विद्यालयमा सावधानी

कोरोना भाइरस (कोभिड–१९) को कहरले सबै क्षेत्र प्रभावित बने । शैक्षिक संस्था अछुतो रहने कुरै भएन । त्यसमा पनि सबैभन्दा लामो समयसम्म प्रभावित बनेको क्षेत्र नै शैक्षिक क्षेत्र हो । किनभने अहिले पनि शैक्षिक संस्था पूर्ण रूपमा नियमित हुन सकेका छैनन् । कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले गत चैतदेखि देशभर लकडाउन गरेपछि शैक्षिक संस्थाहरू बन्द थिए । तर असारमै लकडाउन खुले पनि विद्यालय भने सञ्चालन हुन सकेका थिएनन् । विद्यालयहरूले यसअघि नै वैकल्पिक माध्यमबाट भने पठन–पाठन गरिरहेका थिए । तथापि ६ महिनापछि विद्यार्थीहरू विद्यालयमै आएर पढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम रहेकै बेला विद्यालयहरूले स्थानीय तहको समन्वयमा विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पढाउन थालेका हुन् । यो सकारात्मक संकेत हो ।

शैक्षिक संस्था बन्द हुँदा लाखौंको संख्यामा रहेका विद्यार्थीको पठनपाठन ठप्प भयो । आधाजसो शैक्षिक सत्र अवरुद्ध हुन पुग्यो । तर ढिलै भए पनि अब भने अवस्था केही सुधार हुँदै गएको छ । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ विद्यार्थी पहिचान, अभिलेखीकरण र वर्गीकरण गरी मापदण्ड पालना गरेर विद्यार्थीहरूलाई सहजीकरण गर्न विद्यालयलाई जिम्मेवारी दिएकाले वैकल्पिक माध्यमका साथै विद्यालयमै उपस्थित गराएर पनि पढाउन थालिएको छ । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरूले पनि यसको अभ्यास सुरु गरिसकेका छन् । किनभने निर्देशिकाले विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्न बाटो खुलाइ दिएको छ । विद्यालयहरूले विद्यार्थीहरूलाई पालो अनुुसार पढाउन सुरु गरिसकेका छन् । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै एउटा कक्षा कोठामा १५ देखि २० जनासम्म राखेर पढाउने गरिएको हो । लामो समयपछि विद्यालयमा आउन पाउँदा विद्यार्थी उत्साहित देखिएका छन् भने शिक्षकहरू पनि उत्साहित छन् । यहाँका कतिपय विद्यालयहरूले यसअघि टोल शिक्षा कार्यक्रम पनि सञ्चालन गरेका थिए । हुन त यसअघि नै पनि वैकल्पिक माध्यमबाट अध्यापन गराउने प्रयास नभएको होइन । तर कर्णालीका सबै बालबालिका त्यसको सहज पहुँचमा थिएनन् । इन्टरनेटको पहुँच सबैतिर छैन । विद्युतकै पहुँच पुगेको छैन । यस्तो अवस्थामा इन्टरनेटको प्रयोगमार्फत सञ्चालन गरिने भर्चूअल कक्षा प्रभावकारी हुन सकेन । रेडियो र टेलिभिजनबाट पढाउने विधिले पनि सबै विद्यार्थी समेट्न नसक्ने भएपछि सरकारले विकल्पमा निर्देशिका जारी गरेको हो ।

अन्य सबैजसो क्षेत्र खुलिसकेका छन् । यद्यपि कोरोना संक्रमण नियन्त्रण नभइसकेकाले आवश्यक सावधानी अपनाउन पनि अनिवार्य छ । विद्यालय अझ बढी जोखिमयुक्त क्षेत्र किन पनि हो भने त्यहाँ एकै कक्षामा धेरै बालबालिकाहरू बसेर अध्ययन गर्ने गर्दछन् । त्यसैले उच्च सतर्कता अपनाउन जरुरी छ । निर्देशिका अनुसार विद्यार्थी विद्यालय प्रवेश गर्नेदेखि कक्षा कोठामा रहने बेलासम्म भौतिक दूरी कायम गराएर पढाउने उपाय अवलम्बन गर्नु सबै विद्यालयको दायित्व हो । विद्यार्थीहरूलाई अनिवार्य मास्क प्रयोग गराउने, साबुन–पानीले नियमित हात धुने व्यवस्था गर्ने लगायतका सावधानी पनि अपनाउन जरुरी छ । सबै सतर्कतासहित विद्यालय सञ्चालन गर्नुको विकल्प भने छैन ।

प्रकाशित मितिः   ७ आश्विन २०७७, बुधबार १०:१६