बाध्यताले दिएको विकल्प

घरबाटै पढाइ, अनलाईनबाट परीक्षा

 

गंगा आचार्य मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू) मा अध्यनरत छन् । उनी शिक्षाशास्त्र संकायको स्नातक तह तेस्रो सेमेष्टरकी विद्यार्थी हुन् । एमयूले गत भदौ महिनामा अनलाइनमार्फत मिडट्रम परीक्षा लियो । उनले घरबाटै परीक्षा दिइन् । प्रविधिका माध्यमबाट घरमै बसेर परीक्षा दिएको गंगाको यो पहिलो अनुभव हो ।

विद्युतको पहुँच नभएको वडामा बसेर उनले महिनाभरीका लागि तीन सय रूपैयाँको डाटा लिएर इन्टरनेट चलाइन् । त्यहीँ इन्टरनेटका माध्यमबाट अनलाइन परीक्षा दिइन् । वीरेन्द्रनगर नगरपालिका–१६ गर्पनकी गंगा अहिले पनि डाटा खर्च गरेर नियमित भर्चूअल कक्षामा सहभागी हुँदै आएकी छन् ।

प्रा.डा. विद्यानाथ कोइराला

‘प्रविधिसँग जोडिएर शिक्षण गतिविधिमा सहभागी हुन पाउँदा उत्साहित छु,’ उनले भनिन्, ‘नयाँ अनुभव भएको छ । इमेल चलाउन, पीडीएफ फाइल बनाउन सिकियो ।’ उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीले नियमित पठनपाठनमा केही प्रभाव पारे पनि विद्यार्थीहरूलाई प्रविधि सिक्ने अवसर पनि मिलेको बताइन् । ‘अनलाइनबाट शैक्षिक गतिविधि गर्नुपर्ने अहिलेको बाध्यता हो,’ गंगा भन्छिन्, ‘यसले हामी (विद्यार्थीलाई) सिक्ने अवसर पनि त जु¥यो ।’

‘प्रविधिमैत्री शिक्षा एकदमै राम्रो भए पनि परीक्षा लिनलाई भने तत्काल नहतारिँदा उपयुक्त हुन्थ्यो’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि गत चैतदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि प्रत्यक्ष पठन–पाठन रोकेको थियो । तर, विश्वविद्यालयले वैकल्पिक पठन–पाठनका लागि अनलाइन निर्देशिका नै जारी गरेर भर्चूअल माध्यमबाट पहुँचमा भएका विद्यार्थीका लागि भने कक्षा सञ्चालन गर्दै आएको छ । एमयूले गएको भदौमा अनलाइनमार्फत नै मिडट्रम परीक्षा समेत लिएको थियो । सोही अनुभवका आधारमा अन्तिम परीक्षा पनि अनलाइनमार्फत लिने तयारी एमयूको छ ।

विश्वविद्यालयले पहिलो चरणमा स्नातकोत्तरको तेस्रो र स्नातक तहको सातौं सेमेस्टरको परीक्षा अनलाइनबाट लिने जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले मानविकी र सामाजिकशास्त्र, इन्जिनियरिङ्ग, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र र व्यवस्थापन संकायको तेस्रो र सातौं सेमेस्टरको परीक्षा अनलाइनबाट लिने तयारी गरेको परीक्षा व्यवस्थापन कार्यालय प्रमुुख डा. आनन्दप्रसाद सुवेदीले बताए ।

वीरेन्द्रनगर–१ का मदन कार्की पहिले पनि नियमित कक्षा लिन सक्थेनन् । अपाङ्गता भएका उनी ह्वील चियर गुडाउँदै नियमित कक्षा लिन जान समस्या थियो । अहिले उनले अनलाइनबाटै नियमित कक्षा लिन पाएका छन् । ‘मैले कहिल्यै नियमित कक्षा लिन सकिन,’ उनले भने, ‘घरदेखि कलेज टाढा भएकोले परीक्षाको समयमा मात्रै म सहभागी हुन्थे । अहिले बरु घरबाटै पढ्न पाइएको छ ।’ शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत उनले यतिबेला अन्तिम परीक्षाको तयारीमा जुटेको बताए ।

त्यस्तै, कोहलपुर नगरपालिका–१० बाँकेका संगीन शर्मा पेसाले पत्रकार हुन् । बाँकेमा बसेर पत्रकारिता गर्दै आएका उनी एमयूमा आमसञ्चार र पत्रकारिता विषय लिएर पढ्दै छन् । नियमित कक्षा लिन नपाएका उनी पनि अहिले अनलाइनबाट कक्षा लिइरहेका छन् ।

‘प्रविधिबाट पढाइ हुनु समयको माग पनि हो । मलाई खुला विश्वविद्यालयमा अध्ययन गरेको जस्तो अनुभव भइरहेको छ,’ शर्मा भन्छन् ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीले नियमित कक्षा लिन पाए प्रविधिमैत्री सिकाइ राम्रो हुने बताए । प्रविधिको विकासलाई शिक्षाका क्षेत्रमा प्रयोग गर्नु उत्तम विकल्प भएको उनी बताउँछन् । अनलाइमार्फत पढाउनु राम्रो भए पनि परीक्षा नै लिने विषयमा भने केही समस्याहरू हुनसक्ने उनले औंल्याए ।

‘मनोवैज्ञानिक रूपमा विद्यार्थीहरू तयारी हुनुप¥र्यो,’ उनले भने, ‘पढ्नै नपाएको अवस्थामा परीक्षा कसरी दिने भन्ने समस्या विद्यार्थीहरूमा हुनसक्छ ।’ कोइरालाले प्रविधिमैत्री शिक्षा एकदमै राम्रो भए पनि परीक्षा लिनलाई भने तत्काल नहतारिँदा उपयुक्त हुने सुझाए । महामारीको समयमा विद्यार्थीहरू परीक्षा दिने मनस्थितिमा नहुन पनि सक्ने भन्दै विश्वविद्यालयहरूले एक–दुई महिनापछि परीक्षा लिने तयारी गरेकोे भए झनै उचित हुने उनी बताउँछन् । विश्वविद्यालयले नै मान्यता दिएर अनलाइन कक्षामार्फत परीक्षा लिने भएपछि विश्वसनियताको प्रश्नसमेत नरहने शिक्षाविद् कोइरालाको भनाइ छ । ‘विश्वविद्यालयले जुनसुकै प्रणाली अपनाएर परीक्षा लिए पनि त्यसको विश्वसनीयतामा शंका गर्ने ठाउँ रहँदैन,’ उनले भने ।

एमयूले फाइनल परीक्षाको समय तालिकासमेत प्रकाशित गरिसकेको छ । परीक्षा व्यवस्थापन कार्यालयका अनुसार यसअघि अनलाइनबाट लिइएको मिडट्रम परीक्षामा सबै विद्यार्थी सहभागी भएका थिए । विश्वविद्यालयले असोज १७ गतेदेखि कार्तिक ६ गतेसम्म अन्तिम परीक्षा सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा तेस्रो र सातौं सेमेस्टरको तह पार गर्नुपर्ने तथा शैक्षिक वर्ष पुस मसान्तमा सकिने हुँदा अनलाइनमार्फत परीक्षा लिन लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सुवेदीले बताए । उनका अनुसार अन्य सेमेस्टरको पनि मंसिर मसान्तभित्र परीक्षा लिइसक्ने गरी तयारी थालिएको छ । विश्वविद्यालयले बन्दाबन्दीको अवधिमा समेत कुनै पनि विद्यार्थीको परीक्षाफल प्रकाशन नरोकिएको जनाएको छ ।

अनलाइनमार्फत लिइने परीक्षाका लागि परीक्षार्थीलाई आठ घण्टाको समय दिइनेछ । बिहान ८ बजे इमेलमार्फत विद्यार्थीहरूलाई प्रश्न–पत्र पठाइनेछ । विद्यार्थीहरूले उत्तरपुस्तिका इमेलमार्फत दिउँसो ४ बजे पठाइसक्नुपर्ने छ । उत्तर अनिवार्य सादा कागज वा सोही साइज लाइनिङ्गको कागजमा लेखेर कापी पेपर स्क्यान गरी पीडीएफ फाइल पठाउनुपर्ने विश्वविद्यालयले जनाएको छ । यसरी अनलाइनमार्फत लिइने पहिलो चरणको परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागी हुने बताइएको छ । एमयू मात्रै होइन कोरोना कहर कायमै रहे पनि त्यसबाट जोगिँदै अन्य विश्वविद्यालयहरूले पनि पढाइ र परीक्षा अनलाइनबाटै सञ्चालन गर्न थालेका छन् ।

प्रकाशित मितिः   ७ आश्विन २०७७, बुधबार १०:२९