छुटेनन् पानीका दुःख

कर्णालीका १३ प्रतिशत नागरिक अझैं आधारभूत खानेपानीबाट वञ्चित

कर्णाली प्रदेशका कतिपय बस्ती अहिले पनि आधारभूत खानेपानीको सुविधाबाट वञ्चित छन् । ती बस्तीहरूले खोला तथा नदीकै पानी प्रयोग गर्दै आएका छन् । खानेपानीको सुविधा नहुँदा प्रदेशमा ठूलो जनसंख्या अझै पनि दूषित पानी पिउन बाध्य भएको हो । नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । सरकारले सन् २०१९ मा सबै नागरिकको पहुँचमा आाधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको भए पनि अझै पूरा हुन सकेको छैन ।

कर्णालीमा १३ प्रतिशत जनसंख्या अहिले पनि आधारभूत खानेपानीको पहुँचमा छैन । यहाँका धेरै नागरिक खुला पोखरी, खोला–खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेश सरकारले अबको चार वर्ष अर्थात् वि.सं. २०८०/०८१ सम्म ६ सय खानेपानी आयोजना निर्माण गरी ९५ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलश्रोत तथा उर्जा विकास महाशाखाका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले आर्थिक वर्ष २०८०/०८१ सम्म एक घर एक धारा कार्यक्रममार्फत सात दशमलब ६१ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको बताए ।

संघीय सरकारले सार्वजनिक गरेको ‘खानेपानी तथा सरसफाइको अवस्था चित्रण–२०७५’ अनुसार कर्णालीमा अझै ५० हजार घरधुरी आधारभूतस्तरको खानेपानीबाट वञ्चित छन् । प्रदेशमा पाइप प्रणालीबाट वितरण गरिएको पानी ८० प्रतिशत जनसंख्याले प्रयोग गर्छन् । सुरक्षित श्रोतको पानी पिउने जनसंख्या भने दुई दशमलब ५१ प्रतिशत मात्र छ । त्यस्तै, ट्यूबवेल शून्य दशमलब ६५ प्रतिशत, आकाशे पानी शून्य दशमलब १३ प्रतिशत र कुनै पनि प्रणालीमा नसमेटिएका घरधुरी १५ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । यद्यपि उक्त तथ्याङ्क सार्वजनिक पछि प्रदेश सरकार तथा स्थानीय तहहरूले खानेपानीका नयाँ आयोजना सञ्चालन गरेर केही घरधुरीमा पानी आधारभूत सुविधा पु¥याएका छन् । प्रदेश सरकारले कर्णालीमा १३ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा नरहेको जनाएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१३ बाहुन गाउँकी बिमला गिरी खानेपानीको सुविधा नहुँदा भेरी नदीकै पानीको भर पर्नुपरेको बताउँछिन् । टाढाबाट पानी ओसार्नु पर्दा अन्य कामसमेत गर्न समय नपुग्ने उनले बताइन् । ‘वर्षाको समयमा घर नजिकका खोल्सा–खाल्सीमा पानी पाइए पनि गर्मीको समयमा साह्रै दुःख भोग्नुपर्छ, उनले भनिन्, ‘नदीमा पानी ल्याउन जाँदा आउँदा एक घण्टा समय लाग्छ । बिहान साँझको समय पानीको जोहोमै बित्छ ।’ बाहुन गाउँका सबैजसो घरधुरी खानेपानीको समस्या वर्षौंदेखि भोग्दै आएका छन् । कतिपयले त्यस गाउँमा डिप बोरिङमार्फत पानी निकाले पनि विद्युतको समस्याका कारण नियमित पानी प्रयोग गर्न पाउँदैनन् । गाउँमा खानेपानीको चरम संकट भए पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

कर्णालीका केही बस्तीहरू अझै पनि भेरी, कर्णाली नदी र खोलाहरूको पानी प्रयोग गर्छन् । गाउँमै खानेपानीको सुविधा नपुग्दा खोलाको पानी पिउनु उनीहरूको बाध्यता हो । दैलेखको आठबीस नगरपालिका–८ की निर्मला शाहीले गाउँमा खानेपानीको सुविधा नहुँदा खोलाकै पानीको भरमा गुजरा चलाउने गरेको बताइन् । ‘खोला र नदीको धमिलो पानी सङ्लो बनाएर खाने गरेका छौं,’ उनले भनिन् ।

सुर्खेतको चौकुने गाउँपालिका–२ बोलामा पनि खानेपानीको समस्या उस्तै छ । नजिकै कर्णाली नदी बगे पनि बोलाक बस्तीमा पानीको चरम अभाव छ । स्थानीय सन्तोष सुवेदीले वर्षौंदेखि कर्णालीकै पानी प्रयोग गर्ने गरेको बताए । त्यसरी नदीको पानी पिउँदा स्वास्थ्य समस्यादेखि पानी लिन जाँदासमेत जोखिम हुने गरेको उनी बताउँछन् । ‘बर्खाको समयमा धमिलो पानी आउँछ । त्यही पानी प्रयोग गर्नुपर्छ । पानी लिन जाँदा हुने जोखिम पनि उत्तिकै छ,’ सुवेदीले भने ।

प्रकाशित मितिः   ८ आश्विन २०७७, बिहीबार ०९:०१