नेता कंडेलले अतिरिक्त सुविधा नलिने

कर्णाली प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)का नेता यामलाल कंडेलले प्रदेश सरकारले विपक्षी दलको नेतासरह उपलब्ध गराउँदै आएको सेवा–सुविधा नलिने बताएका छन् । नेता कंडेलले भाद्र ३० गते प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा–सुविधा साउनदेखि नलिने बताएका हुन् । उनले चालु आर्थिक वर्षदेखि आफूले प्रदेशसभा सदस्यको हैसियतले पाउने सुविधा मात्र उपलब्ध गराउन मागसमेत गरेका छन् ।

‘प्रदेश सरकारको मिति २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा सुविधा लिइरहेकोमा २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा–सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा– सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु,’ प्रदेशसभा सदस्य कंडेलले सचिवालयमा दर्ता गराएको निवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारको २०७५ असार १६ गते मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको प्रस्तावमा पूर्वमन्त्री एवम् प्रदेशसभा संसदीय दलका पूर्वनेता यामलाल कंडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । नेता कंडेलले सरकारले गलत निर्णय गरेको कारण आफ्नो नाममा बेरुजु देखिएको भन्दै यो सैद्धान्तिक बेरुजु भएको जिकिर गरेका छन् । ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि नै मैले सुविधा लिएको हुँ,’ उनले भने ‘सैद्धान्तिक बेरुजु भएकाले गलत निर्णय गर्ने निकायले नै यसको फछ्र्याैट गर्नुपर्छ ।’

कंडेलका नाममा बेरुजु देखिएपछि उनको आलोचनासमेत भएको थियो । ‘सरकारले निर्णय गरेको सुविधा लिँदासमेत कानुन विपरीत गरेको जसरी आलोचना भएपछि मैले साउनदेखि उक्त सुविधा नलिने निर्णय गरेको छु,’ नेकपाका कर्णाली प्रदेश सह–इन्चार्जसमेत रहेका कंडेलले भने । महालेखाले देखाएको बेरुजु आफूले प्रत्यक्ष बुझेको नभइ सरकारको गलत निर्णयको कारण आफ्नो नाममा खर्च देखिएको उनको भनाइ छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७७, बिहीबार ०८:५६