होम आइसोलेसनको जोखिम

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दो क्रममै छ । संक्रमितको संख्या थपिदैं छ । संक्रमण समुदायस्तरमा पुगिसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । कूल संक्रमितको आधाभन्दा बढी संख्या होम आइसोलेसनमा रहेको हो । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर कोरोनाका करिब चार सय जना सक्रिय संक्रमितमध्ये दुई सयभन्दा बढी संक्रमित घरमै बसिरहेका छन् ।

संक्रमणको जोखिम घटेको छैन । धेरै संख्यामा संक्रमितहरू घरमै रहँदा संक्रमण फैलने जोखिम थप बढेको छ । होम आइसोलेसनमा बसेकाहरूबाट परिवार तथा समुदायमा संक्रमण सर्ने जोखिम उच्च रहेको चिकित्सकहरू नै बताउँछन् । होम आइसोलेसनमा बस्ने संख्या बढ्दै जाँदा त्यसले समस्या निम्त्याउने उनीहरूको भनाइ छ । अझ ती संक्रमितमा लक्षण देखियो भने त्यसले महामारी ल्याउने खतरा रहेको उनीहरूको चिन्ता छ । तर संक्रमित अनुशासित भएको खण्डमा मात्रै जोखिम कम हुने बताइन्छ । हुन त होम आइसोलेसन अहिले विश्वले अपनाएको प्रणाली हो । तर, राज्यले निगरानी नगरे संक्रमण फैलिने जोखिम भने उच्च रहन्छ । संक्रमितलाई चिकित्सकहरूको सम्पर्कमै राख्ने र संक्रमित आफै पनि अनुशासित भए घरमै बसे पनि सुरक्षित हुने अवस्था रहन्छ । यसका लागि मापदण्ड बनाइएको छ । संक्रमितहरूले उक्त मापदण्ड अपनाउन भने जरुरी हुन्छ ।

अस्पतालमा भर्ना भइ उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको हो । महामारीजन्य रोगहरूलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन । क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्धेश्य भनेको रोगको संक्रमण रोक्नु वा फैलन नदिनु हो । सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो । संस्थागत आइसोलेसन खाली भएन भने होम आइसोलेसनमा तोकिएका मापदण्डहरू अपनाएर बस्न सकिन्छ । संक्रमितहरूबाट अरुलाई कोरोना सर्ने जोखिम कति छ, संक्रमित नै कति सुरक्षित छन् वा छैनन् भन्नेबारे सरकारी निकाय भने बेखबर छ । यसरी संक्रमित घरमै बस्दा महामारी बढाउने खतरा देखिएको हो । होम आइसोलेसनमै बस्न सिफारिस गर्नुअघि संक्रमितमा लक्षण भए÷नभएको समेत निक्र्यौल गर्ने गरिएको छैन ।

महामारी नियन्त्रण सम्बन्धी सरकारी नीति नै फितलो हुँदा कोरोना नियन्त्रण प्रभावकारी बन्न नसकेको कतिपयको मत छ । परीक्षणको दायरा बढाइएको र संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको दाबी सरकारी स्वास्थ्य संस्थाहरूको भए पनि वास्तविकता भने त्यस्तो छैन । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको कर्णालीमा पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङलाई समेत पछ्याउन छाडिएको छ । क्लोज कन्ट्याक्टमा रहेकाहरूले स्वैच्छिक रूपमा मात्रै पीसीआर जाँच गर्ने गरेका छन् । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति तथा उनको सम्पर्कमा रहेकाहरू खुल्न नचाहँदा समेत संक्रमण नियन्त्रणमा चुनौति देखिएको छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७७, मंगलवार ०७:५५