दुई जिल्लामा हजार बढी संक्रमित

कर्णाली प्रदेशका दुई वटा जिल्लामा कोरोना संक्रमितको संख्या एक हजारभन्दा बढी पुगेको छ । सुर्खेत र दैलेखमा कोरोना संक्रमित हुनेको संख्या एक हजार पुगेको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म दैलेखमा एक हजार एक सय १४ जनालाई कोरोना संक्रमण भएको छ भने सुर्खेतमा एक हजार ५७ जना संक्रमित पुगेका हुन् ।

प्रदेशमा पहिलो पटक गत जेठ ५ गते कोरोनाका पहिलो संक्रमित भेटिएका थिए । उनी दैलेखकै हुन् । त्यसपछि दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएको थियो । सुरुवाती चरणमा दैलेख प्रदेशकै कोरोना संक्रमणको इपिसेन्टर बनेको थियो । पहिले भारतबाट फर्किएका व्यक्तिहरूमा बढी संक्रमण पुष्टि हुने गरेकोमा विस्तारै समुदायमा संक्रमण फैलिएको हो । पछिल्लो समय समुदायस्तरमा संक्रमण व्यापक बनेको छ ।

मंगलवार कर्णालीमा थप ५५ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ४२ जना सुर्खेतका हुन् । जिल्लाका अन्य क्षेत्रभन्दा प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर थप उच्च जोखिममा छ । मंगलवार मात्रै यहाँ २९ जनामा संक्रमण देखिएको छ । गुर्भाकोट नगरपालिकामा ६ जना, सिम्ता गाउँपालिकामा पाँच, बराहताल र चिङ्गाड गाउँपालिकामा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । महाशाखा प्रमुख वृषबहादुर शाहीले सुर्खेतका ४२, रुकुम–पश्चिमका १०, सल्यान र दैलेखका दुुई÷दुई जनामा संक्रमण भेटिएको पुष्टि गरे । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय २८ पुगेको छ ।

यस्तै अहिलेसम्म सल्यानमा तीन सय २६, रुकुम–पश्चिममा एक सय ६, कालीकोटमा एक सय २०, जुम्लामा एक सय ९०, हुम्लामा १०, मुगुमा १४, डोल्पामा नौ र जाजरकोटमा ७० जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मितिः   ७ आश्विन २०७७, बुधबार १०:१८