अध्यापनमा नयाँ आयाम

केहीबाहेक शैक्षिक संस्थाहरू अहिले पनि बन्द छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखि दशभर लकडाउन घोषणा गरेपछि विद्यालय तथा विश्वविद्यालयहरू सबै बन्द भएका थिए । त्यसयता सञ्चालनमा आउन नसकेका हुन् । लकडाउन खुलिसकेपछि पनि शैक्षिक संस्थालाई जोखिमयुक्त क्षेत्रको रूपमा तत्काल खोलिएको छैन । यद्यपि पछिल्ला दिनहरूमा कोरोनाको जोखिम मूल्याङ्कन गरेर जोखिम कम भएका क्षेत्रमा छिटफूट रूपमै विद्यालय सञ्चालनमा आएका छन् । अब विस्तारै यो क्रम बढ्दै जानेछ । जुन अपरिहार्य पनि छ । तर यो सँगसँगै यो संकटको अवस्थाले शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको छ । परम्परागत रूपमा हुँदै आएको शिक्षण विधि परिमार्जनको आवश्यकता बोध गराएको छ । विकल्पहरूमा खोज्न प्रेरित गरेको छ । यसको एक उदाहरण हो, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अवलम्बन गरेको शिक्षण विधि । भर्चूअल कक्षा सञ्चालन र परीक्षा ।

आधा शैक्षिक सत्र सकिँदासम्म पनि पठनपाठन सुरुवात हुन समेत सकेको छैन । विद्यार्थीहरू घरमा छन् । शिक्षकहरू घरमै छन् । विश्वविद्यालयले भने प्रविधिको उपयोग गरेर केही मात्रामा भए पनि पठनपाठन सञ्चालन ग¥यो । त्यतिमात्र होइन अनलाइनबाटै परीक्षा समेत लियो । विश्वविद्यालयले गत भदौ महिनामा अनलाइनमार्फत मिडट्रम परीक्षा लियो । विद्यार्थीहरूले पनि प्रविधिका माध्यमबाट घरमै बसेर परीक्षा दिन पाए । एमयूले पठनपाठन मात्रै होइन गएको भदौमा अनलाइनमार्फत नै मिडट्रम परीक्षा समेत लिएको थियो । सोही अनुभवका आधारमा अन्तिम परीक्षा पनि अनलाइनमार्फत लिने तयारी एमयूको छ । हाम्रो शैक्षिक विधि अनुसार विद्यार्थी र शिक्षक अनिवार्य रूपमा विद्यालय वा विश्वविद्यालयमा उपस्थित हुनैपर्दछ । तह र संख्या अनुसार निश्चित कोठामा बसेर पढाउने गरिन्छ । तर कोरोनाको संक्रमणबाट बच्न यस्तो भिडभाड गर्नु जोखिमयुक्त मानिन्छ । कतिसम्म भने एकअर्काबीच भौतिक दूरी कायम गर्नुपर्ने अवस्था छ । यस्तो बेला कक्षाकोठामा विद्यार्थी राखेर पढाउने वातावरण थिएन । विकल्पमा आयो, अनलाइन विधिबाट कक्षा सञ्चालन । हुन त यो विकसित देशहरूमा प्रयोग भइरहेको विधि पनि हो । तर नेपालमा भने कोरोना भाइरसले निम्त्याएको संकटले यसलाई विकल्पको रूपमा स्थापित गरिदिएको छ ।

भर्चूअल शिक्षण पद्धति परम्परागत विधिको विकल्प हो । तर नेपाल वा अझ कर्णाली प्रदेशको सन्दर्भमा यो कति प्रभावकारी हुन्छ भन्ने सवाल पनि उत्तिकै सान्दर्भिक छ । विश्वविद्यालयले नै गरेको भर्चूअल कक्षामा सबै विद्यार्थीहरू सहभागी भएनन् । इन्टरनेटको पहुँचमा रहेकाहरू मात्रै सहभागी भए । प्रदेशका अधिकांश भू–भागमा इन्टरनेट पुगेको छैन । विद्यार्थीहरूको ठूलो संख्या भने त्यही पहुँच नपुगेको ग्रामिण क्षेत्रका छन् । के उनीहरूका लागि यो वैकल्पिक पद्धति प्रभावकारी हुन्छ ? तत्कालका लागि भन्दा हुँदैन । तथापि यो एक अवसर हो । भोलिका दिनमा इन्टरनेटको पहुँच विस्तार हुन्छ नै । त्यो समयका लागि आजको अभ्यास अझ अगाडि पुगिसकेको हुनेछ । यसकारण पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अभ्यासलाई सकारात्मक संकेतको रूपमा हेर्न सकिन्छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७७, बिहीबार ०८:५५