजस्तरी प्रश्न गर्छ ।

‘हेहे कसरी थाहा पायौं नि ? कहाँबाट अचानक यो कुरा ?’ सिनियर दिदीको अर्काे प्रश्न ।

‘ह्या दिदी पनि । अस्ति रहिनाले सुनाएको पैठको कहानीको लाष्टमा के त्यो नआयै पुनिका रात मायाजाल छुटिगो भन्ने गीत बिर्सनु भयो ।’

‘ए कुरा यस्तो पो ! भनेपछि यो छ्यापुल्लीले स्टोरी टेल गरी । अरु के–के भनी त ?’ आइतेको प्रश्न ।

‘पैठको बारेमा सबै कुरा देखेजसरी भनी नि । अब यसलाई संस्कृतिबारे लेख्न लगाउनु पर्ने भयो । यत्ति हो तेरो ब्रेकअपले यो दुखी थिइ ।’ महाशंकरले बेलीबिस्तार लायो ।

‘के को ब्रेकअप हुनु हो ? लाष्टमा स्टोरीमा थोरै सेन्टिमेन्ट दिएको नि । खास केही भएको छैन ।’

‘कहानीमा यस्तरी टुइष्ट हुने भएपछि के को संस्कृतिबारे लेखिएला र ? त्यसमाथि यो आइते जस्तो फटाहले इन्फर्मेसन दियो भने त म एकछिनमै फेल भइहाल्छु नि हे हे ।’

‘होइन होइन । पैठबारेको लगभग सबै कुरा सही छ । केही थपघट अरु मान्छेसम्म पुग्दा र सोधपुछ गर्दा थाहा भइहाल्छ । कर्णालीको हरेक मान्छे सूचनाको गतिलो स्रोत हो । यहाँका मान्छेलाई हेयको नजरले हेरिएर मात्र हो । तर यहाँका सबै मान्छे बाठा छन् । त्यसै भोट मधेस गर्न सक्छन् ? सभ्यताबारे थोरै जानकारी नभएको को छ र ? त्यसैले रहिना ढुक्क भएर आउँदा हुन्छ, अध्ययन गरेर लेख्दा हुन्छ ।

सहयोग आइतेले नै गर्छ ।’

‘दिदीले भनेपछि त समस्या नै भएन नि । ल मेरो जिम्मेवारी भयो है त ।’ रहिना खुशी भइ ।

‘साँच्चै दिदी हामी त हेपिएका हेपियै भयौं । गोर्खालीहरूले षड्यन्त्र गरी कब्जा जमाए यता हाम्रा कुदिन सुरु भए । हामीलाई दबाउन सुरु गरियो । उहिले जितेको

शक्तिदेखि अहिले सहकार्य गरेको राजनीतिक परिपाटीसम्म सबैको नजर हामीप्रति उस्तै छ ।

कोभिड–१९ अगाडि कर्णालीबाट भारत जानेको संख्या उच्च थियो । उताबाट फर्किदा सुरक्षाको उपाय नअपनाउँदा संक्रमणको त्रास उसैगरी बढ्यो । सुरुमा ग्रिन जोन मानिएको कर्णाली रेड जोनमा प¥यो ।

केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म सबैले उताबाट आउँदा रोजगारी खोसिएकाहरूलाई काम दिने कुरा गरे । तर यस्तो जोखिममा पनि फेरि भारत पस्नेको संख्या घटेन । कहाँ गयो रोजगारी ?

रोजगारीको नाममा बाटो खन्ने योजना बनाउँदा डोजर मालिक वडा अध्यक्ष, गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुख, सांसदहरूको मात्र कमाइ भयो । उनीहरू मात्र मोटाए । बाँकी कर्णालीबासीका दिन कहिले काला पहाड त कहिले चिसा पाटनका जडिबुटी खोज्दै गए । न काला पहाडले उभो लगायो न त बहुमूल्य जडिबुटी खोज्दा पनि स्वास्थ्य बलियो हुन पायो ।

मलाई लाग्छ लेख्नुपर्ने विषय अरु पनि छन् । शासकहरूको नजरबारे निकै कम लेखियो । यहाँका नागरिकहरूले १८४६ पछि भोगेको पीडाको पहाड फोट्नुपर्ने गरी कसैले लेखेन, बोलेन । खाली दुःख बेचेर डलरको खेतीमात्र गरियो । जसबाट सीमित मुठ्ठीभर नागरिकले मात्र फाइदा उठाए । रहिना तँ संस्कृतिबारे लेख्छस् भने ठीक छ । मैले सकेकै सहयोग गर्छु । तर संस्कृतिमा भएको अतिक्रमको विषयमा लेख्न छोड्नु हुन्न ।’

‘आइतेले सही विषयको उठान गरेको छ । यो विषयमा दिदीले पनि केही बोल्दिनु भएको भए अलि सजिलो हुन्थ्यो ।’ बक्रामको आग्रह ।

‘मैले बोल्नुपर्ने खासै केही छैन । तर हामी कर्णाली पढ्नेहरू खस साम्राज्यबाट यता मात्र पढिरहेका छौं । त्यसैलाई गर्व गरिरहेका छौं । त्यो पनि मेटाउन १८४६ पछि राज्यसत्ताले दबाउन सुरु ग¥यो । तर खस साम्राज्य भन्दा अगाडि के थियो ? यो विषयमा पनि अध्ययन जरुरी हुनेछ । जस्तो ११औं शताब्दीको अन्त्यतिर कर्णाली पसेका खसहरूको साम्राज्य १६ औं शताब्दीमा बिगठन भइसकेको थियो । त्यो अवधिमा सभ्यताको विकास भएको कल्पना गर्न सकिदैन । यो हिसाबले ११औं शताब्दी अगाडि पनि कर्णालीको अस्तित्व थियो र त्यो यहाँको मौलिक सभ्यता हो भनी बुझ्नुपर्ने हुन्छ । बाजागाजाको नामसँग नदीनालाका नाम जोडिनु । हिन्दु धर्म मान्नेले मष्टो परम्परा अंगाल्नु यी प्रमाण हुन । यीनको जरा खोतल्नु आवश्यक छ । अर्काे कुरा मष्टो पुजक खसहरू आउनु अघिको समुदाय हो र डांग्री हालका कामी जाती हुन् । यसले हाम्रो अध्ययनलाई अझ खँदिलो बनाउन मद्दत गर्छ । बाँकी आइतेले भनेको कुरा सबै सही छन् । हामीले केही गर्ने कोशिस गरौं न ।’

‘दिदीले अझ प्रष्ट पार्नुभयो । अब कलेज सरु भएपछि काम गर्नु पर्छ है । आइते टाइम कति छ हेर त ?’

‘छैन, सकियो ।’

प्रकाशित मितिः   १० आश्विन २०७७, शनिबार ०८:५३